मादी गाउँपालिकाका पहिरो विस्थापित परिवारलाई राहत

राष्ट्रिय समाचार समिति (रासस) २०८० असार २४ गते १२:३८
फाइल फाेटाे
कास्की ।   

कास्की जिल्लाको मादी गाउँपालिकामा अबिरल वर्षापछिको पहिराेले घरमा क्षति पुगेर विस्थापित परिवारलाई राहत प्रदान गरिएको छ ।

मादीको वडा नं ६ का पाँच र वडा नं २ का एक परिवारमध्ये दुई घर पूर्णरूपमा विस्थापित र अन्य जोखिममा परेका थिए । मादी गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले शनिबार प्रभावित परिवारलाई गाउँमै पुगेर राहत रकम प्रदान गरेका हुन् । पीडित परिवारलाई क्षतिका आधारमा गाउँपालिकाले रु दुई लाख पाँच हजार र जिल्ला प्रशासनले रु एक लाख राहत वितरण गरेको छ ।

यही असार १९ गतेको अबिरल वर्षाले मादी–६ को काहुँखोला–दूधपोखरी सडकको दोस्रो खण्डमा सजुक भेडीखर्क टोलको भेडीखर्क चोकमा पाँच परिवारको छ घर र गोठ पहिराेले क्षति पुर्याएको थियो । पहिरोबाट विस्थापित मादी–६ का कमलापति बराललाई मादी गाउँपालिकाबाट रु ७० हजार र प्रशासनबाट रु २५ हजार राहत रकम प्रदान गरियो ।

Advertisement

त्यसैगरी दीपक बराललाई गाउँपालिकाबाट रु ५० हजार र प्रशासनबाट रु २० हजार, शम्मेर पाण्डेलाई पालिकाबाट रु ३० हजार र प्रशासनबाट रु १५ हजार, भुवन सिंहलाई पालिकाबाट रु २० हजार र प्रशानबाट रु १५ हजार राहत रकम प्रदान गरिएको छ ।

पहिराेपीडित विष्णुमाया घर्तीका परिवारलाई प्रशासनबाट रु १५ हजार र गाउँपालिकाबाट रु २० हजार र कृष्णप्रसाद देवकोटाका परिवारलाई गाउँपालिकाबाट रु १५ हजार प्रशासनबाट रु १० हजार राहत रकम प्रदान गरिएको मादी गाउँपालिका–६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले जानकारी दिए ।

Advertisement

पीडित परिवारलाई प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङ, गण्डकी प्रदेशसभा सदस्य बेदबहादुर गुरुङ, गाउँपालिका अध्यक्ष देवीजंग गुरुङ, जिल्ला प्रशासन कार्यालय कास्कीका अधिकृत दीपक रेग्मीलगायतले राहत वितरण गरेका हुन् । पहिराेले पूर्णरूपमा घरमा क्षति पुगेका दीपक र शम्शेर पाण्डेको परिवार हाल आफन्त र समाजघरमा आश्रय लिएका छन् । यी दुवै परिवार विस्थापित भएर आफन्त तथा समाजघरमा आश्रय लिएको वडाध्यक्ष क्षेत्रीले बताए । अबिरल वर्षा तथा पहिराेका कारण मादीका विभिन्न स्थानमा क्षति पुगेको बताइन्छ । विशेषगरी ग्रामीण सडकमा पहिराेले क्षति गराएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया