बदनाम सालिकहरु !

रवीन्द्र माकाजु २०८० साउन ३१ गते १२:५९

अहिले पोखरामा अवस्थित सालिकहरु बदनाम भएका छन् । यी सालिकका कारण मुलुकमा जातिय, धार्मिक युद्ध हुने हो कि भनेर आम नागरिक चिन्तित छन् । दिनहुँजसो सामाजिक सञ्जालमा देखिएका जातीय द्वन्द्वले कतै नेपाललाई पनि सल्काउने पो हुन् कि भनेर चिन्तित छन् पोखरेली ।


भनिन्छ, द्वन्द्व र विषमता, घृणा र असमानता फैलाउन नै उद्यत छन्– यहाँका सालिकहरु ! एकदमै मौन र शान्त ध्यानावस्थामा रहेका जनतालाई उत्तेजित र आन्दोलित गराउँदैछन् यहाँका महान सालिकहरु ! कोही यस्ता सालिकहरु मध्यरातमा गाड्न उद्यत छन् कोही मध्ये रातमा फाल्न ! यस्ता खेल चलिरहेछन् यहाँ अविरल र निरन्तर !


यहाँ सालिकहरु चोकचोकमा ठड्याइएका छन् । कवि भूपीले भने जस्तै तिनलाई यहाँ न कसैले पुज्छ, न कसैले ढोग्छ । काठमाडौंको टुँडिखेलमा ४ कुना सजाइएका घोडा सवार राणा प्रधानमन्त्रीका सालिक झैं सजिएका छन् यहाँका हरेक चोकहरूमा मान्छेहरू यही चोकका कारण गौरवान्वित छन्, आफूलाई धन्यधन्य सम्झेका छन् । उनीहरुका विचारमा यस्तै चोकका कारण आफ्नो इतिहास सुरक्षित राखेका छन् ।

Advertisement

आज धर्तीमा जसका सालिक छैनन् के तिनका कुनै मूल्य, मान्यता र दर्शन छैनन् ? के सालिकको मात्रै मूल्य हुने हो ?


सालिकहरु आदर्श, निष्ठा, त्यागका प्रतीक बन्नुभन्दा पनि जातीयताका पक्षधर छन् जस्तै लाग्छ यहाँका सालिकहरु ! तसर्थ यी र यस्ता कारणले सालिकहरु बदनाम भएका हुन् । यिनीहरुले जातियतालाई, साम्प्रदायिकतालाई मलजल हालिरहेका छन् । सिंगो राष्ट्र र राष्ट्रियतालाई खिल्ली उडाइरहेका छन् । यहाँका आमनागरिकहरु यस्तै सालिक स्थापना र विस्थापन गर्न क्रियाशील छन्, सक्रिय छन् । लाग्छ– उनीहरुको जन्म नै यसैका निम्ति भएको हो । उनीहरु जीवनको लक्ष्य यसैलाई नै ठान्छन् । यही सालिकमा उनीहरु आफ्नो प्राण देख्छन्, अस्तित्व देख्छन् । तिनका हरेक श्वास, प्रश्वास यही लक्ष्यका लागि भएको ठान्छन् ।

Advertisement


अहिले मान्छेहरू यिनै महापुरुष सालिककै पछि लागेका छन् । यही बदनाम शलिकले समाजमा चर्चा, परिचर्चा पाएको छ । पत्रपत्रिका, सञ्चार माध्यममा प्रमुखता पाएको छ । हरेक नागरिकमा कौतुहल छाएको छ, अब के हुन्छ ? यही सालिकका कारण राजनीतिक माहोल तातेको छ । कुन पार्टीले के निर्णय लिन्छ ? सरकार बन्छ कि ढल्छ ? पहिले दन्त्यकथामा मूर्तिमा प्राण हुन्छ भन्ने गरिन्थ्यो । वास्तवमा यो भनाई पूर्णतया सत्य लाग्छ, बिना प्राणप्रतिष्ठा ईश्वर, ईश्वर बन्दैन भने बिना प्राण प्रतिष्ठा कसरी सालिक निर्माण हुन सक्छ ? कसरी तिनको अस्तित्व हुन सक्छ ?


सालिक केवल एक धातु होइन यो अष्टधातु हो । त्यसैले यस्ता सालिककले जे पनि गर्न सक्छ, मान्छे मान्छे लड्ने र लडाउने मात्र होइन, भारतको मणिपुरमा जस्तै मुलुकलाई नै सल्काउन सक्छ । तसर्थ कसैले पनि यस्ता सालिकको अवमूल्यण गर्ने गल्ती गर्नु हुँदैन । मान्छेले सालिकको मूल्य मान्यता, आदर्श दर्शन शिक्षा र सन्देश नजान्दा नै तिनीहरुको अवमूल्यन भएको हो, बदनाम भएको हो । बदनाम गर्न चाहेर बदनाम भएको हो । अपमान गरेर अपमानित भएका हुन् । सम्मान गर्न जाने सम्मानित पनि होलान् तर जे होस् आज यी सालिकहरु चोक, चोकमा आज रोएर बसेका छन् । उनीहरु कुण्ठित भएर बसेका छन् । अपमानित, घृणित र तिरस्कृत भएर बसेका छन् यहाँका सालिक ।


यति बेला मान्छेमा सालिक मोह ह्वात्तै बढेको छ । बिना शरीर मान्छेको अस्तित्व नरहे जस्तै बिना सालिक मूल्य मान्यता र आदर्श रहन्न भन्ने भ्रममा मान्छे बाँचेका छन् । आज धर्तीमा जसका सालिक छैनन् के तिनका कुनै मूल्य, मान्यता र दर्शन छैनन् ? के सालिकको मात्रै मूल्य हुने हो ? मान्छेहरू आज साञ्चै नै भ्रमित छन्, यसो नभएको भए मान्छेहरू किन यति मोहित छन् सालिकका प्रति ? सालिकलाई सर्वश्व ठानेर आफ्ना जिउज्यान दिन किन हत्तारिएका छन्, आतुर छन् ?


जसका सालिक बनाइए के तिनले समाजमा द्वन्द्व र युद्ध, घृणा र उत्माद फैलाउन चाहेका थिए ? यदी यसो हो भने यस्ता सालिकहरुलाई धुलोपिठो पार्नुपर्छ । तिनका नामनिशाना मेट्नुपर्छ । तिनीहरु त मरेर गए गए तर आज हामी जो जिवित छौ ती सालिकका नाममा किन लड्ने ? किन आपसमा भिड्ने ? के यस्तै दिन देख्नका लागि हामीले सालिक निर्माण गरेका थियौ ?
एकातिर सालिकका नाममा कोही कुटिल राजनिति गर्ने गरेका छन् भने कसैकसैले मिठा सपनाहरु बाड्ने गरेका छन् । वास्तवमा मान्छे वचनको पक्का बन्न जानेको भए समस्या नै कहाँ हुन्छ र ? यदि कुनै कार्य गर्न सकिन्न भने त्यस्तो आश्वासन या सम्झौता गर्नुभन्दा नगर्नु नै राम्रो हुन्छ कि ?

रवीन्द्र माकाजु

(माकाजु स्वतन्त्र लेखक हुन् )

तपाईको प्रतिक्रिया