युवालाई सीपमुलक तालिम

समाधान संवाददाता २०८० साउन २४ गते १६:१०

पोखरा ।
असल छिमेकी नेपाल पोखराले युवालाई सीप मुलक तालिम दिएको छ । युवा लक्षित सीप विकास तथा क्षमता अभिबृद्धि परियोजना अन्तर्गत १ सय ५५ युवालाई तालिम प्रदान गरिएको संस्थाले जनाएको छ । विभिन्न दातृनिकायको सहयोग तथा स्थानीय सरकारको समन्वयमा कास्कीको पोखरा महानगरपालिका, पर्वतको कुश्मा नगरपालिका र पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा यूवा लक्षित सीप विकास र क्षमता अभिवृद्धि परियोजना सम्पन्न गरेको छ ।


परियोजना अन्तर्गत ६० जनालाई बेसिक प्लम्बिङ, ६० जनालाई बेसिक हाउस बायरिङ, २० जनालाई कमर्सियल कुकिङ र १५ जनालाई मोबाइल रिपेयरिङ गरी १ सय ५५ जनालाई तालिम प्रदान गरिएको छ । तालिमसँगै प्रस्तावना लेखन र उद्यमशीलता विकास तालिम, तालिमसँग सम्बन्धित आधारभूत सामाग्रीहरुको वितरण र राष्ट्रिय सीप परिक्षण समितिबाट तह एकको परिक्षा सञ्चालन गरिएको छ । तालिम पछि नयाँ उद्यम गर्ने १५ जनालाई व्यवसाय दर्ताको प्रक्रिया मार्फत व्यवसाय प्रारम्भ गरेकाहरुलाई संस्थाले विउँ पुंजी प्रदान गरेको छ ।


तालिम सम्पन्न गरेका सहभागी मध्ये ५० प्रतिशतलाई सिकेको सीप प्रयोग गरी रोजगार वा व्यवसाय गराउने लक्ष्य अनुसार तालिम सकेका सबै सहभागीलाई हरेक महिना छलफल बैठक, अनुगमन तथा मेन्टोरिङ कार्यलाई निरन्तरता दिएको थियो । एक वर्षे परियोजनाको अन्त्यमा अन्तवार्ता तथा कार्यक्षेत्रको अनुगमन मार्फत गरिएको प्रभाव मुल्यांकनको तथ्यांक अनुसार ६८ प्रतिशत सहभागीले रोजगार वा व्यवसाय गरेका छन् । रोजगार वा व्यवसायमा सहभागी मध्ये ५८ प्रतिशत सहभागीको आर्थिक वृद्धि ३१ प्रतिशत भन्दा बढी रहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया