काभ्रेभीरमा चौडा सडक

सुन्दरकुमार थकाली २०८० असार १० गते १०:५४

जोमसोम ।

म्याग्दी र मुस्ताङको सीमा क्षेत्र काभ्रेभीरको जोखिमपूर्ण सडक अब सहज बन्दै गएको छ । सडकको काभ्रेभीर पर्ने १ हजार ६ सय मिटरमा आरसिसी र डिबिएसडी प्रविधिको कालोपत्र गरिँदै छ ।


कालोपत्रे सकिएपछि मुस्ताङ आउजाउ निकै सहज हुनेछ । उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने कोरला पहुँच मार्गका लागि ०७४ मा बेनी—जोमसोम—कोरला सडक स्तरोन्नति थालिएको थियो ।

Advertisement


बेनी—जोमसोम ७६ किमी सडक ४ खण्डमा काम भएको थियो । बेनी—जोमसोम सडकमार्गको २ खण्ड म्याग्दीको तातोपानीदेखि मुस्ताङको कैकु खोलासम्मको १७ किमीको सडक स्तरोन्नति शर्मा गजुरमुखी जेभी कम्पनीले ६३ करोड ५२ लाखमा ठेक्का सम्झौता गरेको थियो । सोही खण्ड अन्तर्गतको म्याग्दी र मुस्ताङको सबैभन्दा कष्ठकर र जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थान काभ्रेभीर सडकमा अहिले निर्माण कम्पनीले २ हजार १ सय मिटर दुईतर्फी दोहोरो आरसिसी ढलान गर्नुपर्नेमा ८ सय मिटर आरसीसी सडकको काम पूरा गरेको आयोजनाका सूचना अधिकारी इन्जिनीयर विष्णु चापागाईले जानकारी दिए ।


उनले आगामी असोजसम्ममा काभ्रेभीर सडकमा आरसिसी सडक निर्माण सकिने बताए । म्याग्दी र मुस्ताङको जोखिमपूर्ण सडक काभ्रेभीरमा चट्टान काटेर ७ दशमलव ५ मिटर चौडा सडक बनाइएको छ । त्यहा चट्टान कटानको काम सकिनै लागेको सूचना अधिकारी चापागाईले बताए ।

Advertisement


काभ्रेभीरमा ११ मिटरमा आरसीसी र ५ किमीमा कालोपत्र हुनेछ । बर्खायाममा निकै सास्ती हुने साँघुरो र अप्ठ्यारो सडकमा आरसिसी हुन थालेपछि पोखरा काठमाडौंबाट म्याग्दी हुँदै मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई निकै सहज हुँदै गएको इन्जिनियर जगत प्रजापतीले उल्लेख गरे ।


‘हामी अप्ठ्यारो र साँधुरो सडक सहज बनाउँदै गएका छौं, सडक चौडा गर्ने काम अन्तिममा छ’, आयोजना प्रमुख प्रजापतीले भने । यसअघि मुस्ताङ आउने यात्रु यहाँ आइपुग्दो डराउने गरेकोमा अब त्यस्तो अवस्था नरहेको आयोजना प्रमुख प्रजापतीले जनाए ।


बेनी—जोमसोम दोस्रो खण्ड अन्तर्गत शर्मा गजुरमुखी जेभीले पहिलो पटक ३ किमी सडकमा कालोपत्रको काम अघि बढाएको प्रोजेक्ट म्यानेजर नरेन्द्र न्यौपानेले जानकारी दिए । जोखिमपूर्ण सडक मानिएको काभ्रेभीरदेखि उत्तर मुस्ताङको थासाङ ४ घाँसाको कैकु खोलासम्म कालोपत्रका लागि प्राइम कोर्ड गरिसकेको छ ।


न्यौपानेले चालु आर्थिक वर्षभित्रै काभे्रभीरदेखि कैकुसम्म ३ किमी कालोपत्र हुने प्रोजेक्ट म्यानेजर न्यौपानेको भनाइ छ । सो सडकमा कालोपत्र गर्ने र आरसिसी ढलानका लागि पर्याप्त जनशक्ति, उपकरण र निर्माण सामग्रीको व्यवस्था गरिएको उनले उल्लेख गरे ।


यसअघि शर्मा गजुरमुखीले नै ठेक्का सम्झौता गरेको बेनी—जोमसोम तेस्रो खण्डको १६ किमीमा ११ मिटरको सडकमा कालोपत्र भइसकेको छ । यो सडक खण्ड निर्माण कम्पनीले आयोजनालाई सडक हस्तान्तरण गर्ने तयारी गरिरहेको छ ।


३ वर्षअघि म्याग्दीको अन्नपूर्ण ३ रुप्सेमा बर्खायामको बाढी, पहिरोले क्षति गरेको पक्की पुल भएको ठाउँमा फागुनदेखि अस्थायी बेलिब्रिज राख्ने तयारी भएको छ । यसका लागि आयोजनाले रुप्सेमा करिब २ सय मिटर सडक स्तरोन्नतिसँगै बिलिब्रिज संरचना निर्माण गर्न ठेक्का आहवान गरेको थियो । रुप्सेमा बेलिब्रिज तथा सडकको ग्रेड मिलान लगायतका काम गर्न मुक्तिनाथ निर्माण सेवाले ३ करोड ५६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।


अहिले रुप्सेमा बेलीब्रिज निर्माण लगायतका कामको भौतिक प्रगति ५० प्रतिशत रहेको आयोजनाले बताएको छ । आयोजनाले रुप्से खोलामा १ महिनाभित्रै बेलिब्रिज निर्माण लगायतका काम सकिने जनाएको छ ।


म्याग्दीको कमजोर धरातलीय संरचनाका कारण बर्सेनि बर्खायाममा सो स्थानमा सास्ती हुने गरेको छ । पुल निर्माण भएपछि सो स्थानमा सवारी साधनलाई मुस्ताङ आउजाउमा सहज हुनेछ । बेनी—जोमसोम ७६ किमी सडकको भौतिक प्रगति ७५ प्रतिशत छ । बेनी जोमसोम ७६ किमी सडकमध्ये हालसम्म ३१ किलोमिटर कालोपत्र र १ हजार ३ सय मिटरमा आरसिसी भइसकेको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया