चाेरिएकाे डिजेलसहितकाे ट्यांकर पक्राउ

डिजेल चोरीमा निगम गण्डकी प्रदेश प्रमुखकै संलग्नता !

समाधान संवाददाता २०८० साउन २६ गते १७:५३

(बरामद गरिएको ३ हजार लिटर डिजलको मूल्य करिब ४ लाख ५९ हजार रुपैयाँ)

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालयबाट डिजेल चोरी गरी बिक्रीका लागि लैजाँदै गरेको ट्यांकर नियन्त्रणमा लिएको छ ।

निगमको डिपोबाट डिजेल लोड गरी पश्चिमाञ्चल पेट्रोल पम्पमा लैजाँदै गरेको ग२ख ८३६ नम्बरको ट्यांकर कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेको आदेशमा नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रशासक कार्यालयको नेतृत्वले ट्यांकरलाई नियन्त्रण लिएको प्रशासनले जनाएको छ ।

Advertisement

१२ हजार लिटर क्षमताको उक्त ट्यांकरमा ३ हजार लिटर थप इन्धन चोरी गरी बिक्री गर्न पठाइएको थियो । पक्राउ गरिएको ट्यांकर डाँडाकोनाक चौकीमा राखिएको र जिल्ला प्रशासन, नापतौल कार्यालय र आयल निगमले संयुक्त रुपमा नापजाँच गर्दा ३ हजार लिटर बढी इन्धन भेटिएको कास्कीका सिडिओ बासुदेव घिमिरेले जानकारी दिए ।

थप अनुसन्धानका लागि अख्तियारमा पठाएको प्रजिअ घिमिरेले बताए । ‘हामीले घटनाको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएका छौं । त्यतै अनुसन्धान हुन्छ,’ घिमिरेले भने । निगम गण्डकी प्रदेशका कार्यालय प्रमुख चितरञ्जन दासमाथि डिपोका लागि तोकिएको नोक्सानी लक्ष्यको दुरुपयोग गरी इन्धन चोरी गर्ने गरेको आरोप लागेको छ । दास प्रदेश प्रमुख बनेपछि गण्डकीमा निगमले अघिल्लो २ आर्थिक वर्षभन्दा दोब्बर नोक्सानी गराइएको निगम केन्द्रीय कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

Advertisement

डिपोबाट बिक्री हुने इन्धनको नापजाँच गर्न (डिप लिने) कार्यालयका अपरेसन इन्चार्ज परशुराम अधिकारीलाई नदिई दासले आफै गर्ने गरेका थिए । बिहीबार नियन्त्रण गरिएको ट्यांकरको चलान, बिल र गेटपास समेत दासले आफै सही गरेर पठाएका थिए । बिहीबार बरामद गरिएको ३ हजार लिटर डिजलको मूल्य करिब ४ लाख ५९ हजार रुपैयाँ छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरु ढकालले निगमका प्रदेश कार्यालय प्रमुख चितरञ्जन दास प्रशासनको सम्पर्कमा नभएको जानकारी दिए । ‘घटना हेर्दा निगमका कर्मचारीको संलग्नताबिना काम नभएको देखिन्छ, कर्मचारीको पनि संलग्नता छ, अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘कार्यालय प्रमुख प्रशासनको सम्पर्कमा हुनुहुन्न ।’

निगम गण्डकी प्रदेशका कार्यालयका सूचना अधिकारी श्रीधर लामिछानेले कार्यालय प्रमुख कार्यालयको सम्पर्कमा नरहेको प्रतिक्रिया दिए । ‘ट्यांकर नियन्त्रणमा लिएको भन्ने मिडियाबाट थाहा पायौं, शुक्रबार बिहान प्रशासनका सरहरु आएका कागजपत्र लिएर जानुभो, नियमित कामहरु चलिरहेको छ,’ उनले भने, ‘हिजो (बिहीबार) देखि कार्यालय प्रमुख हाम्रो सम्पर्कमा हुनुहुन्न ।’

तपाईको प्रतिक्रिया