पर्वतीय संग्रहालयमा विरुवा रोपियो

समाधान संवाददाता २०८० साउन २४ गते १२:४०

साउन ।
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा लायन्स क्लब अफ पोखरा संस्कारले वृक्षारोपण गरेको छ । मंगलबार राष्ट्रिय भू–संरक्षण दिवसको पूर्वसन्ध्यामा पोखरा १७ रोतो पहिरोस्थित संग्रहालय परिसरमा विरुवा रोपिएको हो ।


लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका द्वितीय भाइस गभर्नर एकनारायण शर्माले कार्यक्रम सुरुआत गरे । उनले कार्यक्रम संयोजक गोकर्ण सुवेदीलाई विरुवा हस्तान्तरण गर्दै क्लबले सामाजिक क्षेत्रमा गर्दै आएका काम उल्लेखनीय भएको जनाए । रोपिएका विरुवाको संरक्षण सबैभन्दा महत्वपूर्ण भएकाले त्यसतर्फ पनि ध्यान दिन उनले आग्रह गरे ।


संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले वातावरण संरक्षणमा वृक्षारोपणको अहं महत्व रहेको जनाइन् । उनले वृक्ष र मानवबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै क्लबले संग्रहालय परिसरको पर्यावरण हरियाली बनाउनका लागि योगदान गरेकोमा धन्यवाद दिइन् ।

Advertisement


कार्यक्रममा रिजन चेयर पर्सन कृष्ण तिमिल्सिना, डिपार्टमेन्ट चिफ झम्कनाथ पोखरेल लगायतले क्लबले शिक्षा, स्वास्थ्य र मानवीय क्षेत्रमा पुर्‍याउँदै आएका योगदानको चर्चा गरे । क्लब अध्यक्ष नन्दप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष श्यामकृष्ण रेग्मी, सचिव बलराम शर्माले लगायतले बोलेका थिए ।


नेपालमा हरेक वर्ष साउन २४ गते राष्ट्रिय भू संरक्षण दिवस मनाउने गरिएको छ । बाढी, पहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्‍याउन एवं भूक्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न २०३१ साउन २४ गते भू तथा जलाधार संरक्षण विभाग स्थापना भएको सम्झनामा यो दिवस मनाइन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया