विद्यालय जान पालिकाको बस

राष्ट्रिय समाचार समिति (रासस) २०८० असार ८ गते १३:००

दमौली ।

तनहुँको आँबुखैरेनी गाउँपालिका ६ हिलेखर्कमा रहेको कन्यादेवी माध्यमिक विद्यालय पुग्न दैनिक ५ घन्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिक दूरीका कारण विद्यार्थीलाई दैनिक विद्यालय आउजाउँमा ३ देखि ५ घण्टाको यात्रा गर्नुपर्ने अवस्था छ ।

आँबुखैरेनी गाउँपालिका ५ लाम्दिकी मुना गुरुङ विद्यालय जान बिहान साढे ७ बजे नै घरबाट निस्किन्छिन् । गुरुङलाई विद्यालय पुग्न साँढे २ घण्टा समय लाग्छ । सबेरै नहिँडे विद्यालय पुग्न असम्भव छ । कन्यादेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत गुरुङ दैनिक ५ घन्टा विद्यालय आउजाउँ गर्न खर्चिन्छिन् ।

Advertisement

बिहान साँढे २ घण्टा र विद्यालयबाट घर फर्किन साँढे २ घण्टाको यात्रा गर्नुपर्ने गुरुङको बाध्यता छ । ‘बिहानै हिँडेर विद्यालय जाने र फर्किने गर्दा पाँच घण्टाको यात्रा गर्नुपर्ने हुन्छ, बेलुका घर फर्किंदा त रातै पर्छ,’ गुरुङले भनिन् । दैनिक यसरी हिँड्दा खुट्टा दुख्नुका साथै अध्ययनमा पनि समस्या हुँदै आएको उनको भनाइ छ ।

सोही कक्षामा अध्ययनरत लाम्दिको तल्लो भेगका विजय गुरुङ पनि दैनिक विद्यालय आउजाउ गर्न ५ घण्टा हिँड्छन् । बिहानै साथीभाइसँग पैदलयात्रा गरेपछि करिब साँढे दुई घण्टापछि उनी विद्यालय पुग्छन् । ‘हाम्रो घरबाट विद्यालय पुग्न साँढे दुई घण्टा लाग्छ । साथीहरुसँग हिँडेरै विद्यालय जाने आउने गरेका छौं,’ उनले थपे ।

Advertisement

कक्षा ८ मा अध्ययनरत सोही ठाउँकै गुनबहादुर गुरुङको दैनिकी पनि यस्तै छ । यहाँका विद्यार्थी दैनिक यसरी नै हिँडेर विद्यालय जानुपर्ने बाध्यता छ । यसबाहेक भोटेश्वाराका विद्यार्थीले पनि दैनिक विद्यालय जानमात्रै डेढ घण्टा हिँड्नुपर्ने बाध्यता छ ।

विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले भौगोलिक दूरीका कारण विद्यार्थीलाई आउजाउमा समस्या हुँदै आएको सुनाए । उनी भन्छन्, ‘गाउँपालिकाले टाढाबाट आउने विद्यार्थीको सुविधाका लागि दुई वटा जीपको व्यवस्था गरेसँगै अब विद्यार्थीलाई आउजाउँमा सास्ती हुदैन ।’


हाल विद्यालयमा १ सय २४ विद्यार्थी रहेकामध्ये ८० प्रतिशतलाई दैनिक विद्यालयमा आउजाउँमा तीनदेखि पाँच घण्टाको यात्रा गर्नुपर्ने अवस्था छ । उनले अब विद्यार्थीलाई विद्यालय आउजाउमा हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको दाबी गरे ।


विद्यालयलाई बस खरिद गररे दिने योजना बनाएको गाउँपालिकाले तत्कालका लागि मंगलबारदेखि दुई वटा जीप सञ्चालनमा ल्याएको जनाएको छ । योसँगै भौगोलिक दूरी टाढा भएका विद्यार्थीले अब पैदल हिँड्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

जिप सञ्चालनमा आएपछि कक्षा १० मा अध्ययनरत मुना गुरुङले जीप चढेर विद्यालय पुग्न २०/२५ मिनेट लाग्ने जनाइन् । उनी भन्छिन्, ‘अब एकदम सजिलो हुने भयो । हिँड्दा खर्च हुने समयमा अब पढाइमा लगाउन सकिन्छ ।’

विद्यालयमा आवतजावतका लागि गर्नुपर्ने कष्टकर यात्रामा पूर्णविराम लागेको विद्यालयका प्रधानाध्यापक गुरुङले जनाए । जीपले दैनिक दुई पटक विद्यार्थी ल्याउने र घर लैजाने गरेको छ । वडा नं ५ मा एउटा र वडा नं ६ का लागि अर्को जीप सञ्चालन गरिएको छ । वडा नं ५ मा चल्ने जीपले बाटोमा पर्ने ६ नं वडाका विद्यार्थीलाई पनि विद्यालय ल्याउने लैजाने गरेको उनले जानकारी दिए ।

विद्यालय सुधार अभियान अन्तर्गत गाउँपालिकाले सामुदायिक विद्यालयलाई बस सुविधा उपलब्ध गराउन लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । बस खरिद प्रक्रिया अगाडि बढिसकेको र बस नआइञ्जेल कन्यादेवीलाई जीप उपलब्ध गराइएको हो ।

अध्यक्ष चुमानले भने, ‘कतिपय विद्यार्थीलाई विद्यालयसम्म पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता थियो । त्यस्ता विद्यालयलाई बस उपलब्ध गराउँछौँ । यसले गर्दा विद्यालय आउजाउका लागि हिँड्नुपर्ने समय विद्यार्थीले अध्ययनमा लगाउन सक्छन् ।’ आँबुखैरेनी गाउँपालिकाको छ वडामा ३५ सामुदायिक विद्यालय छन् । ‘गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीतिसमेत अगाडि बढाएको छ’, अध्यक्ष चुमानले भने ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया