पुन समाजको १७ औं राष्ट्रिय सम्मेलन

अधिकार कटौती स्वीकार्य छैन : पुन समाज

पुन समाजलाई समेत आदिवासी जनजाति बनाउनु खुसीको कुरा

समाधान संवाददाता २०८० असार ९ गते १९:१५

पोखरा ।
पुन समाजको १७ औं राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ । पोखरा १० रामघाटस्थित पुन समाजको सभाहलमा शनिबार सम्मेलन सुरु भएको हो । सम्मेलनमा वक्ताहरुले पुनहरुको अधिकार कटौती गर्ने कुरा आफूहरुलाई स्वीकार्य नभएको बताए । उनीहरु प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले काठमाडौंको एक कार्यक्रममा दिएको मगरजाति भएकै कारण मन्त्री बनाएको भन्ने अभिव्यक्तिको विरोध गर्दै एक जाति भएकै कारण त्यसो भन्नु गलत भएको बताए । उनीहरुले पुन समाजलाई समेत जातीय सूचीमा राखेकोमा खुसी व्यक्त गरेका छन् ।


राष्ट्रिय सम्मेलनको उद्घाटनपश्चात बोल्दै प्रतिनिधिसभा सदस्य खमबहादुर गबुर्जा पुनले प्रधानमन्त्रीलाई संविधानविरुद्ध बोल्ने अधिकार नभएको विचार राखे । आपूm सत्तापक्षकै सांसद भएपनि आफ्नो समाजको विषयमा र अधिकार खोज्ने विषयमा पछि नहट्ने प्रतिबद्धता उनले व्यक्त गरे ।


‘म पनि सत्तापक्षकै सांसद हुँ । तर जसले जे गरे पनि त्यो हेरेर बस्न सकिँदैन । प्रधानमन्त्रीज्यूलाई संविधानविरुद्ध बोल्ने अधिकार छैन । जनताको आवाज बोल्ने ठाउँ प्रतिनिधि सभामा हो, त्यहाँ मैले जोडतोडले आवाज उठाउने छु त्यसमा तपाईंहरु ढुक्क हुनुस्,’ उनले भने ।

Advertisement


राष्ट्रिय तथ्यांक विभागले पुनका लागि निकै राम्रो कदम चालेको र त्यो कदम प्रशंसायोग्य रहेको उनको भनाई थियो । संविधानमै टेकेर तथ्यांक निकाल्दै पुन समाजलाई समेत आदिवासी जनजाति बनाउनु खुसीको कुरा रहेको उनले सुनाए ।


राष्ट्रिय आदिवासी जनजाति महासंघ केन्द्रीय अध्यक्ष चन्द्रसिंह गुरुङले समस्या र सवाल बोकेका जाति एक भएर अघि बढिरहेको बताए । पहिचानको खोजी गर्दा आफूहरुले कसैको विरोध नगरेको खाली आफ्नो अधिकार मात्रै मागेको धारणा उनले व्यक्त गरे । ‘हामीले समानताको अधिकारमात्र खोजेका हौं । हामीले कसैको विरोध गरेका छैनौं,’ उनले भने, ‘अहिलेको तथ्यांकमाथि कुनै तलमाथि भयो भने हामी सहेर बस्नेवाला छैनौं ।’

Advertisement


पुन समाजका निवर्तमान अध्यक्ष प्रताप पुर्जा पुनले आफूले पहिला नै उठाएको पुनको अधिकारको कुरा अहिले मिडिया र बजारमा चर्चा भएको बताए । प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा मगर भएकै कारण मन्त्री बनाएको भन्ने कुराको विरोध गर्दै अब पुनहरु औंलामा गन्ने स्थिति नरहेको उनले बताए । पुनहरुको अधिकारको संरक्षण गर्ने अधिकार पुनकै रहेको र अन्य कसैको नरहेको उनको भनाइ थियो ।


राष्ट्रिय सौन्दर्यकर्मी महासंघ अध्यक्ष मीना गुरुङले धर्म संस्कृति परम्परालाई एकीकृत भएर अगाडि बढाउनेमा विश्वास व्यक्त गरिन् । मौलिक संस्कृति र धर्मको पहिचानका लागि एकजुट हुनुपर्ने उनको भनाइ थियो ।


२०७८ तथ्यांकअनुसार पुन जाति छुट्टै जातिको रुपमा तथ्यांकित गरेको खुसीयालीमा हेलिकोप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो । कार्यक्रममा पुन जातिको संस्कृतिसँग जोडिएका नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।


पुन समाज नेपालका केन्द्रीय अध्यक्ष भीमबहादुर फलामी पुनले जातीय पहिचानको लडाइँमा १७ औं राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने अवस्थासम्म आउँदा धेरै मिहेनत, कष्ट गर्नुपरेको र आर्थिक सहायता प्राप्त भएको बताए ।

राष्ट्रिय तथ्यांकमा पुन समुदाय सूचीकृत खुसीयाली मनाउँदै गर्दा अझै लडाइँ बाँकी रहेको उनले सुनाए । पुन समुदाय सूचीकृत भइनसकेको र सूचीकृत उन्मुख रहेको बताए । ‘हाम्रो लडाइँ अझै बाँकी छ । हामी सूचीउन्मुख जातिमा पर्छौं सूचीकृत जातिमा होइन । अनि लडाइँ भनेको सूचीकृत गर्नका लागि हामी बलबुताले भ्याएसम्म, कानुनी अधिकारले दिएसम्म हामी लड्ने छौें,’ उनले भने, ‘यहाँ कता कता सुनिएको छ पुन समाजको दर्ता खारेज गरिदिने रे । हेरौंला हामी पनि कसरी खारेज गर्दो रहेछ ?

तपाईको प्रतिक्रिया