लेखनाथ खानेपानीको शुल्क घट्यो

समाधान संवाददाता २०८० असार ६ गते ११:१९

लेखनाथ ।
लेखनाथ खानेपानी उपभोक्ता संस्थाले उपभोक्तासँग लिदै आएको न्यूनतम महसुल १ सय ५० बनाएको छ । संस्थाले न्यूनतम शुल्क २ सय २० लिदै आएकोमा आगामी साउन महिनादेखि लागू हुने गरी १ सय घटाएको हो ।


न्यूनतम ७ युनिट (७ हजार लिटर)मा उपभोक्ताले १ सय ५० रुपियाँमात्र तिरे पुग्ने भएको छ । अन्यत्रको भन्दा लेखनाथ खानेपानी उपभोक्ता संस्थाले चलाएको खानेपानी योजनाको शुल्क महंगो भएको भन्ने गुनासो आएपछि संस्थाले सोमबार आफ्नो २२ औं स्थापना दिवसको अवसर पारी शुल्क कटौती गरेको हो ।


संस्थाले ८ देखि २० युनिटसम्म प्रति युनिट २२ रुपियाँ बनाएको छ । यसअघि उक्त परिमाणको पानी प्रयोग गर्दा उपभोक्ताले प्रति युनिट २७ रुपियाँ तिर्दै आएका थिए । अन्य परिमाणको मापनमा पनि प्रति युनिट ५ रुपियाँ कम गरिएको छ । संस्थामा हाल १६ हजार ३ सय ८७ उपभोक्ता छन् ।

Advertisement


कार्यक्रममा गण्डकी प्रदेशकी ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्यालले खानेपानीको क्षेत्रमा राजनीति गर्न नहुने जनाइन् । लेखनाथ खानेपानी उपभोक्ता संस्थाको २२ औं वार्षिकोत्सवमा उनले बाटोघाटो भन्दा पनि खानेपानीलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिन् । मन्त्री अर्यालले बढ्दो जनसंख्यालाई मध्यनजर राख्दै आगामी ५० वर्षसम्म धान्न सक्ने गरी दीर्घकालीन योजना बनाउनु पर्नेमा उनले जोड दिइन् ।


सस्थाका अध्यक्ष मुरारी शर्माले पानीको वैकल्पिक उपाय भूमिगत पानी नभई मुहानकै पानी भएको जनाए । बवको साढे २ वर्षमा गिउजे खोलाबाट जलवायु अनुकूलित खानेपानी योजनाबाट प्रति मिनेट सय लिटर पानी ल्याउने गरी ४४ करोडको योजना स्वीकृत भएको सुनाए ।

Advertisement


कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यवस्था आयोजनाका सिनियर इन्जिनियर कुलप्रसाद पौडेल, नेपाली कांग्रेस कास्की उपसभापति रामबाबु भण्डारी, नेकपा एमाले गण्डकी प्रदेश सदस्य बामदेव ढुंगाना, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य विनय थापा, राष्ट्रिय स्वतन्त्र पार्टी कास्की संयोजक राजु राई, राप्रपाका केन्द्रीय सदस्य माधव भण्डारी, मौजाका स्थानीय गणेश गुरुङ, पोखरा २९ का अध्यक्ष श्रीप्रसाद गुरुङ, वडा नं ३१ का वडाध्यक्ष दुर्गा सुवेदी, आयोजक संस्थाका सचिव रक्षा भङराई उपाध्यक्ष पुष्पकमल ढुंगानाले बोलेका थिए ।

तपाईको प्रतिक्रिया