लेखनाथ उद्योग वाणिज्य संघको कोषाध्यक्षमा भण्डारीको आकांक्षा

समाधान संवाददाता २०८० साउन १६ गते १७:०४

लेखनाथ ।
लेखनाथ उद्योग वाणिज्य संघको आसन्न १४ औं महाधिवेशनमा कोषाध्यक्ष पदमा पुष्पमणि भण्डारीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । संघको चुनावको मिति नजिकिँदै गर्दा भण्डारीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उम्मेद्वारी घोषणा गरेका हुन् ।


भण्डारी १३ औं महाधिवेशनमा खुला सदस्यमा विजयी भई एक कार्यकाल कार्यसमिति सदस्यको रुपमा संघमा रहेर कार्य अनुभव बटुलिसकेका छन् । यसपालि युवाहरुको भावनालाई समेट्ने गरी उम्मेदारी दिने सोचमा रहेको उनले बताए ।


लामो समय बैंकिङ करियरको समेत अनुभव बटुलिसकेको र उक्त ज्ञान र अनुभवलाई कोषाध्यक्ष पदमा रहेर भरपुर सदुपयोग गर्न चाहेको उनले बताए । संघमा आर्थिक पारदर्शिता, कोषको वृद्धि, लगानीको सही सदुपयोग लगायतको विषयमा आफूले कुशल भूमिका निर्वाह गर्न सक्ने समेत उनले बताए ।

Advertisement


त्यसबाहेक पनि अहिले सूचनाको युग भएकाले सूचना प्रविधिको सही सदुपयोग गर्दै संघको कार्यशैलीमै व्यापक परिवर्तन ल्याउन सक्ने उनले दाबी गरे । साना व्यवसायीदेखि उद्योगीहरु सबैलाई समेट्दै व्यावसायिक वातावरण तयार पार्ने, उद्यमशीलताको विकास गर्ने, पर्यटनको विकासमा उल्लेख्य पहल गर्ने योजना उनले सुनाए ।


उनले आफू स्पष्ट वक्ता भएको र मुखले राम्रो र ठिक्क पार्ने होइन जतिसक्दो समस्या समाधानको बाटो रोज्न तत्परताका साथ लागि पर्ने बताउँदै लेखनाथ क्षेत्रका उद्योगी/व्यवसायीहरुको हकहितका निमित्त आफ्नो अमूल्य मत दिएर विजयी गराइदिन अनुरोध गरेका छन् ।

Advertisement


संघको अधिवेशन आगामी भदौ २२ र २३ गते हुँदैछ । संघमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्षसहित संस्थागत सदस्य एक, एसोसिएट सदस्य एक, महिला आरक्षण सदस्य २ र खुला ८ सदस्यका लागि निर्वाचन हुनेछ ।

तपाईको प्रतिक्रिया