मुस्ताङका किसानलाई उवा थन्क्याउने चटारो

सुन्दरकुमार थकाली २०८० असार ११ गते ११:४५

जोमसोम ।
मुस्ताङका किसानलाई यति बेला उवा थन्क्याउने चटारो छ । दुई साताअघि रैथाने बाली जौ भित्रयाएका यहाँका कृषक अहिले उवा थन्क्याउने ध्याउन्नमा छन् । जिल्लाको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका कृषक धमाधम बाली थन्क्याउन लागेका छन् ।


मुस्ताङमा सदियौंदेखि घरायसी प्रयोजनका लागि रैथाने बाली उत्पादन तथा खेतीपाती गर्ने गरिएको छ । यहाँका कृषक पछिल्लो समय व्यावसायिक बन्न थालेका छन् । यहाँ स्थानीय बाली उवा, फापर, जौ, सिमी, लसुन लगायतको खेती हुन्छ ।


पछिल्लो समय सडक यातायातको पहुँचसँगै पर्यटकीय जिल्लाको रुपमा स्थापित हुन थालेपछि कृषकले उत्पादन गरेका रैथाने बाली जिल्लामै सहज बिक्री हुन थालेका छन् । यहाँ उत्पादन हुने रैथाने बाली उवा जिल्लामै सहजै बिक्री वितरण तथा बजारीकरण हुने भएपछि कृषकले रैथाने बाली संरक्षण, प्रवद्र्धन र उत्पादनमा जोड दिन थालेका हुन् ।

Advertisement

१ सय ५० हेक्टरमा गरिएको खेतीबाट ३ सय टन उवा उत्पादन


रैथाने बाली उवा जौ जस्तै रैथाने प्रजाती हो । यो झट्ट हेर्दा गहुँ जस्तै देखिन्छ । उवालाई स्थानीय भाषामा करुने र अंग्रेजी भाषामा नेक्ड बार्ली भन्ने गरिन्छ । समुन्द्री सतहको १ हजार ९ सय ८४ मिटरदेखि ३ हजार ८ सय मिटरसम्म उवा खेती गरिन्छ । उवा खेती मुस्ताङको घाँसादेखि उपल्लो मुस्ताङमा पनि हुन्छ ।

Advertisement


मध्य र तल्लो मुस्ताङमा मंसिर महिनाको अन्तिमदेखि पुस महिनासम्म खेतबारीमा छरेर उवा असारमा थन्क्याइन्छ । मुस्ताङमा परम्परागत रैथानेबाली उवा, जौ, फापर लगायतमा किसान आकर्षित भएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले उल्लेख गरे ।


हालसम्म घरायसी रुपमै प्रयोग भइरहेका उवा, जौ, फापर लगायतका बालीको ब्रान्डिङ हुन सके कृषकले बढी आम्दानी लिन सक्ने कार्यालय प्रमुख बस्ताकोटीको भनाइ छ । मुस्ताङमा रैथाने बाली संरक्षण, प्रर्वद्धन र बजारिकरणका लागि केन्द्रले बिभिन्न तालिम, सचेतना र उपकरणहरु अनुदानमा उपलब्ध गराउँदै आएको छ ।


उपल्लो मुस्ताङमा चैत र वैशाख महिनामा खेतबारीमा छरेर असोज महिनामा उवा थन्क्याउने गरिन्छ । यसरी भूगोल अनुसार फरक फरक समयमा उवा खेती गरिन्छ । उवा भुटेर सातु बनाइन्छ भने कतिपयले रक्सी तथा जाँड बनाउन पनि प्रयोग गर्छन् ।


उवा पोषिलो, स्वादिलो र स्वास्थ्यवद्र्धक हुन्छ । यसलाई भुटेर सातु खाने चलन पनि छ । स्याउ खेतीको तुलनामा केही झन्झिटिलो भए पनि उवा खेतीलाई मुस्ताङका कृषकले निरन्तरता दिइरहेका छन् । केही मात्रामा बिक्री भए पनि यहाँ उत्पादित उवा घरायसी प्रयोजनमै बढी प्रयोग भएको छ ।


मंसिर, पुस महिनामा खेतबारीमा छरेपछि पटक पटक आएको झार गोडमेल गर्नुपर्ने हुन्छ । उवा छरेको ६ महिनापछि पाक्न सुरु हुन्छ । उवा खेती गरेका कृषकले उवा काटेर खेतबारीमा वा घरमा लगेर २/३ दिनसम्म घाँममा सुकाउँछन् । घाममा सुकाइएको उवालाई घरेलु काँढे धारिलो औजार सोवाङमा राखेर उवाको बाला र पराल छुट्याइन्छ । यसरी छुट्याइएको उवाका बालालाई मेसिनमा हालेर वा लट्ठीले कुटेर केस्रा निकालिन्छ ।


परम्परागत रुपमा गरिंदै आएको उवा खेती विस्तारै प्रविधि मैत्री हुँदै गएको छ । यद्यपि यो प्रविधि जिल्लाका सीमित कृषकले मात्र उपयोग गरेको देखिन्छ । पर्याप्त बाली थन्क्याउने उपकरण नहुँद जनशक्ति व्यवस्थापन गर्न कठिन हुने गरेको छ । पछिल्लो समय जिल्लामा आधुनिक प्रविधिको उवाको केस्रा छुट्याउने उपकरणमा अनुदान दिन सुरु भएपछि केही सहज भएको स्थानीय कृषक सन्चित्र गुरुङले बताए ।


उनले अहिले उवा थन्क्याएर फापर छर्न भ्याइ नभ्याइ भएको सुनाए । मुस्ताङको मुख्य खेती स्याउ बगैचाभित्र अन्तर बालीका रुपमा पनि उवा खेती गर्ने गरिएको छ । स्याउमा अन्तरबाली स्वरुप उवा, फापर, जौ, मकै, सिमी, लसुन आदि लगाएर किसानले दोहोरो फाइदा लिने गरेका छन् ।


पछिल्लो समय मुस्ताङमा उवा १ पाथीको ५ सय रुपैयाँमा बिक्री भइरहेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङको आर्थिक वर्ष २०७८/०७९ को तथ्यांक अनुसार मुस्ताङमा १ सय ५० हेक्टरमा लगाइएको खेतीबाट ३ सय टन उवा उत्पादन भएको थियो ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया