बुकीमै पुगेर लम्पी स्किनको उपचार

राष्ट्रिय समाचार समिति (रासस) २०८० साउन २१ गते १३:३६

ढोरपाटन ।
यति बेला बागलुङको ढोरपाटनका पशुपालक किसान बुकी क्षेत्रमा छन् । बर्खायाम पशु, चौपायाका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा सयौँ किसान हजारौँ भेँडाबाख्रा र गाईभैँसी लिएर बुकी पुगेका हुन् ।


४ हजार ५ सय मिटरको उचाइमा पर्ने बुकी क्षेत्र यति बेला हरियाली घाँस र पशुचौपायाले ढाकिएको छ । हरेक वर्ष जेठ पहिलो सातादेखि नै निकै उत्साहका साथ बुकी जाने किसान यस वर्ष त्यत्ति उत्साहित छैनन् । किसानले पालेका गाई, भैँसी र गोरुमा लम्पी स्किन संक्रमण भएपछि उनीहरू निराश छन् ।


संक्रमणबाट धेरै पशुचौपाया मरे भने सयौँको संख्यामा बिरामी छन् । पशुको शरीरभरि घाउ हुने र जटिल बन्दै गएपछि पशु मर्ने गरेका छन् । पशुमा संक्रमण बढ्दै गएपछि ढोरपाटन नगरपालिकाले बुकीमै पुगेर पशुको उपचार गरेको छ । बेसीमा संक्रमित भएका पशुचौपायालाई गोठमै प्राविधिक खटाएर संक्रमण नियन्त्रण गरिरहेको छ । ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीसहित पशु प्राविधिकको टोली बुकीमै पुगेर औषधि वितरण तथ खोप लगाएर फर्किएको छ ।

Advertisement

हरियो बुकी अहिले पशुचौपायाले ढाकिएको छ । जेठ पहिलो सातादेखि निकै उत्साहका साथ बुकी जाने किसान यस वर्ष निराश छन् ।


प्राविधिकसहितको टोली बुकीमा पुगेर बिरामी पशुको उपचार गरेपछि किसानसमेत खुसी भएका छन् । बुकी ढोरपाटनभन्दा धेरै टाढा पर्छ । यो याममा सबैभन्दा बढी चौपाया बुकीमा हुने र बढी संक्रमित पनि त्यही भएको हुँदा प्राविधिकको टोली बुकीमा पुगेर पशुचौयापाको उपचार गरी फर्किएको हो । आवश्यक औषधि, खोप र स्प्रे लिएर बुधबार बुकी बुकेको प्राविधिक टोली शुक्रबार साँझमात्रै फर्किएको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए ।

Advertisement


बुकीबाट पशु सङ्क्रमण भई मर्न थालेको खबर पाएपछि आफ्नो नेतृत्वमा प्राविधिक टोली बुकी गएको उनले सुनाए । बुकीमा पुगेर एक हजार बढी पशुचौपायालाई खोप लगाउनाका साथै उपचार गरिएको ज्ञवालीको भनाइ छ । यसले कृषकलाई ठूलो राहत पुगेको छ । बुकी निकै टाढा भए पनि आफूहरू दिनभरि हिँडेर गोठमा पुगेको ज्ञवालीले सुनाए ।


‘लम्पी स्किन निकै खतरनाक रोग रहेछ, धेरै ठाउँमा फैलिएको यो रोग ढोरपाटनको बुकीसम्म पुग्यो, बुकी धेरै टाढा रहेछ, चार हजार पाँच सय मिटरको उचाइको बुकीमा पुगेर तीन हजार मिटरमा ओर्लिएपछि गोठहरू भेटिए, पशुचौपाया खुल्ला ठाउँमा थिए, धेरैमा संक्रमण देखियो’, प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भने, ‘हामीले आवश्यक औषधि, खोप र स्प्रे लगेका थियौँ, प्राविधिकले खोप लगाउनुभयो, उपचार गर्नुभयो, केही औषधि किसानलाई नै छोडेर आएका छौँ, संक्रमण बढ्दै गए नगरपालिकालाई सम्पर्क गर्न भनेका छौँ ।’

टोली बुकीमा दुई दिन बसेर पशुको उपचार गरेको छ । गोठमा बस्दै आएका किसानले पशुको उपचारसँगै त्रिपाल, सोलार लगायतका आवश्यक सामग्री माग गरेको भन्दै त्यसलाई पनि नगरपालिकाले व्यवस्थापन गर्दै जाने ज्ञवालीले प्रतिवद्धता गरे । अहिले नगरपालिकाले १ जना प्रविधिकलाई बुकीमै खटाएको छ ।


हालसम्म ढोरपाटन नगरपालिका भर १ हजार ७ सय बढी पशुचौपाया संक्रमित भएको नगरपालिकाका रोजगार संयोजक हिरालाल खनालले जानकारी दिए । सङ्क्रमितमध्ये १ सयभन्दा बढी चौपाया मरेको खनालको भनाइ छ । सङ्क्रमणपछि मृत्यु हुनेमा अधिकांश गोरु केही गाई, केही भैँसी र बाच्छाबाच्छी छन् । नगरपालिकाले गाउँमा भएका पशुचौपाको पनि प्राविधिक खटाएर सङ्क्रमण नियन्त्रण गरिरहेको छ ।


‘बुकीमा भएका धेरै पशुमा पनि समस्या देखियो, भौगोलिक रुपले टाढा र अफ्ठ्यारो स्थानमा हुँदा किसानले समयमै खबर गर्न सक्नु भएन, यद्यपि केही ढिला भए पनि त्यहाँ पुगेर संक्रमण नियन्त्रण गर्ने प्रयास भएको छ, अहिलेसम्म संक्रमित भएकामध्ये मृत्यु हुनेको सङ्ख्या कम छ’, उनले भने, ‘संक्रमणलाई पूरै नियन्त्रण गर्न गाउँमा भएका पशुचौपायको पनि उपचार भइरहेको छ, जहाँ संक्रमण फैलिएको छ, त्यहाँ नगरपालिकाबाट प्राविधिक गएर उपचार गर्ने खोप लगाउने काम गर्नुभएको छ ।’


उनले बुकीमा भएका किसानलगायत संक्रमण फैलिएको नगरपालिकाको जुनसुकै ठाउँबाट पालिकामा खबर गर्न सूचना गरेको उल्लेख गरे । सङ्क्रमण दर बढी भए पनि मृत्यु दर कम रहेको उनको भनाइ छ । ढोरपाटन नगरपालिकालाई शून्य संक्रमण गराउनका लागि प्राविधिक खटाउने, आवश्यक औषधि, खोपको व्यवस्थापन गर्ने काम भइरहेको खनालले जानकारी दिए ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया