गण्डकी विश्वविद्यालयको आविष्कार केन्द्रमा ८ थरी औजार निर्माण

सञ्जय रानाभाट २०८० असार १९ गते ११:०३

सञ्जय रानाभाट, पोखरा ।

शिक्षणसँगै अनुसन्धान, अन्वेषण तथा आविष्कारलाई एकसाथ अगाडि बढाइरहेको गण्डकी विश्वविद्यालयले कृषि औजारदेखि दैनिक जनोपयोगी मेसिनहरु निर्माण गरेको छ । विद्यार्थीलाई शिक्षणसँगै अनुसन्धान केन्द्रित गराएर राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा विश्वविद्यालयले दुना टपरी बनाउने मेसिनदेखि गोबर पेल्ने मेसिनसम्म निर्माण गरेको हो ।


विश्वविद्यालयको आविष्कार केन्द्रले प्रविधियुक्त ८ वटा मसिन तथा केही बहुउपयोगी औजारहरू बनाएको छ । जसलाई प्रयोग गरेर कृषि स्वास्थ्य सूचना प्रविधिजस्ता विषयसँग सम्बन्धित आधुनिक उपकरण तथा औजार विकास गर्न सकिन्छ ।

Advertisement

विश्वविद्यालयले किसानलाई दैनिक जीवनमा उपयोगी होस् भनेर घाँस टुक्राउने मेसिन निर्माण गरेको छ । जसले घाँस टुक्रा बनाउन मद्दत गर्ने राष्ट्रिय आविष्कार केन्द्रका वरिष्ठ इन्जिनियर रितेश देवले जानकारी दिए । सुख्खा घाँस र फिडर काट्न, फोहोर घटाउन र मात्रा घटाउन यो मेसिन उपयोगी छ । जसको मूल्य ५७ हजार पर्ने इन्जिनियर देवले बताए ।


उनका अनुसार आविष्कार केन्द्रले गाईभैंसीको गोबर पेल्ने मेसिन पनि बनाएको छ । जुन मेसिनले गोबरलाई पेलेर रस छुट्याउँछ । ‘कृषि फर्म गर्नेले गोबरबाट पनि आम्दानी लिन सक्छन् । जसले खेती गर्छ, उनीहरुलाई गोबरबाट निस्केको रस अत्यन्त उपयोगी हुन्छ,’ इन्जिनियर देवले भने । उनकै भनाइमा यो मेसिनले गोबरबाट फाइबर र पानीको मात्रा छुट्याउन, यातायात र भण्डारण गर्न सजिलो बनाउने छ । त्यस्तो मेसिनको लागत ४ लाख रुपैयाँ माथि पर्ने आविष्कार केन्द्रले जनाएको छ ।

Advertisement


विश्वविद्यालयको आविष्कार केन्द्रले किसानहरुलाई नै लक्ष्य गरेर कोदो काट्ने औजार पनि बनाएको छ । विश्वविद्यालयका रजिस्ट्रार डा. कैलाश तिमिल्सिनाका अनुसार आविष्कार केन्द्रले प्रारम्भिक चरणमा दाउरा चिर्ने मेसिन र अदुवा प्रशोधन गर्ने मेसिन पनि बनाएको छ । ‘गाउँघरमा अहिले युवाहरुको खाँचो छ । सोही कुरालाई मध्यनजर गरेर जोसुकैले पनि सजिलै दाउरा चिर्न सकोस् भनेर दाउरा चिर्ने मेसिन बनाएका हौंै,’ रजिस्ट्रार तिमिल्सिनाले भने, ‘अर्को अदुवा प्रशोधन मेसिन पनि बनेको छ ।

यो ठूलो स्केलमा कृषि खेती गर्नेलाई यो बढी उपयोगी बन्नेछ भन्ने विश्वास छ । यसले समयको बचतसँगै सजिलो बनाएको छ ।’

यो अदुवा प्रशोधन गर्ने मेसिनका लागत साढे ३ लाख रुपैयाँ पर्ने आविष्कार केन्द्रले जनाएको छ । केन्द्रले कोदो मकै छु्याउने मेसिन पनि बनाएको छ ।


आविष्कार केन्द्रले सोलार ड्रायर पनि बनाएको छ । यसले सोलार प्यानलबाट बाली, तरकारी र फलफूललाई तापक्रम दिन मद्दत गर्छ । यसले ७० डिग्री सेल्सिएससम्म तापक्रम दिन्छ । आवश्यकता परे यसको तापक्रम घटाउने सकिने इन्जिनियर देवले बताए । पोलिकार्बोनेट पाना र एल्मुनियमबाट बनेको यो सोलार ड्रायर चिसो किसान र व्यवसायीलाई बढी लाभ हुने इन्जिनियर देव सुनाउँछन् । ‘तापक्रम आवश्यक पर्ने ठाउँमा यसलाई प्रयोग गर्न सकियो । हाम्रो उद्देश्य पनि किसान र व्यवसायीले यसबाट फाइदा लिन सकुन् भन्ने नै हो,’ इन्जिनियर देवले भने ।

विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले आविष्कार केन्द्रले छोटो समयमै बजारलाई आवश्यक कृषि औजारदेखि मेसिनहरु निर्माण गर्न सकेको बताए ।कुुलपति गुरुङले सोमबार औजार र मेसिनहरुको सार्वजनीकरणसमेत गरेका छन् ।

‘स्थानीय तहमा उपलब्ध हुने स्रोत र साधनहरुलाई प्रयोग गरी नयाँ उत्पादित सम्पतिको हकलाई सुनिश्चितता अब हामीले गर्नुपर्छ । यी उत्पादित वस्तुहरुको बजारीकरण तथा उचित व्यवस्थापन गर्ने अनुसन्धान केन्द्रको मुख्य उद्देश्य पनि हो,’ कुलपति गुरुङले भने, ‘विश्वविद्यालयले नयाँ प्रविधि भित्रयाउन पनि आगामी रणनीति बनाइरहेको छ । विश्वविद्यालय आउने दिनमा अनुसन्धान, अन्वेषण तथा आविष्कारको गतिविधिलाई प्रवद्र्धन गर्दै लैजान्छ ।’


उनले आविष्कार केन्द्रबाट बढीभन्दा बढी सामग्रीहरूको उत्पादन गर्न पनि गण्डकी सरकार, केन्द्र सरकार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुबाट आवश्यक सहयोग गर्नुपर्ने बताए । कतिपयले पहिल्यै बजारमा उपलब्ध मेसिनहरु केन्द्रले बनाएको भनेर आलोचना गरेपछि विश्वविद्यालयले भने ती मेसिन नेपाली गाउँघरलाई सुहाउँदो र सस्तो बनाउन सकिएको उपकुलपति प्राडा नवराज देवकोटाले बताए ।


पेट्रोल स्कुटर विद्युतीयमा रूपान्तरण
आविष्कार केन्द्रले पेट्रोलबाट चल्ने स्कुटरलाई विद्युतीयमा रूपान्तरण गरेको छ । पेट्रोल विस्थापित गर्नुपर्छ भन्ने उद्देश्यका साथ केन्द्रले विगतमा पेट्रोलबाट चल्दै आएको स्कुटरलाई इलेक्ट्रोनिकमा रुपमान्तरण गरेको छ । जसको माइलेज ४० किलोमिटरसम्म चल्ने छ । एक हजार वाटको ब्याट्रीबाट बनेको यो इलोक्ट्रेनिक स्कुटरबाट सहरी क्षेत्रका मानिसहरु लाभान्वित हुने इन्जिनियर देवले बताए । ‘चलिरहेको स्कुटरलाई इलेक्ट्रेनिकमा रूपान्तरण गरे १ लाखसम्म लागत पर्छ ।

तर, नयाँ नै बनाउनुपरे इलोक्ट्रोनिक स्कुटरको मूल्य २ लाख रुपैयाँ पर्न आउँछ,’ इन्जिनियर देवले भने । आविष्कार केन्द्रले बाँदर धपाउने यन्त्रहरू पनि बनाएको छ । बाँदरलाई धपाउन ‘बाँदर बन्दुक’ र स्वचालित मेसिन बनाएको छ । ‘यो स्वचालित मेसिनमा सिम पनि हाल्न मिल्छ । यसले फोन फरकफरक आवाज पनि निकाल्ने हुँदा बाँदर धपाउन सहयोग पुग्छ भन्ने अपेक्षा छ,’ इन्जिनियर देवले भने ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया