
पोखरा ।
आर्थिक मन्दी निरन्तर भएपछि पोखराका उद्योगी तथा व्यवसायी प्रभावित भएका छन् । केही भाडा तिर्न नसकेर व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् ।
दैनिक करोडौं कारोबार हुने पोखराको मुख्य व्यापारिक केन्द्र चिप्लेढुंगा, महेन्द्रपुल, न्युरोडमै आर्थिक क्रियाकलाप ठप्प जस्तै भएको छ । व्यापारमा उच्च गिरावट आउँदा साना व्यवसायी चिन्तित छन् ।
सिद्धार्थचोकमा भाडामा व्यवसाय गर्दै आएकी चितवनकी लीलादेवी लामिछाने हालैको एक दिन पसलमा तरकारी केलाउँदै थिइन् । ‘व्यापार छैन, बिहान आयो सटर खोल्यो, साँझ सटर बन्द गर्यो । यसरी नै चलिरहेको छ,’ उनले सुनाइन् । व्यवसाय गरेको १५ वर्षमा यस्तो अवस्था यसअघि कहिल्यै नआएको उनले जनाइन् ।
‘कोरोना महामारीका समयमा पनि व्यापार राम्रै थियो । १ वर्षभन्दा बढी भयो सामान बेच्नै मुस्किल छ, सुधार होला भन्दा अवस्था झन्झन् बिग्रदो छ,’ उनले भनिन्, ‘व्यवसायीका पीडा बुझ्ने कोही छैनन्, जीवन धान्नै गाह्रो भएको छ । अड्कलेर खर्च गर्नुपर्ने, अड्कलेर खानुपर्ने अवस्था छ, व्यवसाय धरापमा छ ।’
पहिले पोखरामा कोठा, सटर पाउन मुस्किल थियो, अहिले सटर भाडामा जान छाडेपछि घरधनीले खाली भएको सूचना टाँस्नुपर्ने अवस्था आएको छ
व्यवसायीका व्यथा कसैले नबुझ्ने, व्यवसायको अवस्था बिग्रिएको देख्दा देख्दै पनि घरधनीले भाडा तिर्न दबाब दिँदा कतिपयले व्यवसाय बन्द गरेको उनले बताइन् । भाडामा छुट दिन विभिन्न सरोकारवालाले आग्रह गरेको भए पनि आफूले छुट नपाएको उनले गुनासो पोखिन् ।
अहिले व्यापार ८० प्रतिशत घटेर २० प्रतिशतमा सीमित रहेको नेपाल उद्योग तथा व्यवसायी संघ कास्की सचिव हेमराज भण्डारी दाबी गर्छन् । व्यवसायलाई लयमा फर्काउन सरकारले सही नीति ल्याउनुपर्ने उनको भनाइ छ । कपडा व्यवसायी उनी २० वर्षदेखि पसल चलाइरहेका छन् ।
नेपाली परनिर्भर हुनाले देशमा आर्थिक संकट आएको भण्डारीको ठम्याइ छ । सरकारले स्वदेशी उत्पादनमा जोड दिनुपर्ने र आयात रोक्नुपर्ने उनले सुझाव दिए । सरकार र बैंकले सहकार्य गरेर व्यवसाय तथा देशलाई संकटबाट बचाउनुपर्ने उनको जोड छ ।
नेपाल राष्ट्र बैंकले सबै बैंक, सहकारीलाई समेटेर आर्थिक नीतिमा तरलता ल्याउनुपर्ने, एक अंकको ब्याजदरमा ऋण उपलब्ध गराउने तथा ऋण तिर्न नसकेका व्यवसायीलाई थप ऋण दिनुपर्ने भण्डारीको माग छ । उनी भन्छन्, ‘बजारमा आर्थिक क्रियाकलाप ठप्प छ, कति व्यवसायी पलायन भइसके, कति पलायन हुने अवस्थामा छन् ।’ उनी सटर भाडा मासिक ५५ हजार तिर्छन् ।
जुत्ता व्यवसायी गौरव सुवेदीको अनुभव पनि उस्तै छ । उनी पसलमा ग्राहकको पर्खाइमा थिए । शिक्षण पेसा छोडेर सुवेदीले ३ वर्षअघि जुत्ता पसल खोलेका हुन् । ‘देशमै केही गरौं भनेर बसियो, देशको अवस्थाले जीवन धान्न पनि गाह्रो हुँदै छ, व्यवसाय कसरी धान्ने,’ उनले प्रश्न गरे, ‘पसल खोलेको सुरुतिर कारोबार सन्तोषजनक नै थियो । पसल विस्तार गर्ने पनि योजना थियो ।
अहिले यही एउटा व्यवसाय धान्न पनि गाह्रो भएको छ ।’
उनले मासिक ३० हजार भाडा तिर्दै आएकोमा घरधनीले १० प्रतिशत छुट दिने आश्वासन दिएका छन् । विदेश नगएकोमा अहिले पछुतो भएको उनी सुनाउँछन् ।
बैंकको चर्काे ब्याजका कारणले संकट आएको सुवेदीले उल्लेख गरे । ‘बैंकले फिक्स्ड डिपोजिट गर्नेलाई धेरै ब्याज दिँदा फिक्स्ड डिपोजिट गर्ने बढे । जसले गर्दा व्यवसायमा लगानी गर्ने पैसा छैन,’ उनी भन्छन्, ‘ऋण दिन कसैले मान्दैनन्, सरकारले व्यवसायीलाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्छ ।
आम्दानी नभएपछि व्यापारीले पसल बन्द गर्दै सटर खाली गर्न थालेका छन् । पहिले पोखरामा कोठा, सटर पाउन मुस्किल थियो । अहिले सटर भाडामा जान छाडेपछि घरधनीले खाली भएको सूचना टाँस्नुपर्ने अवस्था आएको छ । पोखराका प्रायः सबै ठाउँमा सटर र घर धमाधम खाली हुँदै गएको देखिन्छ ।
हरेक चोक, गल्लीका घरमा अहिले पसल बिक्रीमा, कोठा, फ्ल्याट, सटर भाडामा लेखेका बोर्ड र ब्यानर बाक्लै टाँगिएका छन् ।
नयाँबजारमा रहेको दमनजंग राणाको घरको भुइँ तलाको सटर माघदेखि खाली छ । उनको सटरमा मोटरसाइकल सोरुम थियो सोरुमले सटर खाली गरेपछि अरु आएका छैनन् । ५ वर्षदेखि सटर भाडामा दिँदै आएकोमा पहिलोपल्ट उनको सटर खाली छ ।
मासिक ५० देखि ७५ हजारसम्म पर्ने सटर भाडा घटाएरै भए पनि दिने उनको योजना छ । सटर भाडामा भन्ने सूचना राखेको डेढ महिना हुँदा पनि बुझ्नसम्म कोही नआएको उनले सुनाए ।
भाडा तिर्न नसकेर यसअघिका भाडावालले सटर खाली गरेपछि न्युरोडमा रहेको क्षेत्रबहादुर गुरुङको घरको सटर ७ महिनादेखि बन्द छ । मान्छे आए पनि महँगो भनेर लिनै मानेका छैनन् । ‘लगानी नै नउठ्ने गरेर त भाडामा दिन मिलेन । हाम्रो सटर ठूलो पनि छ, उचित भाडा त भन्नै प¥यो,’ उनले भने,’ ८ वर्ष देखि सटर नियमित भाडामै थिए । पहिलोपटक सटर खाली रह्यो ।’
घर, सटर भाडामा लिनेदिने बेलामा लिखित सम्झौता गरे समस्या घट्ने राष्ट्रिय घरभाडा सरोकार समिति कास्की अध्यक्ष कमलप्रसाद न्यौपानेले बताउँछन् । सम्झौता सकिएपछि १० प्रतिशत भाडावृद्धि गर्ने सरकारी कानुन भए पनि घरधनीले मनपरी भाडा वृद्धि गर्दा व्यवसायी र भाडामा बस्नेलाई गाह्रो हुने गरेको उनको अनुभव छ । उनले स्थानीय सरकारलाई बहाल कर घरधनी वा जग्गाधनीले नै तिर्ने अवस्था बनाउन पनि माग गरे ।
अस्वस्थ प्रतिस्पर्धाले समस्या उत्पन्न भएको उनको निष्कर्ष छ । ‘बढी भाडा दिने तथा पेस्की दिने प्रस्ताव गरेको सुन्नमा आएको छ, आर्थिक मन्दीले सबै क्षेत्र प्रभावित छन्, ठाउँ खाली राख्नु भन्दा कम भाडामा दिनु उत्तम हो जस्तो लाग्छ,’ न्यौपानेले भने, ‘भाडामा बस्नेको मात्र होइन, घरधनीका पनि समस्यामा छन् । ७/८ महिना भयो भाडा नपाएको भनी निवेदन आएका छन्, सरकारले करमा छुट दिएमा सहज हुने थियो ।’
पोखरा उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष गोकर्ण कार्की अहिलेको विषम परिस्थितिमा भाडा नबढाउन तथा भाडामा छुट दिन घरधनीलाई आग्रह गर्छन् । भाडा महँगो भयो, तिर्न गाह्रो भयो भनी मौखिक जानकारी आए पनि संघमा अहिलेसम्म लिखित निवेदन आएका छैनन् ।
बहालमा बस्नेहरु बसिरहेको ठाउँ खाली गर्नुपर्ने डरले घरधनीको विरोध गर्न डराउँछन् । ‘सक्ने घरधनीले त भाडामा छुट दिनुभएको छ, उहाँहरुका पनि आफ्नै समस्या छन्, जबरजस्ती गरेर पनि भएन, धैर्यपूर्वक सहकार्य गरी समस्याको समाधान गर्नुपर्छ,’ कार्कीले भने ।

प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया