‘माननीय’ कृष्णकुमारी

रवीन्द्र माकाजु २०८० साउन ४ गते १२:५४

जीवन भनेकै कठिन, अविरल यात्रामात्र होइन, संघर्षको अर्काे नाम पनि हो । यस्तै अविरल संघर्ष र लगनशीलताले टेलरिङ पेशाबाट संविधान सभाको सदस्य बन्न पुगिन् कृष्णकुमारी परियार । अहिले पनि उनको जीवनचर्या समाजसेवामा नै बित्छ । अझ विशेष गरी पीडामा परेका नारीलाई उनी मलमपट्टी लगाउँछिन् । उनी असल जनप्रतिनिधि हुन् । जसको जीवनको मूल उद्देश्य भनेकै अरूको सेवा गर्नु हो ।


वि.सं. २०२३ साउन ८ मा जन्मिएकी कृष्णकुमारीको यो यात्रामा उनका बाबु गणेश परियार र हजुरबुबा दिलबहादुर परियारको प्रजातान्त्रिक निष्ठा र लगनशीलताको प्रतिफल पनि मिसिएको छ । ००७ सालको राणा विरोधी आन्दोलनकामात्र होइन; २०१७ साल पुस १ गतेको प्रतिगमन विरुद्ध आन्दोलनमा पनि होमिएका थिए उनका बाबु गणेश । कास्की जिल्लामा दलित समुदायको प्रतिनिधित्व गरेका गणेशले जेल, नेल, यातना, दुःख शिवाय केही पाएनन् ।


तर पनि प्रजातन्त्र प्रतिको मोहका कारण उनली सन्ततिलाई पनि यही बाटो हिँड्न सिकाए । कृष्णकुमारी पनि विद्यार्थी कालदेखि नै नेपाल विद्याथर्थी संघमा आबद्ध भइन् । बाबुको हात समात्दै प्रजातन्त्र प्राप्तिको हरेक आन्दोलनमा भाग लिइन् । २०६२।०६३ सालको आन्दोलनमा पनि उनले सक्रिय भूमिका निभाईन् ।

Advertisement

राणाविरोधी आन्दोलनमा लागेका बाबु गणेशकै पदचाप पछ्याउँदै उनी राजनीति र समाजसेवामा सक्रिय छिन् । उनी पहिलो संविधानसभामा समानुपातिक सभासद् थिइन् ।


गरिबी र अभावमा हुर्किएकी कृष्णकुमारी अरूका घर, आँगनमा टेलरिङ पेशा गर्दै गर्दा दलितको कोटाबाट संविधान सभा सदस्यमा बनिन् । यो खबरले उनका जीवनमा हर्षको सिमा नै भएन । यत्तिमात्र होइन, नेपाली काँग्रेसले कास्कीका हरेक क्षेत्रमा भोग्नु परेको पराजयलाई बिर्साउने काम पनि भयो । छरछिमेकी पनि औधी खुसी भए ।

Advertisement


संविधान सभा सदस्य भएपछि आफूले गरिआएको पेशा छोड्नुपर्ने भयो । राजधानीमा आउने जिल्लाबासीको सेवामा उनी जुट्ने गर्दथिन् । राज्यबाट पाउने सुविधा अपर्याप्त हुँदा पनि कहिल्यै मुख अँध्यारो पारिनन् । संसदमा बोल्ने मौका पाउँदा परियार आफ्ना कुरा खरोसँग राख्ने गर्दथिन् ।


पहिलो कार्यकालमा संविधान बन्न सकेन । उनी भन्छिन्, ‘दलहरु बीच ५ बुँदामा सहमति बन्न नसकेपछि अर्काे पटक चुनाव गराउनु पर्‍यो ।’ पार्टीले आफूलाई अरू बेला नसम्झे पछि जुलुस र आमसभा गर्नुप¥यो भने सम्झने गरेको उनी सुनाउँछिन् ।


‘लौ आम सभा गर्नुपर्‍यो तपाईंले चार सय पाँच सय मान्छे ल्याइदिनु प¥यो’ भन्थे । निकै दुःख गरेर मान्छे बटुल्यो, न त धन्यवाद दिन्छन् न त कार्यक्रममा बोल्न नै,’ उनले दुखेसो सुनाइन् । कृष्णकुमारीले नेपाल महिला संघ कास्की सभापति बनेर धेरै वर्ष सेवा गरेकी छन् । उनी नेपाल दलित संघको पनि सभापति बनिन् । उनले नेपाल तरुण दलको पनि नेतृत्व गरेकी छिन् । विश्व हिन्दू महासंघको केन्द्रीय सदस्य पनि थिइन् । परियार धर्मशीला बुद्ध विहारमा आजीवन सदस्य पनि छिन् ।


थुप्रै सामाजिक संघ, संस्थामा आबद्ध उनको जीवनचर्या बिहान उठ्दादेखि साँझ घर नफर्किञ्जुल समाजसेवामा नै बित्छ । जसका कारण उनलाई धेरैले असली समाजसेवी भन्ने गरेका छन् । व्यक्तिगत इच्छा, आकांक्षा, महत्त्वाकाङ्क्षाभन्दा पनि समाजसेवा रमाउने गरेकी कृष्णकुमारीको स्पष्ट भनाइ छ–राजनीतिक भनेको समाजसेवा हो, व्यापार होइन । अहिले राजनीतिमा व्यापारी पसेका छन् अनि व्यापारीको हातमा राजनीति गएपछि राजनीति कसरी शुद्ध र पवित्र हुन्छ ? अनि जनताले कसरी सेवा पाउन सक्छ ?

रवीन्द्र माकाजु

(माकाजु स्वतन्त्र लेखक हुन् )

तपाईको प्रतिक्रिया