लेखनाथका उद्योगी व्यवसायीलाई चुनावी लाग्यो

भीमपाणि बराल २०८० साउन १० गते १३:१६

लेखनाथ ।
साविकको लेखनाथ नगरपालिका, रुपा गाउँपालिका र मादी गाउँपालिका कार्यक्षेत्र रहेको लेखनाथ उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभा तथा १४ औं महाधिवेशन भदौ २२ र २३ मा हुँदै छ । संघको १४ औं महाधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने भएकाले यस क्षेत्रका उद्योग व्यवसायीलाई चुनावी माहोलले ढपक्कै ढाकेको छ ।


संघको विधानत असार मसान्तसम्म नवीकरण भएका व्यवसायीले मात्र चुनावी प्रक्रियामा भाग लिन पाउने भएकाले यो वर्ष १ हजार ८ सय ६६ व्यवसायी सदस्यहरुले व्यवसायी नेता छान्न पाउने आधिकार पाएका छन् । संघमा गत वर्ष आवद्ध १ हजार ९ सय ३४ व्यवसायीमध्ये यो वर्ष ६८ जनाले नवीकरण नगरेकाले उनीहरुले चुनावमा भाग लिन नपाउने भएका हुन् ।


व्यवसायी सस्थामा राजनीति गर्न हुन्न भने पनि आफ्नो पक्षमा मत तान्न स्वयं व्यवसायी नेताहरु नै राजनीति दलको शरणमा परेर धमाधम सामाजिक सञ्जालमार्फत उमेदवार बन्ने घोषणाको होडवाजीमा लागेका छन् । विशेष गरी व्यवसायीका नेताहरु आफू राजनीतिभन्दा पर बसेर व्यवसायीको हकहितका सवालमा काम गर्ने भन्दै आए पनि भित्रभित्र दलको समर्थन जुटाउन कम्मर कसेर कोठे बैठकदेखि दलका नेताहरुसँग आन्तरिक छलफलमा जुट्दै आएका छन् ।

Advertisement

१ हजार ८ सय ६६ सदस्यहरुले व्यवसायी नेता छान्न पाउने


विगतका निर्वाचनमा व्यवसायीलाई भन्दा पनि राजनितीक दलका नेता तथा कार्यकर्ताहरुलाई उद्योग वाणिज्य संघको चुनाव लाग्ने देखिए पनि यो वर्ष केही भिन्न शैलीमा निर्वाचन हुने संघका एक जिम्मेवार पदाधिकारीले जानकारी दिएका छन् ।

Advertisement


संघका वर्तमान अध्यक्ष छत्रधर आत्रेयको कार्यकाल सकिन अब केही दिनमात्र बाँकी रहँदा आफू लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्ष बन्न तयार रहेको भन्दै वर्तमान वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ, पूर्व महासचिव भरतकुमार अधिकारी, वरिष्ठ उदघोषक नेत्रपाणि बास्तोला, सल्लाहकार दयाराम तिवारी, पूर्व कार्यसमिति सदस्य धीरजकुमार श्रेष्ठ र शैलेन्द्रमोहन भट्टराईले अध्यक्ष पदमा दाबी प्रस्तुत गरेका छन् ।


यसैगरी वरिष्ठ उपाध्यक्षमा अहिलेसम्म वर्तमान प्रथम उपाध्यक्ष राजेन्द्र ओझाको मात्र नाम आएको छ । प्रथम उपाध्यक्षमा वर्तमान द्वितीय उपाध्यक्ष गोपिचन्द्र बास्तोलाको नाम चर्चामा छ । द्वितीय उपाध्यक्षमा वर्तमान महासचिव उपेन्द्रराज सुवेदी (राजु)ले उमेदवारी दिने घोषणा गरेका छन् ।


पदाधिकारीमा सबैजना मिलेर भइरहेको पद भन्दा एक तह माथि जाने प्रचलनलाई यो वर्ष पनि निरन्तरता दिने शैलीको अनुशरण गर्दै, महासचिवमा वर्तमान उपमहासचिव जानुका अधिकारीले आफ्नो उमेदवारी घोषणा गरेकी छन् । उनलाई वर्तमान कार्यसमिति सदस्य जीवन तिवारीले टक्कर दिने गरी चुनावी मैदानमा उत्रिने निधो गरेका छन् ।


संघको उपमहासचिवमा कार्यसमितिका वर्तमान कोषाध्यक्ष भरतराज ओझा, भीमबहादुर नेपाली काइँला र रामजी पौडेलले उम्मेदवारी दिने घोषणा गरेका छन् । कोषाध्यक्ष पदमा कार्यसमितिका सदस्यद्वय पुष्पमणि भण्डारी र ध्रुवबाबु भट्टराईको नाम चर्चामा छ ।


खुला आठ सदस्य पदका लागि नयाँ अनुहारका दीपक अधिकारी, घनश्याम ढुंगाना, बालकृष्ण तिवारी, वीरेन्द्र भुर्तेल, राजन बडगामी, अर्जुन भण्डारी, सूर्यप्रकाश ढुंगाना, सन्तोष सुवेदी, एलपी ढुंगाना, झलक पौडेल, खेम गुरुङ, टीकाराम सापकोटा, भबिन पुन र रोशन अधिकारीले चनावी मैदानमा होमिने निर्णय गरिसकेका छन् । कति व्यवसायीहरु पर्ख र हेरको अवस्थामा समय आएपछि सहमतिका आधारमा घोषणा गर्ने तयारीमा रहेको बुझ्नमा आएको छ ।

भीमपाणि बराल

बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।

तपाईको प्रतिक्रिया