अमूर्त सम्पदा संरक्षणमा जोड

समाधान संवाददाता २०८० असार ६ गते १३:४३
Exif_JPEG_420

पोखरा ।
अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनका लागि प्रदेश संग्रहालय गण्डकीले मंगलबार सरोकारवालासँग टक्स सो आयोजना गरेको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रदेश संग्रहालयको आर्थिक वर्ष २०७९ /०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गण्डकी प्रदेशमा रहेको अमूर्त सांस्कृतिक सम्पदाहरुको विषयमा जानकारी दिन कार्यक्रम गरेको प्रदेश संगहालय प्रमुख करुणा राईले जानकारी दिइन् ।


सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले लोपोन्मुख तथा मौलिक परम्पराको रुपमा रहेका अर्मूत सांस्कृतिक सम्पदा संरक्षण गर्नुपर्नेमा जोड दिए । ‘मौलिक कला, भाषा र संस्कृति मासिएमा भूगोलको अर्थ हुँदैन,’ सचिव अधिकारीले भने, ‘सबै सरोकारवाला मिलेर लोपोन्मुख संस्कृति जगेर्ना गर्नु पर्छ ।’ संग्रहालयका प्रमुख राईले पछिल्लो समयमा अमूर्त सांस्कृतिक सम्पदा अन्तर्गत परम्परागत जात्रा नाँच र चाडपर्व पर्ने जानकारी दिइन् ।


उनले अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणको क्षेत्रमा काम नभएको जानकारी दिइन् । उनले गण्डकी प्रदेशमा १ सय १८ संग्रहालय भएको बताइन् । उनले संग्रहालयको विकासका लागि ऐन तथा नियमावली बनाउन पहल गर्नुपर्ने उल्लेख गरिन् ।

Advertisement


गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले स्याङ्जाको कालीगण्डकी २ लसर्घाबेसीको मगर जातिको लोपोन्मुख सांस्कृतिक लोक नृत्य जिउ मामाको बारेमा प्रस्तुति राखेका थिए । मामा चेली तथा फुपू चेलाको परम्परा रहेको मगर समुदायमा मामाको छोरी माग्न जाँदा गाइने प्रचलित गीतको संरक्षण गर्न प्रतियोगिता गर्ने प्रयास भएको उनले उल्लेख गरे ।


पृथ्वीनारायण क्याम्पसका शिक्षण सहायक लक्ष्मण श्रेष्ठले बाह्रभैरव नृत्य एक अमूर्त सांस्कृतिक सम्पदा विषयमा अवधारणापत्र प्रस्तुत गरे । भाषा, मौलिक परम्परा, व्यवहार, चिन्तन, ज्ञान, कला, शिल्प, नृत्य अभिनय कला चाड पवर्, जात्रा संस्कार अमूर्त सांस्कृतिक सम्पदामा पर्ने जानकारी दिँदै उनले नेपालमा अमूत सांस्कृतिक सम्पदा विविध भएकोे संरक्षण गर्न युनेस्कोको ध्यानाकर्षण गराएको बताए । उनले मुर्ति मन्दिर चैत्य, स्तूप, मस्जिद, मादल आदि मूर्त सांस्कृतिक सम्पदामा पर्ने बताए ।

Advertisement


समर गायकले गन्धर्वको इतिहांस र सांरगी विषयमा अवधारणापत्र पेश गरे । उनले परम्परागत लोकबाजा सारंगी तथा गन्धर्व संस्कृतिको सबै मिलेर संरक्षण गर्नुपर्ने उल्लेख गरे । कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख प्राडा दिलबहादुर क्षत्री, कवि रमेश श्रेष्ठ, संग्रहालयका अधिकृतहरु कविन्द्रराज पौडेल र देवकी ढकालले अमूर्त सांस्कृतिक सम्पदाका बारेमा बोलेका थिए । कार्यक्रममा लालबहादुर गायक र गोविन्द गायकले गन्धर्व गीत तथा संस्कृतिको बारेमा प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया