अनुमगनपछि सुध्रिए दमौलीका स्वास्थ्य संस्था

समाधान संवाददाता २०८० साउन १२ गते १०:५३

दमौली ।
तनहुँको व्यास नगरपालिकाले दमौलीमा सञ्चालित निजी स्वास्थ्य संस्थामा गरेको अनुगमन पछि सबै स्वास्थ्य संस्था मापदण्डसहित सञ्चालनमा आएका छन् । असार २० देखि नगरपालिकाले दमौलीका ५ निजी अस्पताल, २७ वटा फार्मेसी र ८ वटा आयुर्वेद फर्मामा अनुगमन गरेको थियो ।


जसमा ७ वटा आयुर्वेद पसलमा सिल गरिएको थियो भने एक निजी अस्पताल र फार्मेसीलाई स्पष्टीकरण माग गरिएको थियो । जस अनुसार सबै निजी स्वास्थ्य संस्था मापदण्ड अनुसार सञ्चालनमा आएका छन् । अनुगमनको क्रममा सिल गरिएको स्पार्क दमौली अस्पतालले वेदव्यास फिजियोथेरापी सेन्टर दर्ता गरी मापदण्डसहित सञ्चालनमा आएको नगरपालिकाको जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङले जानकारी दिईन् ।


त्यस्तै सिल गरिएका अन्य आयुर्वेद पसलले पनि मापदण्ड पुर्‍याएर दर्ता, नवीकरण, लाइसेन्सको नवीकरण गरी सञ्चालनमा आएको उनले बताईन् । मापदण्ड विपरीत क्लिनिकसहित फार्मेसी सञ्चालन गरेको अमोल आयुर्वेदले अनुगमनपछि क्लिनिक बन्द गरी फार्मेसीमात्र सञ्चालन गरेको छ ।

Advertisement


मापदण्ड विपरीत क्लिनिक र प्रयोगशालासहित सञ्चालन गरेको व्यास होमियो फार्मेसीले अहिले फार्मेसीमात्र सञ्चालन गरेको छ । नवीकरण नै नगरी सञ्चालनमा रहेको अवस्थामा फेला परको सिजी जनरल अस्पालतले जरिवानासहित नविकरण गरेको छ भने सबै मापदण्डसहित सञ्चालनमा आएको छ । अन्य निजी अस्पतालले फोहोर मैलाको उचित रुपमा व्यवस्थान गरेको गुरुङले बताईन् ।


अनुगमनपछि नगरभित्रका निजी स्वास्थ्य संस्था मापदण्डसहित सञ्चालनमा आएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले सुनाए । उनले बजार क्षेत्रमा रहेका निजी स्वास्थ्य संस्थालाई सुधार गर्नु र स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नगरवासीसम्म स्वास्थ्य सेवा पुर्‍याउन नगरपालिका लागिपरेको बताए । उनले भने, ‘नगरवासीको स्वास्थ्यप्रति नगरपालिका गम्भीर छ, स्वास्थ्य क्षेत्रका बेथितिलाई सुधार गर्न हामी लागिपरेका छौं ।’

Advertisement

तपाईको प्रतिक्रिया