कोरलामा पूर्वाधार बनाउँदै पालिका

सुन्दरकुमार थकाली २०८० असार १४ गते १६:१४

जोमसोम ।
तिब्बतसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको कोरला नाकामा पूर्वाधार निर्माणका लागि स्थानीय पालिकाले बजेट विनियोजन गरेको छ । लोमान्थाङ गाउँपालिकाको १५ औं गाउँसभामा उपाध्यक्ष छ्युमी बिष्टले कोरलामा पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरेको जानकारी दिईन् ।


लोमान्थाङले उत्तरी कोरला नाकाको दशगजा क्षेत्रको दक्षिण २ सय मिटरयता पर्यटकका लागि पूर्वाधार निर्माणको योजना स्वीकृत गरेको हो । लोमान्थाङले तत्कालका लागि पर्यटक सुविधाका लागि पूर्वाधार निर्माण गर्न १५ लाख बजेट छुट्याइएको उपाध्यक्ष बिष्टले उल्लेख गरिन् ।


बजेटबाट कोरला नाकामा पर्यटकका लागि विश्राम स्थल, चमेना गृह, शौचालय लगायतका पूर्वाधार निर्माण गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अघिकृत बुद्धिराम उपाध्यायले जानकारी दिए । ‘हामीले कोरला पूर्वाधारलाई बजेटमा समावेश गरेका छौं,’ उनले भने, ‘कोरलामा आन्तरिक पर्यटकको लर्को नै लाग्ने गरेको छ ।’

Advertisement


पछिल्लो समय उत्तरी कोरला नाका आन्तरिक पर्यटकका लागि प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको छ । भारतीय नाकाबन्दीपछि उत्तरी कोरला नाकाको चर्चा चुलिएको हो ।


तत्कालीन सरकारले भारतीय नाकाबन्दीपछि उत्तरतर्फका ढोकाहरु खोल्ने उद्देश्यले उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी जोमसोम कोरला सडक आयोजना सुरु गरेको हो । अहिले कोरला सडकको भौतिक प्रगति ७५ प्रतिशत छ भने सरकारको ७ अर्बभन्दा बढी बजेट लगानी भइसकेको छ ।

Advertisement


कोरला सडक सहज भएसँगै आन्तरिक पर्यटक म्याग्दी हुँदै उत्तरी कोरला नाका अवलोकन गर्न जान थालेका छन् ।

मोटरसाइकल र जिप चढेर कोरला नाकामा पर्यटक पुग्ने गरेका छन् । उपल्लो मुस्ताङको लोमान्थाङबाट झन्डै १८ किमी यात्रापछि कोरला पुगिन्छ ।

कोरला गएका पर्यटकका लागि त्यहाँ विश्राम स्थल, चमेना गृह, शौचालय आदि असहज हुने गरेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङ बताउँछन् । अहिले कोरला नाकासम्म हलुका सवारी साधन पनि सहजै पुग्न सक्छन् । सरकारले कोरलामा भन्सार, सुरक्षा पोस्ट, क्वारेन्टिन, सुख्खा बन्दरगाह आदि पूर्वाधार निर्माणका लागि १ हजार रोपनी जग्गा प्राप्ति गरिसकेको छ । जग्गा प्राप्ति भएसँगै २०७९ फागुनमा डिपिआर भएको छ ।


कोरला नाकामा भन्सार लगायतका संरचना बनाउन नेपाल उद्योग वाणिज्य मन्त्रालय, आपूर्ति मन्त्रालय र नेपाल ईन्टरमोडल यातायात विकास समिति अन्तर्गत सितारा, इन्टुसिप, फुल राइट जेभीको प्राविधिक टोलीले कोरलामा सर्भे गरेको थियो ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया