मुस्ताङको घरपझोङले पालिका प्रहरी राख्ने

समाधान संवाददाता २०८० असार ८ गते १९:००

जोमसोम—हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाले पालिका प्रहरी राख्न पाउँने व्यवस्था गरेको छ । गाउँ पालिकाको बाह्य गतिविधिमा कडा सुरक्षा निगरानी राख्दै पालिकाको कार्यसम्पादनमा सहज बनाउन गाउँपालिकाले दुई जना ‘पालिका प्रहरीको दरबन्दी राख्ने व्यवस्था गरेको हो ।
गाउँपालिकाको १२ औं गाउँसभा अधिवेशनका अवसरमा बिहिबार पालिका अध्यक्ष मोहनसिंह लालचनले आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
गाउँसभा अधिवेशनको प्रस्तुत नीति तथा कार्यक्रममा तत्कालका गाउँपालिकाले २ जना पालिका प्रहरी राख्ने दरबन्दीको व्यवस्था गरिएको जानकारी दिए । गाउँसभा अधिवेशनले घरपझोङको नीति तथा कार्यक्रमका साथै पालिका प्रहरीको दरबन्दी सर्वसम्वत पारीत गरेको प्रमुख प्रशासकीय अधिकृत गौरीनाथ आचार्यले जानकारी दिए ।
घरपझोङको प्रस्तुत नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षका लागि पालिका प्रहरी दरबन्दीको स्वीकृत गरेसंगै पालिका प्रहरी व्यवस्थापन तथा संञ्चालन कार्यविधि निर्माण गरी पालिका प्रहरी परिचालन गर्ने उल्लेख गरिएको छ ।
गाउँपालिकामा पालिका प्रहरी नियुक्ती भएपछि गाउँपालिका भित्रको वातावरण सुरक्षा,विपद् सुरक्षा सहजीकरण,ट्राफिक व्यवस्थापन र सुरक्षा निकायसंगको समन्वय र सहकार्य लगायत आवश्यकता औचित्यता भएका स्थानमा पालिका प्रहरी खटाईने जनाईएको छ ।

तपाईको प्रतिक्रिया