विद्युत प्राधिरणलाई होटल संघ पोखराको ध्यानाकर्षण

समाधान संवाददाता २०८० साउन १७ गते १५:५१

पोखरा ।
दिनैपिच्छे छोटो अवधिमा पटक पटक विद्युत अवरुद्ध हुने समस्याले होटल व्यवसायी र गण्डकीवासी आजित भएका छन् । यहि समस्यालाई मध्यनजर गर्दै होटल संघ पोखरा नेपालका पदाधिकारीहरुले बुधबार नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय गण्डकी पुगेका छन् ।


संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा प्राधिकरणका प्रमुख जगदीशचन्द्र जोशीलाई विद्युत उपभोक्ताले भोग्नु परेको समस्याका बारे अवगत गराउँदै ध्यानाकर्षण पत्र दिएका थिए । दिनमा होस् या रातमा जुनसुकै बेला विना जानकारी घरिघरि विद्युत अवरुद्ध हुँदा होटल क्षेत्र र सिंगो उपभोक्ताजगत सबैभन्दा बढी मारमा परेको अध्यक्ष सुवेदीले दुःखेसो पोखे ।


‘विद्युत अवरुद्ध हुँदा देशविदेशका पाहुनालाई आवश्यक सेवा उपलब्ध गराउन कठिनाई भएको छ, विद्युत अवरुद्ध हुनको कारणबारे जानकारी लिन प्राधिकरण आएका हौं,’ उनले भने ।

Advertisement


संघका महासचिव राजेन्द्र ढकालले पैसा तिरेर पनि उपभोक्ताले प्राधिकरणको लापरवाही र गैरजिम्मेवारपनाले विद्युत सुविधा सहज रुपमा पाउन नसकेको आरोप लगाए । ‘जुन पिक आवर हुन्छ सोही समयमा बढी बत्ती जाने गरेको छ,’ उनले भने, ‘पानी पर्न थालेपछि त झन् बत्ती गैहाल्छ ।’


घरिघरि विद्युत अवरुद्ध हुँदा यसमा इन्भर्टर वा सोलार उपकरणसँग सम्बन्धित गिरोहको हात त छैन भन्ने आशंका उपभोक्तामा उब्जिएको उनले बताए । बत्ती गएको बेला होटलको लिफ्टमा सेवा लिइरहेका पाहुना विचमै रोकिंदा आतंकित हुने गरेको र गुनासो गर्ने गरेको दुःखेसो पनि उनले सुनाए ।

Advertisement


संघकी सचिव पार्वता पाण्डेले राइस कुकरमा खाना बसालेको केही मिनटमा नै बत्ती जाँदा पुनः अर्को भाँडामा चामल खन्याएर ग्याँसमा खाना पकाउनु पर्ने समस्या भोग्नुपरेको बताइन् । छलफलका क्रममा संघका निवर्तमान अध्यक्ष विकल तुलाचन, प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ, कोषाध्यक्ष नेत्रप्रसाद पौडेल (रमेश), सदस्यहरु पम्फा देवकोटा पहारी, महदत्त भुसाल, सरोज अधिकारी र संघका कार्यालय प्रमुख रामप्रसाद खनालले पनि विद्युत अबरुद्ध हुँदा होटल क्षेत्रले ठूलो क्षति भोग्दै आउनु परेको गुनासो राखेका थिए । विद्युत बढी उतपादन हुने बर्खा याममा लोडसेडिङ जसरी विद्युत जान थालेपछि विद्युत सहज उपोभोगका लागि आउने हिउँद कुर्नुपर्ने अवस्था आएको व्यवसायीले बताए ।


संघका पदाधिकारीको जिज्ञासा र गुनासोपछि बोल्दै प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख जगदीशचन्द्र जोशीले खपत भन्दा धेरै विद्युत उत्पादन भएका कारण अहिलेको समस्या उत्पन्न भएको बताए । उत्पादन धेरै तर खपत कम हुँदा ट्रिप भएर विद्युत अवरुद्ध हुने गरेको दाबी उनले पेश गरे । विद्युत सर्किटको आन्तरिक सेन्सर बढी तात्ने र थप तात्न नदिन ब्रेकरले विद्युत अबरुद्ध गरिदिने प्रक्रियालाई ट्रिपिङ भनिन्छ ।

‘तपाइँहरु अब सकेकसम्म धेरै भन्दा धेरै विद्युत खपत बढाउनुस्, यो समस्या आफैं समाधान भएर जान्छ’, जोशीले होटलकर्मीहरुसँग भनेका थिए । प्रदेशका ११ जिल्ला उक्त प्रादेशिक कार्यालय मातहत रहेको बताउँदै उनले गण्डकी प्रदेशमा अहिले सात सय मेगावाट विद्युत उत्पादन हुँदै आएको तर खपत भने जम्मा ८० मेगावाट हाराहारी मात्र रहेको जानकारी दिए । पोखरामा मात्र यस्तो खपत ४० मेगावाट रहेको तथ्यांक पनि उनले सुनाए ।


विद्युत ट्रिपिङको समस्या देशभरिकै समस्या भएको बताउँदै उनले यही समस्या भएर केन्द्रिय र प्रदेशिक तहहरुमा छानविन समिति बनेर काम पनि भइरहेको जानकारी गराए । समस्या समाधानका लागि प्राधिकरणका विभिन्न ग्रिडहरुसँग पनि समन्वय भइरहेको उनले सुनाए । विजुलीका ट्रान्सफरमर नपुगेर पनि अहिलेको समस्या नआएको बताउँदै उनले ट्रान्सफरमर राख्ने भन्दा पनि मेरो जग्गाबाट त्यसलाई हटाइदिनपर्यो भन्ने ब्यहोराका निवेदन बढी संख्यामा प्राधिकरणलाई प्राप्त हुने गरेको तथ्य उनले बताए । कार्यालय अन्तर्गत २०७८/०७९ सम्ममा चार लाख १८ हजार आठ सय ५१ विद्युत उपभोक्ता रहेको तथ्यांक प्राधिकरणको वेबसाइटमा छ ।

तपाईको प्रतिक्रिया