जनआदर्श विद्यालयको अध्यक्षमा कृष्ण

समाधान संवाददाता २०८० साउन ९ गते १५:४०

जोमसोम ।

मुस्ताङको थासाङ २ कोवाङमा अवस्थित एकमात्र कृषि धारतर्फ नुमना विद्यालयको रुपमा सूचीकृत जनआदर्श अमरसिंह माध्यमिक विद्यालय व्यवस्थापन समितिको बैठकले अध्यक्षमा कृष्णकुमार शेरचनलाई चयन गरेको छ ।


मंगलबार भएको विद्यालय व्यवस्थापन समितिको पदाधिकारी तथा समिति चयन गर्न बसेको बैठकले शेरचनलाई आगामी ३ वर्षका लागि व्यवस्थापन समितिको अध्यक्ष चयन गरिएको हो । सामाजिक अभियन्ता उनी निर्माण व्यवसायमा पनि आवद्ध छन् । उनले विद्यालयको समग्र शैक्षिक तथा भौतिक विकासमा क्रियाशील भएर लाग्ने बताए ।

Advertisement


शिक्षा ऐन २०२८ अनुसार जनआदर्श अमरसिंह माध्यमिक विद्यालयको व्यवस्थापन समितिमा ११ जनाको कार्यसमिति रहने सो विद्यालयका प्रधानाध्यापक खेम गुरुङले जानकारी दिए । शिक्षा ऐन अनुसार खुलातर्फ २ जना महिलासहित ४ जना सदस्य विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकले छान्न पाउने व्यवस्था छ ।
सोही प्रावधान अनुसार सो विद्यालयका अभिभावकले खुला महिलातर्फ सन्त विक र बालकुमारी शेरचनलाई चयन गरेका हुन् । अन्य २ सदस्यमा विजन दर्जी र मनोज थापा चयन भए ।


अभिभावकले चयन गरेका ४ व्यवस्थापन सदस्यले विद्यालयका संस्थापक, स्थानीय बुद्धिजीवी, शिक्षाप्रेमी, विद्यालयलाई निरन्तर १० वर्षदेखि सहयोग गर्ने वा विद्यालयलाई १० लाख वा सोभन्दा बढी नगद वा जिन्सी सहयोग गरेका व्यक्तिमध्येबाट विद्यालय व्यवस्थापन समितिले मनोनीत गरेको १ जना महिलासहित २ सदस्य छान्न पाउने प्रावधान छ ।

Advertisement


यही प्रावधान अनुसार अभिभावकबाट चयन भएका ४ सदस्यले १० लाखभन्दा बढी चन्दा दिनेमध्येबाट थासाङ २ कोवाङका स्थानीय कृष्णकुमार शेरचन र शिक्षाप्रेमी मध्येबाट प्रेमकुमारी शेरचनलाई चयन गरेको विद्यालयले जनाएको छ । सदस्यले मनोनित गरेका २ जना सदस्यमध्ये शेरचनलाई अध्यक्ष बनाइएको हो । विद्यालय व्यवस्थापन समितिमा शिक्षकहरुको तर्फबाट शिक्षक गोविन्द दर्जी छन् ।


प्राविधिक र व्यवसायिक विषयमा अध्ययन वा तामिम गराइने माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा जिल्ला स्तरका उद्योग तथा वाणिज्य महासंघका २ प्रतिनिधि सदस्य छान्न पाउने व्यवस्था भए अनुसार २ जना सदस्यपछि सिफारिस गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया