विश्वकर्मा समाजद्वारा विद्यार्थीलाई सम्मान

समाधान संवाददाता २०८० साउन १६ गते १३:०६

पोखरा ।
विश्वकर्मा समाज पर्वत, स्याङ्जा, कास्कीले २०७९ सालको एसइई उत्तीर्ण विश्वकर्मा समुदायका छात्रछात्राहरुलाई सम्मान गरेको छ ।


समाजका अध्यक्ष चन्द्रकिशोर गौतमको सभापतित्व र गण्डकी प्रदेशका सांसद गोविन्दबहादुर नेपालीको प्रमुख आतिथ्यतामा कार्यक्रममा विश्वकर्मा समुदायका ५५ जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।


कार्यक्रममा सांसद नेपालीले समाज र राष्ट्र परिवर्तनमा विश्वकर्मा समुदायको ठूलो योगदान रहेको बताए । राजनीतिका लागि दलहरुको स्थापना हुँदै बागलुङका भगवत सर्वजित विश्वकर्माले जातीय आन्दोलन शुरु गरेको उनले स्मरण गरे । मिजार, परियार समुदाय लगायत अन्य समुदायलाई पनि एकसाथ लिई अगाडि बढ्नुपर्ने खाँचो उनले औंल्याए । सांसद नेपालीले एसइइ दिएर उच्च शिक्षा हासिल गर्दै गर्दा समाजमा रहेका विकृति, विसंगतिसँग जुधेका कुरा बिर्सनु नहुने पनि बताए ।

Advertisement


कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राजेश गुरुङले वडाको तर्फबाट अवश्यक तालिम र महिलहरुलाई समय सापेक्ष तालिम उपलब्ध गराउँदै जाने बताए । समाजका सल्लाहकार एवं जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत डिएसपी श्रवणकुमार विश्वकर्माले शिक्षाले नै मानिसलाई सक्षम बनाउने बताउँदै शैक्षिक ज्ञानसँगै व्यावहारिक ज्ञान लिन जरुरी छ भन्दै जीवनउपयोगी प्रशिक्षणमूलक मन्तव्य राखे ।


पत्रकार कमल पौडेलले समाजका गतिविधिहरुले कृयाशीलतालाई अगाडि बढाई परिवर्तनको संवाहक बन्नुपर्ने बताए । स्याङ्जाली सम्पर्क समाजका अध्यक्ष एवं सल्लाहकार तारा गौतमले समाजले छोटो समयमा उत्कृष्ट कार्यक्रम गर्न सकेकोमा बधाई दिँदै हरबखत सहयोग गर्ने सुनाए ।

Advertisement


कार्यक्रममा विश्वकर्मा सेवा समाजका अध्यक्ष भविन्द्र विश्वकर्मा, सिटिइभीटीका प्रशासकीय अधिकृत आशा विश्वकर्मा, फेडो (द.म.संघ) कार्यक्रम संयोजक ईश्वरी विक, समाजका सल्लाहकार रामबहादुर सुनार, अलकापुर टोल विकास संस्थाका अध्यक्ष बेलबहादुर विक, ममिता गौतम स्मृति प्रतिष्ठानका अध्यक्ष ऋषिराम विश्वकर्माले समाजका यस्ता कार्यक्रमहरुले चेतना बढाउनुका साथै राम्रो सन्देश दिने बताए ।


कार्यक्रमका सभापति चन्द्रकिशोर गौतमले समाज स्थापना गर्नुको उद्देश्य, शिक्षा स्वास्थ्य बेरोजगारी जस्ता समस्या र तिनका समाधानका लागि प्रशिक्षण, अन्तक्र्रिया गरी ठोस कदम चाली समुन्नत समाज निर्माण गर्ने लक्ष्य लिएको जानकारी गराए ।


कोषाध्यक्ष धनबहादुर सुनारले आर्थिक नियमावली प्रस्तुत गर्दै सदस्य बिरामी भइ उपचार गर्दा समाजको सहयोग रहने, मृत्यु पर्दा समस्यको परिवारलाई १० हजार रुपैयाँ राहत दिने सुनाए । कार्यक्रमको सञ्चालन सचिव खड्कबहादुर सुनार रसाइलीले गरेका थिए । कार्यक्रममा उपाध्यक्ष श्यामबहादुर रसाइलीले धेरैभन्दा धेरै विद्यार्थी सहभागी गराउने उद्देश्य हुँदाहुँदै पनि मौसमका कारण सम्भव नभएको जनाए ।

तपाईको प्रतिक्रिया