आदिपुरुष प्रदर्शन रोक्न माग

समाधान संवाददाता २०८० असार १२ गते १२:५२

पोखरा ।
विश्व हिन्दू महासंघ जिल्ला कार्यसमिति कास्कीले दक्षिण भारतीय चलचित्र आदिपुरुषको सार्वजनिक प्रर्दशन रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा पोखरामा हिन्दी चलचित्र प्रर्दशन रोक्न माग गरिएको महासंघका केन्द्रीय उपाध्यक्ष शंकर खरालले बताए ।


महासंघले काल्पनिक अखण्ड भारतको नक्सामा नेपालको भूभागसमेत समेटेकोमा आपत्ति प्रकट गरेको जिल्ला कार्यसमिति कास्की अध्यक्ष जगन्नाथ कोइरालाले जानकारी दिए । ‘चलचित्रमा जानकी भारतीय पुत्री हुन् भन्ने वाक्यांश तथा भावको सर्वत्र विरोध पश्चात पनि फिल्म निर्माताले सन १९०४ भन्दा पूर्व नेपाल देश भारतको अधिनस्थ थियो भन्ने अभिव्यक्ति गलत छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘नेपालकोे सार्वभौमसत्ताप्रति सांस्कृतिको नाममा विगत र वर्तमान समयमा गरिएको अपमानजनक र निर्लज्ज हस्तक्षेप गलत छ ।’


ज्ञापनपत्रमा भारतको नवनिर्मित संसद भवनमा पौराणिक धर्मग्रन्थ र इतिहासको कुनै काल खण्डमा समेत नभएको काल्पनिक अखण्ड भारतको नक्सा सार्वजनिक गरिएको दाबी गरिएको छ । भारतको नक्सामा सदा स्वतन्त्र सार्वभौम राष्ट्र नेपाललाई हस्तक्षेप गरेको उल्लेख गर्दै ज्ञापनपत्रमा ती नक्सामा कपिलवस्तु, लुम्बिनी र विराटनगर समेटेर सांस्कृतिक नक्सा भनेकोमा आपत्ति जनाइएको छ ।

Advertisement


अध्यक्ष कोइरालाले चलचित्र निर्माताको अभिव्यक्त्प्रिति मौनता साध्नु र अखण्ड भारतको नक्सा आउनु संयोगमात्र नभएर नियोजित प्रहार भएको जिकिर गरे । भारतको हेपाहा प्रवृत्तिको बिरोध गर्दै अध्यक्ष कोइरालाले भारत र नेपालको स्पष्ट धारणा नआएसम्म कास्कीका सबै सिनेमा हलमा हिन्दी चलचित्र प्रशारण रोक्न माग गरिएको छ ।


विश्व हिन्दू महासंघ नेपाल कास्कीले जिल्ला प्रहरी कार्यलय कास्की, पोखरा महानगरपालिका र सबै चलचित्र हललाई ज्ञापनपत्रको बोधार्थ दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया