पृथ्वी राजमार्गको विकल्प बुद्धसिं मार्ग

राष्ट्रिय समाचार समिति (रासस) २०८० असार १२ गते १२:४२

दमौली ।
तनहुँको दमौलीदेखि चितवनको घुमाउने निस्किने बुद्धसिं मार्गलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रुपमा विकास गर्न लागिएको छ । पृथ्वी राजमार्ग अन्तर्गत डुम्रे–आँबुखैरेनी हुँदै घुमाउने पुग्नभन्दा बुद्धसिं मार्गबाट जाँदा २५ किलोमिटर दूरी कम पर्दछ ।


गण्डकी प्रदेश सरकारले बुद्धसिं मार्गलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको छ । पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रुपमा विकास गर्न लागिएको बुद्धसिं मार्गको काम अगाडि बढाउन आवश्यक बजेट विनियोजन गरिएको प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले बताए ।


बुद्धसिं मार्गमा कालोपत्रको कामलाई अगाडि बढाउन लागिएको छ । दमौलीदेखि सुढेसम्मको १० किलोमिटर सडक कालोपत्रका लागि कामअगाडि बढाउन लागिएको हो । ‘प्रदेश सरकारले यो मार्गलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ’, मन्त्री आलेले भने, ‘पृथ्वी राजमार्गको विकल्प बन्न सक्ने यो बाटो स्तरोन्नतिमा प्रदेश सरकार प्रतिबद्ध छ ।’

Advertisement

मुग्लिन–पोखरा सडक विस्तार हुँदा मोटरसाइकल यात्रु भने बुद्धसिं मार्ग हुँदै आवतजावत गर्न थालेका छन्


रणनीतिक महत्वको सडक बुद्धसिंह मार्ग निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाउन ५ करोड बजेट विनियोजन गरिएको मन्त्री आलेले बताए । उनले भने, ‘यो मार्गले राष्ट्रिय राजमार्गसँग वैकल्पिक राजमार्गको आबद्धतामा विस्तार भई सडक पूर्वाधारको उपभोगमा जनताको पहुँच अभिवृद्धि हुने विश्वास गरिएको छ ।’ बुद्धसिं मार्गको निर्माण कार्य बहुवर्षे योजना अन्तर्गत पहिलो खण्डका लागि ५ करोड विनियोजन गरिएको हो ।

Advertisement


चितवनको घुमाउनेमा पक्की पुल नहुँदा दमौलीबाट गएका सवारी साधन पार गर्न मिल्दैन । घुमाउनेमा पुल निर्माणमा ढिलाइ भएकाले पनि भए वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सकिएको छैन । तनहुँ क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले केही समयअगाडि घुमाउने पुलको अवलोकन गरेर यसलाई चाँडो निर्माण सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गर्ने बताएका थिए ।


उक्त पुल निर्माणका लागि विसं २०७५ माघमा सम्झौता भएको थियो । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पुल निर्माण समयमै हुन नसकेको बताए । १ सय ५ मिटर लम्बाइ रहेको पुलको लागत ९ करोड ५६ लाख छ ।


गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गको घुमाउनेको उक्त मोटरेवेल पुल सडक विभाग अन्तर्गतको डिभिजन सडक कार्यालय तनहुँको प्राविधिक सहयोगमा निर्माण हुनेछ ।


पुलको निर्माण भएपछि पोखरा र दमौलीलाई नारायणगढ आउनजान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारयणगढ सडकभन्दा २५ किमी दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेवल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् ।

मोटरसाइकल भने डोहो¥याएर मुग्लिङ–नारायणगढ सडक खण्डसम्म ल्याउन सकिन्छ ।


पोखरा–नारायणगढ सडकको विकल्पका रुपमा तयार गरिएको बुद्धसिंह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्ला जान समय बचत हुने बुद्धसिं मार्गका पूर्वअध्यक्ष विश्व बास्तोलाले बताए ।


तनहुँको दमौलीदेखि घुमाउनेघाटसम्म नियमितरुपमा साना बस तथा दुई पांग्रे सवारीसाधन आउने जाने गरे पनि २ पांग्रे सवारीसाधन भने झोलुङ्गे पुल तरेर मुग्लिङ–नारायणगढ सडकमा निस्कन्छ भने बस तथा अन्य सवारी साधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन् । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार कार्य चलिहरँदा राजमार्ग धुलाम्य भएपछि मोटरसाइकल यात्रु भने बुद्धसिं मार्ग हुँदै आवतजावत गर्न थालेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया