‘ठूल्दिदी’ले भनेपछि विद्यार्थी नियमित

समाधान संवाददाता २०८० असार २२ गते १३:३८

पोखरा ।
सामुदायिक स्वयंसेवकको रुपमा रहेका ठूली दिदीले घरदैलोमा परामर्श दिन थालेपछि बागलुङको जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाका विपन्न र सिमान्तकृत विद्यार्थी नियमित रुपमा स्कुल आउन थालेका छन् । ठूली दिदीले समुदायमा गएर अभिभावकलाई बुझाएपछि विद्यार्थी नियमित भएको भीमपोखरा युवा क्लब (बिवाइसी) बागलुङ अध्यक्ष मनिभद्र शर्मा बताउँछन् ।


क्लबले पोखरामा आयोजना गरेको गण्डकी प्रदेश स्तरीय सिकाई तथा अनुभव आदानप्रदान कार्यक्रममा अध्यक्ष शर्माले क्लबको सिकाई परियोजना अन्तर्गत दुबै पालिका ६० विद्यालयमा सञ्चालित कार्यक्रममा ६० ठूल्दिदीहरु खटिएको बताए । जसका कारण दुबै पालिकाका १ सय ९४ विपन्न र सिमान्तकृत बालिका विद्यालयमा नियमित गराउन परियोजना सफल भएको छ ।

जसमा ९० काठेखोला र १ सय ४ जैमिनीका बालिका छन् ।

Advertisement


सिकाई परियोजनाका कार्यक्रम संयोजक पोष्टबहादुर केसीले सामुदायिक स्वयंसेवकले विद्यार्थी अभिभावक र विद्यालयलाई जोड्ने काम गरेको बताए । ‘विपन्न र सिमान्तकृत विद्यार्थीलाई विद्यालयमा नियमित गर्न ६० ठूली दिदीहरुले करिब ५ हजार पटक घरदैलो कार्यक्रम गरेका छन्,’ उनले भने, ‘समुदाय स्तरको अभिभावक सचेतना कार्यक्रम असल अभ्यासको रुपमा स्थापित भएको छ ।’ उनले परियोजनाको प्रमुख उपलब्धिको रुपमा रहेको यो कार्यक्रम निकै प्रभावकारी भएको बताए ।


ठूल्दिदीहरुले शिक्षाको महत्व र अभिभावकको भूमिका, विद्यार्थीप्रति अभिभावकको जिम्मेवारीको बारेमा सचेतीकरण गरिएको छ । ठूली दिदीको उपस्थिति र संलग्नताले विद्यालय र समुदायबीचको सम्बन्ध सुधार भएको जानकारी दिँदै उनले समुदायबाट पनि बालबालिका स्कुल नियमित गराउन सजिलो भएको बताए ।

Advertisement


उनले दातृ संस्था हेम्पेल फाउन्डेसन र भिएसओ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रमबाट कक्षा १ देखि ५ सम्मका ७ हजार २ सय विद्यार्थी लाभान्वित हुने जानकारी दिए । उनले परियोजनाले २ हजार ४ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको बताए । उनले बालबालिका समावेशी शिक्षा सञ्जाल गठन गर्नुका अलवा स्थानीय पठ्यक्रम निर्माण कार्यशाला गरेको उल्लेख गरे ।


कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले क्लबले विद्यार्थीलाई विद्यालयलाई नियमित गर्न राम्रो भूमिका खेलेको बताए । उनले सबैको उद्देश्य गुणस्तरीय शिक्षा प्रदान गर्नु रहेको उल्लेख गरे । मन्त्रालयका उपसचिव तथा शिक्षा महाशाखाका उपसचिव तोयनाथ लम्सालले क्लबले गरेका राम्रा अभ्यास सबैले अनुशरण गर्नुपर्ने सुझाव दिए । शिक्षा विकास निर्देशनालयका निर्देशक अम्बिका आचार्यले क्लबको राम्रो काम फैलाउने र नराम्रो भए औंल्याएर नदोहोर्‍याउने उल्लेख गरे ।


शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले २ पालिकाको कार्यक्रम सरकारी तथा गैरसरकारी संस्थाको स्रोत र साधनलाई एकीकृत गरी विस्तार गर्नुपर्ने बताए । कार्यक्रममा गैसस महासंघ गण्डकी प्रदेश अध्यक्ष गोपाल खड्का, कोपिला नेपालका कार्यकारी निर्देशक विना सिलवाल, बिवाइसी बागलुङ कोषाध्यक्ष गंगा शर्मा, कार्यक्रम अधिकृत विमल शर्मा, स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराका अध्यक्ष हेम गुरुङ लगायतले शैक्षिक गतिविधिका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया