राजनीतिमा राष्ट्रनायकको उद्घोष

मदन भण्डारी २०८० भदौ १ गते १२:१९

‘पापको डर रतिभर नराखी पहिले तैँलै बुहारी हरिस्
त्यै पाप अहिले प्रकट हुन गयो, त्यै पापले तँ मरिस् !’

अन्त्य कालका बालीलाई रामले यसरी सम्झाएका थिए । नेपाली राजनीतिमा राम त देखापरिरहेका छैनन्, केही थान बालीले उधुम मच्चाएका छन् । ०६३ चैत ७ को गौर हत्याकाण्डमा प्रतिमा खातुन, रेखा परियार, उषा थापा, सरस्वती उप्रेती लगायतका झण्डै तीन दर्जन माओवादी कार्यकर्ता स्तन काटिएर, योनी र मलद्वारमा लट्ठी कोचिएर, जिउँदै जलाइएर मारिए । प्रधानमन्त्री प्रचण्ड अहिले उनीहरूलाई न्याय दिने भन्दै छन् । गौर हत्याकाण्डको कुरो कोट्टिदा उपेन्द्र यादव अत्तालिए ।


गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुनकाण्डका नाइकेहरू जुनसुकै टार वा कोटको भए पनि नछोड्ने बाचा, कसम खाए । ०८०/४/२१ मा सर्वोच्चका न्यायाधीशद्वय (अनिलकुमार सिन्हा र कुमार चुँडाल) ले जतिसुकै उच्च ओहोदाका अपराधीलाई पनि पक्राउ गर्न सकिने वैधानिक आधार प्रदान गरे । सर्वोच्चको यो फैसलालाई नेपालको कानुनी इतिहासमा ‘ल्यान्डमार्क डिसिजन’ भन्न सकिन्छ । बाबुराम भट्टराई र माधव नेपालको छटपटी, आरजु र मञ्जुको आतस जनताको एउटा पंक्तिका लागि रमाइलो पक्ष भयो । कृष्णबहादुर, नन्दबहादुर, वर्षमान पुन सुन काण्डमा डामिए । गृहमन्त्री–प्रधानमन्त्री यहीँ चिप्लिए ।


मुख्य अपराधीलाई बचाउने, विरोधीलाई फसाउने नियत छ््यांगै भयो । साउन २४ गते मिडयामा बोल्दै मुमाराम खनालले ‘प्रचण्ड सर्वाधिक भ्रष्टाचारी, माओवादी स्कुलिङ नै आपराधिक भनिदिए । २७ गते गृहमन्त्रीको संसदको अभिव्यक्तिले त्यही तथ्यलाई पुनर्पुष्टि ग¥यो । रोस्टममा उभिएर गृहमन्त्रीले नेपालको सौन्दर्य बखाने । त्यो त कवि–गीतकारले कलापूर्ण पाराले भन्दै आएका थिए, ‘लहरा–पहरा–छहराको देश….!’

Advertisement


उनले कुरा अन्तै मोडे । मानौँ, प्रतिपक्षी सांसद सबै लाटासोझा छन् । त्यहाँ ज्ञानेन्द्र शाही, सुनील प्रजापति, पदम गिरी र महेश बर्तौला जस्ता युवा छन्, जो अ गर्दा अलङ्कार बुझ्छन् भन्ने कुराको भेउ गृहमन्त्रीले पाएनन् । माक्र्स र माओका केही भनाइ घोकेका नक्कली माओवादी सांस्कृतिक रूपमा साह्रै गरीब छन् । दुर्गमका जनतालाई अकूत लूटको थोथोरै पैसा बाँड्दै अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको नाराले लट्ठ्याउन पल्केकाहरू अझै सहरी क्षेत्रका जनताको भोटको भरोसा गर्दै कार्यकर्तामा बहुमत ल्याउने विश्वास छर्दै छन् ।


पार्टी अस्तवलका बुद्धिजीवी र प्राज्ञहरूले भने, ‘सक्किने अवस्थाको माओवादी सच्चिने भयो, भ्रष्टाचारका सबै फाइल खुल्ने भए !’ भ्रष्टाचारले आक्रान्त जनताले कान ठाडो पारेर आँखा च्यात्दै प्रचण्डलाई हेरे । उपेन्द्र यादव थरर्र कामे । माधव नेपालले विदेशी प्रभु गुहारे । विप्लव प्रचण्डकै शरणमा गए । कालो अनुहार नीलो पार्दै स्याल जस्ता शेर आफ्नी श्रीमतीको अनुहार नियाल्न थाले । सबै नेताद्वारा युवराजका रूपमा राखिएका छोरालाई बालीले रामको जिम्मामा अँगद छाडेझैँ प्रचण्डको जिम्मामा छाड्ने तयारी गर्न थाले । प्रचण्ड जनयुद्ध कालका सर्वोच्च कमान्डर जस्तै देखिए । अपशोच, सत्ता मातकाहरूले सुनील शर्मालाई एक रात थुन्नु कति महंगो हुन सक्छ भन्ने सोँचेनन् ।

Advertisement


३२ सिटे माओवादीले ३ गुना ठूलो कांग्रेस र एमाले दुवैलाई लट्पट्याउन खोज्यो, सम्भव भएन । प्रचण्ड टुप्पाबाट फेदैमा बजारिने अवस्थामा पुगे । लाक्र्याल लामाको खोजलाई पार्टीका बुद्धिजीवीले भास्को डिगामाको अनुसन्धान भने पनि मिडिया यस्ता नेताका अनुहारलाई अंग्रेजी शब्दले बखान्छ । जनता प्रचण्डको हात हल्लाई र टोपबहादुरको विजयी मुस्कानलाई सहजै खुट्याउँछन् ।


सर्पको खुट्टा सर्पले देख्छ । सुनील शर्माले गिरीजा–प्रचण्डलाई मिलाउने सानोतिनो भूमिका खेलिसकेका रहेछन् । उनी अहिले माओवादीलाई पछारेर कांग्रेस–एमालेको सरकार बनाउने दाउमा लागेका छन् । यसो हुँदा साना दलहरू जनपक्षीय काम गर्न बाध्य हुने छन् । सुनील शर्माले केपी शर्माको आशीर्वाद प्राप्त गरेछन् । कुरा सिधै छ, माओवादीलाई एमालेमा विलय गराईसकेपछि प्रचण्डले उत्पात हतारो नदेखाएका भए आज प्रचण्ड विशाल नेकपाका अध्यक्ष्य हुने थिए ।


मुखले ओलीलाई पूरा कार्यकालका प्रधानमन्त्री राख्ने भन्दै दुुदुई ठाउँबाट चुनाव हारेका वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन प्रचण्डले बोके । माकुनेलाई च्यापेर केपीलाई पार्टीबाटै निकालेको भन्दै हिँडे । एमसिसीपछि फेरि केपीबाट प्राप्त प्रधामन्त्रीको जागिरमा बसेर कांग्रेसीलाई राष्ट्रपति जिताए । घोर अनैतिक र अवैधानिक ढंगले नागरिकता विधेयक पास गराए । उनको पूजाआजा मोदी निर्देशनभन्दा अर्को ठहरिएन ।


सुन काण्डमा उच्चस्तरीय छानबिन समितिको माग र एमालेको संसद अवरोधमा केही तुक अवश्य छ । सिबिआइको कामलाई कायमै राखेर उच्चस्तरीय समिति बनाइँदा कहीँ, कतै, केही बिग्रिने देखिँदैन । यसमा सरकारको धिङ्न्याइँ सत्ता गठबन्धन भित्रको कचिंगल मात्र मूल कारण देखिन्छ । कांग्रेस आर्जु वा शेखरमध्ये कसलाई नेतृत्वमा अघि सार्दा छवि जोगाउन सकिएला भन्ने ध्याउन्नमा छ, मध्यमार्गीहरू यता टाल्छन्, उता भत्किन्छ ।

विपी र मातृकाको यस्तै लडाइँमा तात्कानीन ठूल्ठूला नेताहरू राजा महेन्द्रको चरणमा पुगेका थिए । अहिले पनि विपीवादी हौँ भन्नेहरु खुलेरै राजसंस्थाको वकालत गरिरहेका छन् । पृथ्वीनारायण शाहको फोटो बोकेर शालिक ठड्याउन खोज्नेहरू असफल हृुने निश्चित छ । अविश्वसनीयको भीडले घेरिएर बूढा राजा ज्ञानेन्द्र यता न उताको अवस्थामा अनिर्णयका बन्दी बनेका छन् ।


ओँठे राजावादीहरूले पृथ्वीनारायण शाहलाई राष्ट्रनायक भन्ने घोक हालिरहेकै बेला सुनील शर्माले केपी ओलीलाई राष्ट्र नायकको पगरी गुँथाए । प्रचण्डलाई क्रान्तिनायक भन्दै लूट मच्चाउनेका मुखमा सायद यो थप्पड थियो । कमरेडहरू निकै तिल्मिलाए । ती संसदमा सुनीलले हाम्रो नेतालाई आतङ्कारी भने भन्दै उफ्रिए । सरकार सत्ता पक्षको, संसद प्रतिपक्षको भन्ने भनाइलाई भुसुक्कै बिर्सिए । बरु माफिया भनिने सुनीलमा कृतज्ञता देखियो । दुःखको साथी नै साथी हो, सुनीलमा धन्यवादी चरित्र देखियो, कृतज्ञता देखियो । भलपैरोले बिचल्ली, अड्डा, अदालतमा घूस नदिई कुनै काम नहुने अवस्थाका जनताले सुनीललाई धन्यवादै दिए । लामो समयको संसद अवरोधले व्यवस्थै ढल्न सक्छ, यसो हुँदा दह्रो संगठनको एमालेलाई खासै फरक पर्दैन; कन्तबिजोक हुने त कांग्रेस, माओवादीकै हो ।


बुहारी हरण गर्ने बालीको कारुणिक अन्त्य निश्चित छ । बाँदरमुढेका अपराधीहरू, मान्छेलाई ज्युँदै इँटाभट्टामा डढाउनेहरू, टीकापुरका हत्याराहरू, नेपालमा मणिपुरको पीडा निम्त्याउन खोज्नेहरू आफूले खनेको खाल्डोमा आफैं पुरिन्छन् । शीतल पाण्डेले बोल्न बिराएकै हुन् । यदा यदा हि धर्मस्य….भनिन्छ । नेपालमा राष्ट्रनायकको उदय अत्यावश्यक छ । वान् मिस गेम फिनिस्…! नेपाली राजनीतिको फुलबल गेममा सबै दलका नेताले पेनाल्टी किक हान्ने बराबरी मौका पाएका छन् । सिपाही नेपोलियनले झैँ भूइँको श्रीपेच कसैले पनि तरवारले टिपेर टाउकोमा लगाउन सक्छ । सुनील शर्माको उद्घोषणले यो सत्यलाई उद्घाटित गरेको छ

मदन भण्डारी

साहित्यकार भण्डारी राजनीतिक क्षेत्रमा पनि विश्लेषणात्मक कलम चलाउँछन् 

तपाईको प्रतिक्रिया