हाम्रो संस्कृति र वैज्ञानिकता

डा सञ्जय कोइराला २०८० असार १९ गते १२:११

२१ औं शताब्दीमा आएर पनि पाठपूजा गर्ने, जनै लगाउने, ढुंगालाई ढोग्ने, नून बार्ने, किरिया गर्ने आदि इत्यादि प्रश्नको माध्यमबाट बारम्बार हाम्रो पूर्वीय संस्कृतिमाथि प्रहार भइरहेको छ । यस्ता प्रश्नको जवाफ न त हामीलाई हाम्रा पुर्खाले दिन सके, न हामी आफैं यसका उत्तरहरु खोज्नेतर्फ लागेका छौँ । हामी त बस अरुको राम्रो भन्दै आफ्नो सम्पूर्ण पहिचान नै बिर्सेर पश्चिमी सभ्यतालाई अंगीकार गर्न यति उद्दत छौँ कि, मानौं त्यसो गर्न सकिएन भने आफ्नै अस्तित्व खतरामा रहेको ठानेका छौँ ।


वर्तमान समाजमा पश्चिमाको नक्कल गर्न नसके त हामीलाई अर्कै ग्रहबाट आएको भान हुने गरी उदारताको नाममा भइरहेको सामाजिक परिवर्तनले के साच्चिकै हामीलाई समृद्ध र सुखी बनाउला त ? एक पल्ट गहिरिएर सोच्नुपर्ने बेला भएको छ ।


पूर्वीय दर्शनको इतिहास पश्चिमाहरुको भन्दा पुरानो मानिन्छ । हिन्दू धर्म सबैभन्दा पुरानो धर्म हो । २ हजार इसा पूर्वभन्दा पहिलेबाट हिन्दू धर्म वैदिक संस्कृतिबाट उत्पत्ति भएको मानिन्छ । हिन्दू शास्त्रहरूलाई दुई भागमा बाँडिएको छ– श्रुति र स्मृति ।

Advertisement

श्रुति भन्नाले वेद बुझिन्छ जुन हिन्दूहरूको धर्मग्रन्थ हो अथवा हिन्दूहरूको संविधान हो । स्मृति अन्तर्गत इतिहास, पुराण, रामायण, महाभारत तथा विभिन्न स्मृति पर्दछन् । वेदको सार उपनिषद हो भने उपनिषदहरूको सार गीता हो । भागवत गीता आफैंमा सम्पूर्ण ज्ञानको पनि ज्ञान मानिन्छ ।

हामी कला र संस्कृतिमा आफैं यति धनी छौँ कि अरु कसैको नक्कल गर्नुपर्ने कुनै आवश्यकता नै छैन

Advertisement


विश्व मानचित्रको मध्य भागमा पर्ने हिमालय पर्वतको काखमा रहेको हाम्रो देश आफैंमा स्वर्गको एक टुक्रासरह छ । हाम्रो आफ्नै सभ्यता, आफ्नै भाषा, कला र आफ्नै मौलिक संस्कृति छ । हामी आफ्नो कला र संस्कृतिमा आफै यति धनी छौँ कि हामीलाई अरु कसैको नक्कल गर्नुपर्ने कुनै आवश्यकता नै छैन । हाम्रा परम्परा र रीतिरिवाज अधिकांश अनुकरणीय छन् ।


नमस्कार गर्ने हाम्रो प्रचलनलाई असभ्य ठानी हात मिलाउने, गाला जोड्ने आधुनिकता कत्तिको वैज्ञानिक रहेछ भन्ने त अहिले कोरोनाले अलिकति झल्को दिइ नै सकेको छ । १३ दिनको किरिया बस्ने हाम्रो परम्परा स्वास्थ्यको हिसाबले कति वैज्ञानिक रहेछ भन्ने बल्ल महसुस हँुदै छ । सुनको कचौरा लिएर हामी माग्न हिडेका छौँ भनेर चीनले हामीलाई त्यसै त भनेको होइन ।


बिहान उठेर स्नान गर्ने, पूजापाठ गर्ने, ध्यान गर्ने कति वैज्ञानिक रहेछ भनेर बल्ल आफैं महसुस पनि गरिरहेको छु । मानिसहरु अहिले योगा र ध्यानतर्फ त्यसै आकर्षित भएका छैनन् । भौतिकताको उन्माद एकदमै क्षणिक हुने कुरा अहिले सारा विश्वले नै आभाष गरिरहेको छ । सुख बाहिर खोजेर पाइने कुरा होइन, यो त अन्तर आत्माले महसुस गर्ने अनुभूति हो । विश्वका धनाढ्यहरुको जीवन शैली हेर्ने हो भने उनीहरुसँग भौतिक सुख, सुविधाका सम्पूर्ण माध्यमहरु भए पनि अन्तत्वगोत्व सुख खोज्न अध्यात्मवादकै शरणमा जाने गरेको पाइन्छ ।


आणविक बमका निर्माता ओपेन्हैमेरले पहिलो आणविक बम बनाउँदै गर्दा भागवत गीताका केही श्लोक भनेका थिए भनेर इतिहासमा पढ्न पाइन्छ । मन्हाटन प्रोजेक्टको सफलतासँगै उनले भनेका थिए, ‘म अब मृत्युको संवाहक बनेको छु, यो धर्ति ध्वस्त बनाउन सक्छु । सायद यहाँ उपस्थित हामी सबैले यही नै सोचिरहेका छौँ होला ।’


हालसालै बलिवडका प्रख्यात अभिनेता अमिर खान ध्यान गर्न भनेरै नेपालमा आएका थिए । वर्षभरी मनाइने हाम्रा चाडको आ–आफ्नै महत्व छ । विभिन्न मौसम अनुसारका चाड पर्वहरुले हामीलाई हरेक समय अध्यात्ममा प्रेरित गरिरहन्छन् । प्रकृतिको नजिक रहेर नैतिक रुपमा आफू र यो संसारलाई जोगाउन हरदम प्रयासरत हाम्रो संस्कृतिले पौराणिक कालमै दिगो विकासका लक्ष्यहरु परिभाषित गरिसकेको थियो । प्रकृति रहे न मानव जीवन सम्भव छ, प्रकृतिका हरेक साझेदारको उत्तिकै भूमिका रहेको कुरा बुझाउने हाम्रो संस्कृति हाम्रो सोचभन्दा निकैअघि छ ।


जुन कुरा अहिले आएर बल्ल विकसित भनाउँदा राष्ट्रहरुले सोच्न थालेका छन् । पीपलको रुखको पूजा, यमपञ्चकमा काग, कुकुर, गोवद्र्धन पर्वतको पूजा, नागको पूजा, अग्निदेव, वायुदेव, वर्षाका लागि ईन्द्रदेवको पूजा आदि इत्यादि सतही बुझाइमा अन्धविश्वास लागे पनि हरेकको मानव सभ्यता र मानव जीवनको सार्थकतामा रहेको महत्व बल्ल संसारले बुझ्दै छ ।


हाम्रो संस्कृतिले हामी मानव जातिलाई आफू स्वयम्, परिवार, समाज र सम्पूर्ण ब्रम्हाण्डलाई नै सन्तुलित राख्न ठूलो प्रेरणा दिन्छ ।

हाम्रो दैनिक जीवनमा गर्नुपर्ने, गर्न हुने, गर्न नहुने जति पनि नियम हाम्रा पुर्खाले बनाएका छन्, ती कपोलकल्पित नभई वर्षौंको सोध कार्यबाट आर्जित हुन् । जसलाई अहिले हामी वैज्ञानिक कारण नभएको भनी लान्छना लगाउने गर्छौं । ती सबै योगी, ज्ञानीहरुको योग र साधनको उपज थिए, जसलाई अहिले हामी क्षणभरमै दुत्कार्ने गर्छौं ।


वर्तमान कालको विज्ञानको भविष्य त हामी बल्ल देख्ने, भोग्ने चरणमा छौँ । विकासका नाममा भएका गतिविधिका कारण प्रकृतिमाथि भएको अन्यायको फल पनि विस्तारै विस्तारै हामी भोग्ने क्रममा नै छौं । प्राकृतिक वस्तु छोडेर कृत्रिम अखाद्य वस्तुहरुका कारण हाम्रो शरीरमा देखिएका अनेकन रोगदेखि बढ्दो अव्यवस्थित सहरीकरण, आणविक विस्फोटका कारण भएका प्राकृतिक प्रकोप, उदारवादका नाममा भइरहेका क्रान्तिहरुका कारण सामाजिक र पारिवारिक विचलनहरुले मानव सभ्यतालाइ विकसित होइन कि निकट भविष्यमै अस्तित्व विहीन बनाउने पक्का छ ।

डा सञ्जय कोइराला

नाक कान घाँटी रोग विशेषज्ञ डा कोइराला राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन् । 

तपाईको प्रतिक्रिया