देशभर कहाँ-कहाँ बाढी पहिरो ?

समाधान संवाददाता २०८० साउन २३ गते १४:५७

पोखरा ।

वर्षा, बाढी र पहिरोका कारणले जनजीवन प्रभावित भएको छ । बाढी पहिरोले देशका विभिन्न ठाउँमा जनधनको ठूलो क्षति भएको छ, सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर भएको छ ।


बेनी जोमसोम सडक खण्डमा सधैं सास्ती
बेनी–जोमसोम सडकखण्डमा बर्खामा सधैँ सास्ती हुने गरेको छ । हिउँदमा सुक्खा पहिरो र वर्षामा बाढीपहिरोका कारण ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

Advertisement


बर्खा लागेसँगै दैनिकजसो यातायात अवरुद्ध हुने गरेको छ । वर्षाले गर्दा नियमित रुपमा पहिरो झरेकाले सोझो यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने र मुस्ताङबाट फर्कने पर्यटक, तीर्थयात्री र सवारी साधनहरुलाई समस्या भएको छ ।


बागलुङ
बागलुङमा वर्षाका कारण दुर्गम तथा सुगम क्षेत्रका सडक बन्द भएको डेढ महिना बित्यो । असार पहिलो सातादेखि नै बन्द भएका सडक अहिलेसम्म बन्द नै छन् । वर्षाका कारण पहिराले अवरुद्ध बनेका सडक अब असोज लागेपछि मात्रै खुल्नेछन् ।

Advertisement


भेल र बाढीले सडक अवरुद्ध हुँदै आएका छन् । अव्यवस्थित र वातावरणीय प्रभाव मूल्यांकन बिना निर्माण भएका सडकले जनजीवन नै कष्टकर हुँदै आएको छ ।


तनहुँ
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्ड अवरुद्व भएको छ । व्यास नगरपालिका–१२ स्थित छिर्कने नजिक मंगलबार दिउँसो सडक भासिँदा अवरुद्व भएको हो । सडक अवरुद्व बनेपछि राजमार्ग भएर गुड्ने सवारीसाधन रोकिन पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सडक सञ्चालन गर्न समय लाग्ने देखिएको प्रहरीले जानकारी दिएको छ ।


नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालन
नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । मंगलबार बिहान इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक र टोपेखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । दुवै ठाँउको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।


दुईतर्फी सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयको एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको उनले बताए । नारायणगढ–मुग्लिन सडक खण्ड पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । यो सडकखण्ड राजधानी काठमाडौँ र पोखरा सहरलाई तराईसँग जोड्ने मुख्य राजमार्ग हो ।

अविरल वर्षाले काठमाडौं जलमग्न
अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।


भारी वर्षाका कारणसडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ । उपत्यका भएर बग्ने खोला तथा नदी विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढेकाले बिहान ११ः०० बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बाढीकै कारण काठमाडौँको सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मुलपानी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।


मकवानपुरमा पहिराले घर बगाउँदा एक जनाको मृत्यु, छ जना बेपत्ता
मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे देभानमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित छ जना बेपत्ता भएका छन् ।


जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती–५ सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिराले पुरिएको हो । पहिरामा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतान रहेको प्रहरीले जनाएको छ ।


अक्कल बहादुर, उनका छोरी शिला स्याङतान, ज्वाइँ जीवन पहरी ,नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुली हरिहरपुरका १६ वर्षीया पासाङ पहिरामा पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।


पहिरो खसेपछि घोराही–लमही सडक अवरुद्ध
घोराही–लमही सडकखण्ड अवरुद्ध भएको छ । घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

वर्षात्का कारण गए राति खसेको पहिराका कारण सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए । उनका अनुसार सोमबार पहिरो खसेको ठाउँमा पुुनः आज पनि पहिरो खस्दा सडक अवरुद्ध हुनपुगेको हो ।

सडक सञ्चालनका लागि पहिरो हटाउने काम भइइरहेको छ । सडक अवरुद्ध हुँदा घोराही–लमही सडकखण्ड भएर चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।


बाढीबाट गोदावरीधामका मठमन्दिरमा क्षति
गए रातिको वर्षासँगै कैलालीको गोदावरी नदीमा आएको बाढीले गोदावरीधाम परिसरमा रहेका मठमन्दिरमा क्षति पुर्याएको छ ।

नदीमा आएको बाढीले धाम परिसरमा श्राद्ध गर्न बनाइएको कुण्ड, पिण्डस्थलका साथै श्रीयन्त, विष्णु मन्दिर, शिवमन्दिर, बटुक बस्ने घरलगायतका संरचनामा क्षति पुर्याएको छ । धेरै संरचना बाढीले बगाएर ल्याएको काठ, ढुंगा र बालुवाले पुरिएका छन् । बाढीले धाम परिसरमा जडान गरिएको सोलार बत्तीका साथै नदीको कतिपय भागको तटबन्धनमा पनि क्षति पुर्याएको छ । धाम विकास समितिका पदमराज जोशीले राति नदीमा आएको बाढीले धाम परिसरमा क्षति पुर्याएको छ ।

बाढीपछि जोखिममा परेका बटुक र सन्त महन्तलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय युवाको संयुक्त पहलमा उद्धार गरिएको थियो । बाढीले धाम आसपासमा रहेका पशुचौपाया बगाएको जनाइएको छ ।

सडकमार्गबाट सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला प्रवेश गर्ने मुख्यद्वार र प्रदेशको प्रमुख तीर्थस्थलका रूपमा रहेको यो धामक्षेत्र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिन्छ । यहाँ प्रत्येक वर्ष माघ १ गते लाग्ने मकर सङ्क्रान्ति मेलामा नेपाल तथा भारतका भक्तजन स्नान र पूजा गर्न पुग्ने गर्दछन् ।

धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गतको बुढीतोला सडकखण्ड ठाउँ–ठाउँमा भासिँदा यातायात आवागमन अवरुद्ध भएको छ ।

तपाईको प्रतिक्रिया