सगरमाथा विद्यालयमा विद्यार्थीलाई स्वागत

समाधान संवाददाता २०८० साउन १६ गते १०:५२

पोखरा ।
पोखरामा रहेको सगरमाथा माविले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । सोमबार विद्यालयले स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको हो ।


पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका प्रमुख ई निर्मल बरालले विद्यार्थीलाई बधाई तथा शुभकामना दिए । उनले असल र सफल विद्यार्थी निर्माणमा सगरमाथा सदैव अब्बल रहेको सुनाए । विद्यालयले विद्यार्थीका लागि उपयुक्त वातावरण सृजना गर्दै विभिन्न क्षेत्रमा योग्य जनशक्ति उत्पादन गर्न सफल भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पेट तथा छाति रोग विशेषज्ञ डा राजेन्द्र पौडेलले सुनाए ।


पोखरा ९ का अध्यक्ष दीपेन्द्र मर्सानिले आफ्नो वडामा राष्ट्रिय स्तरको विद्यालय रहेकोमा गर्व महसुस हुने सुनाए । विद्यालयका प्रध्यानाध्यापक धनबहादुर थापाले विद्यार्थीले उदेश्य प्राप्त गर्न निरन्तर कडा परिश्रम गर्दै सही मार्गमा हिड्नुपर्ने बताए । सही विद्यालय छानेकोमा गर्व गर्ने दिन आउनेमा विश्वस्त रहन आग्रह गर्दै उनले समयको महत्व बुझेर पढाइमा लाग्न अनुरोध गरे ।

Advertisement


पूर्व विद्यार्थी विवेक श्रेष्ठ र विवेक गुरुङले धैर्य र आत्मविश्वासले सफलता प्राप्त गर्न सकिने अनुभव सुनाए । अनुशासन जीवनको महत्वपूर्ण पाटो भएकाले त्यसलाई ध्यान दिन उनीहरले सुझाए ।

सगरमाथा निकेतन स्कुलका प्रधानाध्यापक दिलीप शर्माले थप व्यवस्थापनका साथ विद्यालय बागलुङ बसपार्कबाट सञ्चालन गर्न लागिएको जानकारी दिए । व्यवस्थापनतर्फ कक्षा ११ र १२ मा दुवैमा ७/७ सेक्सन र विज्ञानतर्फ कक्षा ११ र १२ दुवैमा ४/४ सेक्सनमा पढाइ भइसकेको छ ।

Advertisement


कार्यक्रममा मेडिकल तथा इन्जिनियरिङ विषयमा पूर्ण छात्रवृत्ति पाउन सफल ६ विद्यार्थीलाई सम्मान गरिएको छ । कक्षा ११ र १२ का उत्कृष्ट विद्यार्थी तथा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई ट्रफी, नगद, प्रमाण पत्र र पुरस्कार वितरण गरिएको छ ।


कार्यक्रममा कक्षा १२ को तर्फबाट समीर भण्डारी, आयुष्मा अधिकारी र कक्षा ११ को तर्फबाट सुष्मा भण्डारी र प्रशान्त शर्माले बोलेका थिए । विद्यालयमा लगभग १ हजार विद्यार्थी छन् । २३ वर्षअघि स्थापना भएको यो विद्यालयमा सन् २००० देखि विज्ञान र २००२ देखि व्यवस्थापन विषय अध्यापन भइरहेको छ ।

तपाईको प्रतिक्रिया