असार १५ र दही–चिउरा

सञ्जीव पौडेल २०८० असार १५ गते १२:२९

हिजोमात्रै हामीले २ महत्वपूर्ण पर्व मनायौँ । हिन्दू संस्कृतिका अनुयायीले बिहानै स्नान गरी भगवान् विष्णुको अवतार मानिने तुलसीलाई विधिपूर्वक पूजाआजा गरी आआफ्ना घरघरमा रोपण र उपवास बसी हरिशयनी एकादशी मनायौँ भने इस्लाम धर्मावलम्बीले रमजान पर्वको ७० औँ दिनका अवसरमा बिहानै स्नान गरी मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पाठ गरी हर्षोल्लासपूर्ण तरिकाले बकर इद मनायौँ । फेरि आज हामी असार १५ (पन्ध्र असार) का रूपमा अर्को उत्सव मनाउँदै छौं ।


नेपाली संस्कृति विचित्रको छ । हिमाली संस्कृति बोकेको यो भूमिमा हिमाल पग्लेर बनेका नदीहरूको सांस्कृतिक सञ्जाल एकदमै बलियोसँग निर्माण भएको छ । हिमालदेखि तराईसम्म हरेक भूगोलमा र हरेक जातजाति एवं वर्गमा प्राचीन संस्कृतिको गहिरो छाप परेको पाइन्छ । विविध संस्कृति मिलेर बनेको नेपाली संस्कृतिका अनेकन आयाम छन् । विविधतामा एकता बोकेर उभिएको नेपाली संस्कृतिका विविध आयाममध्ये विविध चाडपर्व, मेला र उत्सव विशिष्ट पहिचानसहित प्रचलनमा छन् । यहाँ मनाइने हरेक चाडपर्व एवं मेला, उत्सवका आफ्नै वैशिष्ट्य छन् ।


विक्रम संवत् अनुसार वैशाख संक्रान्तिबाट थालनी हुने नयाँ वर्षसँगसँगै वसन्त ऋतुको गाढा हरियाली भित्रिएको हुन्छ । सँगै सिर्जनाको समय पनि सुरु हुन्छ । रुखका हरिया पालुवामा चराचुरुगींहरूले लगाउने गुँडसँगै तिनीहरूको प्रजननको सिर्जना उत्सव देख्न सकिन्छ । अझ भनौँ, मनसुनको थालनी हुनु भनेको हाम्रो संस्कृतिमा सिर्जनाको मौसम सुरु हुनु हो । त्यसैले त मनसुनको प्रारम्भिक महिना जेठमा धानको बिउ राख्ने गरिन्छ । मनसुनले आफ्नो गति तीव्र बनाउँदै जाँदा असारमा वर्षाको व्यापकतासँगै थुप्रै भूभागमा धान रोपाइँ सुरु हुन्छ र साउन आधाआधीमा पुगेर यो सकिन्छ । यो समयलाई त्यसैले सिर्जनाको मौसम मान्छि ।

Advertisement

भर्खर थन्क्याएको धानको चिउरा बनाएर खाँदै धानकै खेती गर्नु सुन्दर पक्ष हो । यसमा किसानको सन्तुष्टि, ऊर्जा र सपनाको त्रिवेणी हुन्छ


मनसुन सुरु हुनु थन्काएर राखिएका हलो, जूवा, नारा, दाँदे, कुटो, कोदालो, कोदाली आदि झिक्ने समय सुरु हुनु हो । ती औजारको पूजा गरेर सुरु हुने खेत खनजोतको कार्यसँगै रोपाइँको माहोल तयार हुन्छ । रोपाइँ शारीरिक रूपमा बढी नै दुःख हुने गाह्रो काम हो । तर असाध्यै कठिन शारीरिक काम निकै हर्षोल्लासपूर्ण वातावरणबीच गर्ने नेपाली संस्कृतिको मुख्य विशेषताले रोपाइँलाई दुःख कम र उत्सव बढी बनाएको छ । यही उत्सवलाई महोत्सवमय तुल्याउनका लागि देशभरका थुप्रै फाँटमा नौमती बाजा बजाएर रोपाइँको थालनी गरिन्छ । मनसुनको उत्कर्ष रहने भएकाले असार १५ लाई रोपाइँको उत्सवका रूपमा मनाउँदै आएको पाइन्छ ।

Advertisement


फाँटभरिका विभिन्न ठाउँमा अनेक हल गोरु एकै ठाउँमा जम्मा भई निकै खुसीसाथ रोपाइँ उत्सव मनाउने प्राचीन संस्कृति आजसम्म पनि जीवन्त छ । अझ कतिपय सन्दर्भमा त यसको महत्ता झनै बढ्दै गएको छ । २०६२ को असार १५ लाई नेपाल सरकारले ‘राष्ट्रिय धान दिवस’ का रूपमा मनाउने निर्णय गरेसँगै यो दिनको सांस्कृतिक मूल्य झनै बढेको छ । विभिन्न ठाउँमा यो विशेष दिनमा ‘रोपाइँ महोत्सव’ पनि हुन्छन् । पोखरा उपत्यकाका विभिन्न फाँटमा १८ वर्षदेखि रोपाइँ महोत्सव आयोजना गर्ने गरिएको छ । यसले स्वदेशी एवं विदेशी पर्यटकलाईसमेत लोभ्याउँछ । प्राचीन संस्कृतिलाई जोगाउनु, मौलिकता बोकेका सांस्कृतिक उत्सवलाई महोत्सव बनाउनु निकै महत्वपूर्ण कार्य हो ।


हाम्रा यी सबै चाडपर्व एवं मेला, उत्सवको अर्को मूल विशेषता के हो भने यस्ता हरेक अवसरमा फरक फरक खानाका परिकार पाक्ने गर्दछन् । असार पन्ध्र, इद, साउने संक्रान्ति, जनैपूर्णिमा, कृष्णाष्टमी, तीज, दसैँ, तिहार, छठ, हरिबोधनी एकादशी, पुषे पन्ध्रम, ल्होसार, माघे संक्रान्ति, महाशिवरात्री, फागुपूर्णिमा आदि विभिन्न पर्व र उत्सवमा फरक फरक परिकारहखाने गरिन्छन् ।

ती परिकार मौसम एवं हामीकहाँ स्थानीय रूपमा उत्पादन हुने वस्तुसँग प्रत्यक्षतः सम्बन्धित छन् । तसर्थ पनि यी परिकारको महत्व स्वादको पृथकतासँग मात्रै नभई मौसम, स्वास्थ्य, स्थानीय उत्पादन एवं प्राचीन संस्कृतिसँग पनि उत्तिकै छ ।


मुठी खाएर मुरी उब्जाउने महिना असारको यो विशेष दिनमा जताततै उल्लासपूर्ण वातावरण छाएको हुन्छ । किसानमा त यो उत्सवको दिन भई नै हाल्यो । कृषि पेसा नअपनाउने नेपालीले समेत यसलाई पर्वका रूपमा मनाउँदै आएका छन् । किसानसँगै खेतमा गएर यो दिन हिलो खेलेर असार पन्ध्र मनाउनेको संख्या उल्लेख्य छ । त्यसो गर्न असम्भव हुनेहरूले घरमै बसेर दही–चिउराको खाएर पनि असार पन्ध्र मनाउँछन् । व्यावसायिक रूपमा कृषिभन्दा अन्य क्षेत्रमा मानिसको संलग्नता बढ्दै जाँदा हिलो खेलेर, हिलो छोएर वा रोपाइँ नै गरेर यो पर्व मनाउनेभन्दा दही–चिउरा खाएर उत्सव मनाउनेको संख्या बढ्दै जान थालेको पाइन्छ ।


यद्यपि वर्षभरि अन्य कर्म गर्नेले पनि असार पन्ध्रका दिनमा हिलो छुनुपर्छ भन्ने परम्परागत मान्यतालाई अनुसरण गर्ने धेरै छन् ।

त्यसैले त असार पन्ध्र कतै रोपाइँ उत्सव, कतै, हिलो उत्सव त कतै दही–चिउरा उत्सवका कुनै न कुनै रूपमा नेपालीले मनाउँदै आएका छन् । त्यतिमात्रै होइन, नेपाली पुगेका समुद्रपारिका देशमा पनि असार पन्ध्रलाई दही–चिउरा खाने पर्वका रूपमा निरन्तर मनाउँदै आएको पाइन्छ । कतिपय कार्यालय, उद्योग एवं विद्यालयमा पनि यस दिनमा खाजाका रूपमा दही–चिउरा नै खाने गरिन्छ । भनिन्छ–असार महिनाभरि खेतीपातीको कामै नगर्ने देशभित्र वा देशबाहिर रहने सबै नेपालीको समेत शरीर फतक्क गल्छ । कृषिप्रधान देश नेपालको लामो कृषि संस्कृतिका कारण हाम्रो वंशाणुमै असारको थकाइ सर्छ भन्ने यो कुरा वैज्ञानिक दृष्टिकोणबाट पनि सत्यताको निकट छ ।


अब कुरा गरौँ ‘असार पन्ध्र र दही चिउरा’को । हरेक परिकारमा अनेकन पौष्टिकता रहन्छ । त्यसैले पनि हामी शरीरलाई स्वस्थ बनाइराख्न विभिन्न परिकार खाइरहन्छौँ । प्राचीन कालमा खानेकुरामा पाइने पौष्टिकता एवं तिनको नियमित सेवनबारे वैज्ञानिक अनुसन्धान र आधार पक्कै तयार भइसकेका थिएनन् । तर अनुभवकै आधारमा हाम्रा पूर्वजले चलाएका संस्कृतिका अधिकांश आयाम व्यावहारिक रूपमा प्रयोगशालाको परीक्षणभन्दा बढी फलदायी र वस्तुनिष्ठ छन् । त्यसैले पनि असार पन्ध्रसँग, अझ भनौँ असारको शारीरिक कसरत बढी पर्ने खेतीपातीको काम गर्दा खाइने खाजामा विभिन्न अनुभवजन्य विशिष्टता पाइन्छन् ।


यो खाजा एकदमै छिटो तयार हुने र पौष्टिकतामा पनि उत्तिकै धनी हुने भएकाले खेतीपाती गर्दा दही–चिउरा प्रचलनमा ल्याइएको हुन सक्छ । असारमा खेतीपातीमा किसान निकै चटारोमा हुन्छन् । कतिसम्म भनिन्छ भने आफ्नै बाबुको मृत्यु भए पनि मलामी मिसिएर जाने भनी खेतीको काममा एउटा किसान निरन्तर लागिरहन्छ । यस्तो व्यस्तताको मौसममा खाजाका लागि लामो समय दिन नसकिने र पौष्टिकताका आधारमा पनि दही–चिउरा उत्तम खाजा भएको र अत्यन्त छिटो तयार र सेवन गर्न सकिने हुँदा यही खाजा प्रचलनमा ल्याइएको हुन सक्छ ।


दहीमा विभिन्न गुण छन् । दहीले पाचन प्रणालीलाई चुस्त राख्न मद्दत पुर्‍याउँछ । मुटु स्वस्थ बनाउने, रोगप्रतिरोधी क्षमता बढाउने, तौल घटाउने, चिन्ता र तनाव कम गर्ने लगायत छाला र हड्डीलाई समेत बलियो बनाइराख्छ । यस्तो बहुगुण दही घरमै बनाउने र असार पन्ध्रका बेला मेलामा लगेर खाजाका रूपमा ग्रहण गर्ने कार्यले हामीलाई पौष्टिकताका हिसाबले निकै फाइदा हुन्छ ।

दहीले शीतलता पनि प्रदान गर्ने भएका कारण असारको धूपमा दहीको सेवन निकै लाभदायी हुन्छ ।


दहीमा कार्बोहाइड्रेट कम हुने भएकाले यसको सेवनले स्फूर्ति बढाउने काम गर्छ । असारमा खेतीको काम गर्दा स्फूर्ति उत्तिकै आवश्यक पर्ने भएकाले बिहानदेखि दिउँसोसम्म थाकेको शरीरमा खाजा सेवनसँगै स्फूर्ति बढाउनु अपरिहार्य हुन्छ किनकि साँझसम्म काम निरन्तर गरिरहनुपर्छ । तसर्थ पनि दहीको सेवन असारे संस्कृतिको अनिवार्य अंग बनेर रह्यो ।


दहीसँग सुहाउने चिउरा भिटामिन, क्याल्सियम र आइरनको भण्डार नै मानिन्छ । फ्याट र ल्याक्टोस चिउरामा नहुने हुँदा मुटुका लागि पनि चिउरा महŒवपूर्ण मानिन्छ । शरीरमा ऊर्जा कायम राखिराख्नका लागि चिउरामा हुने उच्च कार्बोहाइड्रेटले सहयोग गर्छ । सजिलै पच्ने भएका कारण पनि दहीसँग चिउरा मिसाएर खाजा निर्माण गर्दा सबै महत्वको समष्टिका रूपमा खाजा निर्माण हुने र भन्झटिलो पनि नभएकाले खाजाका रूपमा दही–चिउरा निकै रुचाइएको हो । चैते धान भर्खर थन्क्याएर असारे रोपाइँ सुरु भएको हुन्छ ।


चैते धान चिउराका निम्ति उत्तम मानिन्छ । भर्खर थन्क्याएको धानको चिउरा बनाएर त्यसको खाजा खाँदै धानकै खेती गर्नु अर्को सुन्दरत पक्ष हो । यसमा किसानको सन्तुष्टि, ऊर्जा र सपनाको त्रिवेणी एकसाथ मिल्ने हुन्छ । जसले पनि थप कर्म गर्न किसानमा असाधारण बल प्राप्त हुने अवस्था सिर्जना हुन्छ । साथै दही–चिउरा खाएपछि छिट्टै भोक पनि लाग्दैन । यस कारण पनि खाजाका रूपमा यसको छनोट भएको हुनुपर्छ । दहीचिउरासँगै खाइने केराका पनि त्यत्तिकै राम्रा गुण छन् ।


यसका पछाडिको आर्थिक पक्षलाई हेर्ने हो भने पनि यो खाजा सस्तो पर्न जान्छ । चिउरा किसानका घरमा सजिलै बन्न सक्ने खाजा हो । किसानका घरमा दही सहज उत्पादन भइरहन्छ । जसले गर्दा किसानलाई खाजामा बढी खर्च पनि गरिरहनु नपर्ने भएकाले यो खाजा समग्रमा निम्न–मध्यम वर्गीय किसान परिवारको बाहुल्य रहेको नेपालमा दही–चिउरा प्रसिद्ध खाजाका रूपमा स्थापित भएको हो । तसर्थ यसलाई असार पन्ध्रको उत्सवमा सांस्कृतिक रूपमै जोडेर प्रचलनमा ल्याइएको हो ।

दही–चिउरासँगै खाइने केराको मिश्रणबाट असार पन्ध्रमा खाइने दही–चिउरा रूपी खाजा अत्यन्त उपयुक्त, गुणस्तरीय र मौसम अनुकूल हुने भएकाले पनि यसको सेवन खेतको आलीदेखि जग्गाजमिन नहुने सहरियाको भान्सासम्म पनि निरन्तर चलिरहेकै छ । संस्कृतिको संरक्षण गर्दै सिर्जनाको महिना असारमा सिर्जनशील बन्न दही–चिउराले सबैमा शक्ति प्रदान गरोस् । असार पन्ध्र एवं धान दिवस सिर्जनशील बनोस्, शुभकामना !

तपाईको प्रतिक्रिया