एसइई नतिजामा सुधार

समाधान संवाददाता २०८० असार २२ गते ११:००

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार दिउँसो सार्वजनिक गरेको छ । नतिजा अनुसार सबैभन्दा माथिल्लो ग्रेड ३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या करिब साढे २२ हजार छ ।


गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए । ३.६ देखि ४ जिपिए ल्याउनेको संख्या गत वर्ष ९ हजार ६३३ जना थियो । यो वर्ष २२ हजार ४ सय ७५ पुगेर गत वर्षको १.९४ प्रतिशतबाट बढेर ४.६३ प्रतिशत भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । यस वर्षदेखि अंग्रेजी, गणित र विज्ञान विषयमा स्तरीकृत परीक्षा प्रणाली लागु गरेका कारणले नतिजामा सुधार आएको शर्माले सुनाए ।

Advertisement

३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थी साढे २२ हजार


विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत प्राप्तांक हुनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम प्राप्तांक हुनेलाई ए, ७० देखि ८० भन्दा कम प्राप्तांक हुनेलाई बी प्लस ग्रेड प्रदान गरिन्छ । ६० देखि ७० भन्दा कम प्राप्तांक हुनेलाई बी, ५० देखि ६० भन्दा कम प्राप्तांक हुनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम प्राप्तांक हुनेलाई सी, ३० देखि ४० भन्दा कम प्राप्तांक हुनेलाई डी प्लस, २० देखि ३० प्राप्तांक हुनेलाई डी तथा २० भन्दा कम प्राप्तांक हुनेलाई ई ग्रेड प्रदान गरिन्छ । न्यूनतम ३५ प्रतिशत नल्याए अवर्गीकृत उल्लेख गर्ने व्यवस्था २०८० सालको एसइईदेखि मात्र कार्यान्वयनमा आउने छ ।

Advertisement


बोर्डका अध्यक्ष शर्माले एसइईको नतिजा गत वर्ष भन्दा सुधार भएको बताएका छन् । विद्यालय र कक्षाकोठाकोअवस्था सुधार र परीक्षा प्रणालीमा आएको सुधारका कारण पनि नतिजा राम्रो आएको उनको दाबी छ । ‘कोभिड महामारी सकिनुका अलावा यो नतिजाले देखायो कि विद्यालय र कक्षाकोठाहरुको वातावरणमा सुधार आउँदैछ, त्यसपछि परीक्षा प्रणालीमा भएको सुधार, तथा उत्तर पुस्तिका परीक्षणमा भेरिएसन कम हुने गरी गरेका सुधारले गर्दा रिजल्ट राम्रो देखियो,’ शर्माले भने ।


शर्मा अनुसार ३.२ देखि ३.६० जिपिए ल्याउने परीक्षार्थीको संख्या गत वर्ष कुल परीक्षार्थीको ८.४ प्रतिशत रहेकामा यस वर्ष बढेर ११.३६ प्रतिशत पुगेको छ । ‘यस वर्ष माथिल्लो रेन्जको जिपिए ल्याउनेको संख्या गत वर्षभन्दा बढी छ,’ शर्माले भने । अध्यक्ष शर्माले कोभिड–१९ को महामारी सकिएपछि विद्यार्थीले पढ्ने समय पर्याप्त पाएकाले नतिजामा सुधार भएको बताएका छन् ।

विगतका वर्षहरुमा विद्यार्थीले कक्षाकोठामा नियमित उपस्थित हुन नपाएको र शिक्षक शिक्षिकासँग भौतिक रुपमा नै परामर्श गर्न नपाएकाले नतिजा कमजोर देखिएको उनको भनाइ छ ।


परीक्षाका लागि देशभरि २ हजार ३७ परीक्षा केन्द्र कायम गरिएको थियो । बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा सार्वजनिक गरेको हो । २०७८ पुस ७ गते निर्देशिका जारी गरिएको थियो । त्यसलगत्तै फागुन १७ गते पहिलो संशोधन गरिएको थियो ।

तपाईको प्रतिक्रिया