पोखरामा १ महिना पुग्ने इन्धन भण्डार

नेपाल आयल निगमले क्षमता विस्तार गरेपछि अब डिजल १ महिना र पेट्रोल १ साता पुग्ने भण्डारण गर्न मिल्छ

भीमपाणि बराल २०८० साउन २ गते १०:४१

लेखनाथ ।
नेपाल आयल निगमले पोखरामा अमलेखगञ्ज र काठमाडौंपछिको तेस्रो ठूलो भण्डारण टंकी निर्माण गरेको हो । निगमले नेपाल आयल निगम गगनगौडा इन्धन डिपो परिसर पोखरा महानगरपालिका वडा नं २९ र ३० को पावरहाउसमा नयाँ टंकी बनाएको हो ।


करिब २ वर्षको समय लगाएर निर्माण गरिएको १० हजार केएल(एक करोड लिटर) भण्डारण गृह निर्माण भएपछि यो नेपालकै तेस्रो ठूलो भण्डार गृह बनेको छ । प्रदेशको हालको दैनिक खपत र भण्डारणको अवस्थालाई तुलना गर्दा पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै कारणले अवरोध भए पनि डिजेलको मागलाई डिपोले ७ दिनलाई मात्र र पेट्रोलको मागलाई २ दिनमात्र धान्न सक्ने अवस्था रहेको थियो । नयाँ भण्डारण परियोजना बनेपछि डिजल करिब ३० दिनलाई पुग्नेछ ।


करिब ८९ करोडको लागतमा निर्माण भएका २ भर्टिकल ट्रयांकी र एक फायर वाटर टंकी बनेका हुन् । अब यस क्षेत्रमा डिजेलको अभावबाट केही हदसम्ममा भए पनि आम उपभोक्ताले हैरानी व्यहोर्नु नपर्ने निगमको विश्वास छ । यी पूर्वाधार निर्माणले दीर्घकालीन रूपमा मुलुकमा पेट्रोलियम पदार्थको बिक्रीवितरण र व्यवस्थापन गर्न सजिलो हुने निगमले जनाएको छ ।

Advertisement


नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सोमबार टंकीहरु उद्घाटन गरेका हुन् । मन्त्री रिजालले पेट्रोलियम ऊर्जाको सञ्चिति क्षमता वृद्धिले राष्ट्र निर्माणमा सहयोग पु¥याउने बताए । उनले भने, ‘पेट्रोलियमको सञ्चिति क्षमता नहुँदा सामान्य समस्यामा पनि उपभोक्ताले हैरानी व्यहोर्नुपरेको छ । अब गण्डकी प्रदेशमा त्यस्तो हुँदैन ।’


गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले सबै मिलेर पेट्रोलियमको कारोबार र व्यवस्थापनलाई सहज बनाइराख्नुपर्ने बताए । गण्डकी प्रदेशमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सुदृढ बनाउँदै वैकल्पिक ऊर्जाको खोजीमा लाग्नुको विकल्प नभएको उनको भनाइ छ ।

Advertisement


पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लामो समयदेखि निगमको भण्डारण क्षमता बढाउन नसक्दा उपभोक्ताले अनेक समस्या भोग्नुपरेको स्मरण गरे । सरकारको नीति तथा कार्यक्रम अनुसार भण्डारण क्षमता विस्तारसँगै पर्यटकीय सहर पोखरालाई समृद्ध बनाउन र आपूर्तिमा व्यवधान आए पनि निश्चित समयसम्मका लागि उपभोक्ताले सास्ती व्यहोर्नु नपर्ने अवस्था हुने उनले बताए ।


नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले भण्डारण गृहमा आपतकालीन अवस्था आएको खण्डममा एकै स्विचमा सबै प्रणाली बन्द गर्न सकिने बताए । रिमोट कन्ट्रोलबाट काम गर्न सकिने भएकाले कुनै पनि कारणले डिपोमा आगलागी भएको खण्डमा करिब दुई घन्टासम्म निरन्तर आगो नियन्त्रणका लागि लड्ने क्षमताका पूर्वाधार यहाँ रहेको उनले जानकारी दिए ।

कार्यकारी निर्देशक थानीले निगमको संस्थागत विकास र वित्तीय स्थायित्वका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम पेट्रोलियम पदार्थको आपूर्ति र वितरण व्यवस्थालाई व्यवस्थित बनाएको सुनाए । निगम सञ्चालक समितिबाट स्वीकृत भएको पेट्रोलियम पदार्थ स्वचालित मूल्य कार्यविधि २०८० बमोजिम अन्तर्राष्ट्रिय बजारको मूल्य अनुसार अब नेपालमा मूल्य कायम भएको उनले जानकारी दिए ।


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघका अध्यक्ष वीरेन्द्रबहादुर चन्द, नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष विकास वखती, निगमका उपप्रबन्धक दीपकप्रसाद घिमिरे लगायतले निर्माण भएका भण्डारण गृह तथा पूर्वाधार निगमको विकासमा कोसेढुंगा साबित हुने बताए ।


गण्डकी प्रदेशमा पेट्रोलियम पदार्थको खपत हरेक वर्ष बढ्दो छ । प्रदेशमा हरेक दिन करिब ४ लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थ खपत हुन्छ । हाल १ दिनमा यस प्रदेशमा ३ लाख २० हजार लिटर डिजेल र १ लाख ६० हजार लिटर पेट्रोल बिक्री भइरहेको छ । यस डिपोमा हाल २२ लाख ८० हजार लिटर डिजेल र १० लाख १० हजार लिटर पेट्रोल भण्डारण क्षमता छ । साबिकको ७ सय ६० केएल क्षमताको मट्टीतेल टंकीको पेट्रोल टंकीमा भएको रुपान्तरणले २ दिनका लागि मात्रै पुग्ने पेट्रोलको भण्डारण करिब १० दिनलाई पुग्ने भएको छ ।


यो परियोजनाले काठमाडौं लगायत अन्य क्षेत्रको ब्याकअपका रुपमा पनि काम गर्ने निगमले जनाएको छ । यसले गण्डकी प्रदेशमा पेट्रोलियम वितरणको पूर्वाधार संरचनामा पनि सुधार हुने प्रदेश प्रमुख चित्तरञ्जन दास बताउँछन् ।

भीमपाणि बराल

बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।

तपाईको प्रतिक्रिया