व्यासका ८ सय २२ जना अपांगता भएका व्यक्तिले पाए परिचय पत्र

समाधान संवाददाता २०८० असार २९ गते १२:५५

दमौली ।
तनहुँको व्यास नगरपालिकाले हालसम्म अपांगता भएका ८ सय २२ जना व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ ।

नगरपालिकाको महिला बालबालिका अपांगता तथा ज्येष्ठ नागरिक उपशाखाले दिएको तथ्यांक अनुसार क वर्गकालाई रातो, ख वर्गकालाई नीलो, ग वर्गकालाई पहेंलो कार्ड र घ वर्गको अपांगता भएका व्यक्तिलाई सेतो परिचयपत्र प्रदान गरिएको छ ।


रातो कार्ड १ सय ३५ जनालाई, नीलो कार्ड ३ सय ३६ जनालाई, पहेंलो कार्ड २ सय ३५ जनालाई र सेतो कार्ड १ सय १६ जनालाई वितरण गरिएको छ । सरकारबाट प्राप्त रकम नगरपालिकाले ‘क’ र ‘ख’ वर्गलाई मासिक क्रमशः ४ हजार र ‘ख’ वर्गलाई २ हजार रुपैयाँका दरले उपलब्ध गराउँदै आएको छ ।

Advertisement


सरकारले रातो र नीलो कार्ड प्राप्त व्यक्तिलाई मात्र प्रोत्साहन रकम दिने गरेको भएपनि ‘ग’ वर्गलाई भने सुविधा प्रदान गरेको छैन । संघिय सरकारले रातो कार्ड भएका व्यक्तिलाई मासिक ४ हजार र नीलो कार्ड भएकालाई २ हजार १ सय २८ रुपैया भत्ता प्रदान गर्दै आएको छ ।


नगरपालिकाको तर्फबाट प्रोत्साहनस्वरूप पहेंलो कार्ड भएका व्यक्तिलाई वार्षिक ४ हजार भत्ता दिँदै आएको उपप्रमुख इन्द्रिरा दरैले जानकारी दिइन् । ‘सरकारले रातो र नीलो कार्ड प्राप्त व्यक्तिलाई मात्र प्रोत्साहन रकम दिने गरेको छ तर व्यास नगरपालिकाले पहेंलो कार्ड भएकालाई पनि रकम प्रदान गरेको छ,’ उनले भनिन्, ‘सामाजिक सुरक्षा भत्ता र पेन्सन पाउनेहरुलाई भने प्रोत्साहन रकम दिईने गरिएको छैन ।’

Advertisement


सेतो कार्ड पाएका अपांगता भएका व्यक्तिको शारीरिक अवस्था सामान्य रहने हुँदा काम गरी खान सक्ने भएकाले भत्ता वितरण नगरिएको हो तर सबै प्रकारका अपांगता भएका व्यक्तिले राज्यले प्रदान गर्ने स्वास्थ्य, शिक्षा र रोजगारीमा छुटको व्यवस्था हुन्छ भने लोकसेवामा लड्न पाउने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया