व्यासका निजी स्कुललाई छात्रवृत्ति विवरण बुझाउन निर्देशन

समाधान संवाददाता २०८० असार २० गते ११:१५

पोखरा ।
तनहुँको व्यास नगरपालिकाले छात्रवृत्ति वितरणको विवरण नबुझाउने निजी स्कुलहरुलाई कारबाही गर्ने भएको छ । नगरको शिक्षा शाखाले यो शैक्षिक सत्रमा कक्षा १० सम्म भर्ना भएका विद्यार्थीलाई दिइएको छात्रवृत्ति वितरण ७ गतेभित्र पेस गर्न सूचना जारी गरेको थियो ।


हालसम्म ८ निजी स्कुलले मात्र विवरण पेस गरेको शिक्षा शाखाले जनाएको छ । व्यासभित्र ४५ निजी स्कुल छन् । नगर शिक्षा नियमावली २०७६ को परिच्छेद १० मा निजी विद्यालयमा अध्ययनरत १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था छ । नगरपालिकाले जेठ ३२ गते छात्रवृत्ति वितरणका लागि विद्यालयलाई परिपत्र गरेको थियो ।


अहिलेसम्म शिक्षा मन्त्रालयले समेत नियमित अनुगमन गरेर कानुनी प्रावधान कार्यान्वयनमा ल्याउन सकेको छैन । पछिल्लो समय विद्यालय शिक्षा स्थानीय तहको अधिकार भन्दै शिक्षा मन्त्रालय पन्छिने गरेको छ । विश्वविद्यालयले पनि निजी क्याम्पसमा त्यसको कार्यान्वयन गराउन सकेका छैनन् । नगर प्रमुख वैकुण्ठ न्यौपानेले विवरण पेस नगर्ने विद्यालयलाई पहिलो चरणमा लिखित स्पष्टीकरण सोधिने जानकारी दिए ।

Advertisement


‘छात्रवृत्ति वितरणलाई पारदर्शी गराउन विवरण माग गरिएको हो । तर अहिलेसम्म धेरै विद्यालयले पेश गरेका छैनन्,’ उनले भने, ‘पहिलो चरणमा हामीले पुनः पत्र पठाई विवरण माग गरेका छौं । विवरण नपठाए अब कारबाही प्रक्रिया थाल्छौं ।’ नगरपालिकाले शिक्षा क्षेत्रमा मात्र नभई स्वास्थ्य क्षेत्रको सुधारको लागि समेत काम थालेको छ ।


कार्यालयले व्यास नगरभित्र रहेका निजी अस्पतालहरुको अनुगमन गर्ने भएको छ । निजी अस्पताल तथा स्वास्थ्य संस्थाले दिने सेवा र प्रयोगशालाप्रति गुनासो आउन थालेपछि नगरपालिकाले अनुगमन गर्ने तयारी गरेको हो । नगर प्रमुख न्यौपानेले नवीकरण, दर्ता नगरी स्वास्थ्य संस्था सञ्चालन गरिएको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय तनहुँको सहयोगमा बुधबारदेखि शुक्रबारसम्म अनुगमन गरिने जनाए ।

Advertisement


व्यास नगरपालिकाले नगरका सहकारीहरुको पनि अनुगमन थालेको छ । सहकारीहरुलाई पारदर्शी गराउन अनुगमन थालेको नगर प्रमुख न्यौपानेले बताए । नगरभित्र सञ्चालित ८४सहकारी अनुगमन गर्दा धेरै जसोले प्रतिवेदन तयार नगरेको, सेयर सदस्यभन्दा बाहिरका व्यक्तिसँग कारोबार गरेको फेला परेको छ । त्यस्ता सहकारीलाई काम, कारवाही सुधार्न निर्देशन दिइएको छ ।

तपाईको प्रतिक्रिया