एमाले गण्डकी अधिवेशन: कोको छन् अध्यक्षका दाबेदार ?

रिखिराम जिसी २०८० भदौ ६ गते १०:२९

पोखरा ।
देश संघीयतामा गएपछि बनेका प्रदेश संरचनामा एमालेले केन्द्रबाटै पदाधिकारी तोकेर काम चलाययो । अब पहिलो पटक नेकपा एमालेका प्रदेश कमिटी अधिवेशनहरु हुँदै छन् । एमालेले सबै प्रदेशको अधिवेशनको मिति तय गरी तयारी सुरु गरेको छ ।


गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशन आउँदो असोज १५ र १६ गते हुँदै छ । अधिवेशनको मिति नजिकिएसँगै अध्यक्ष को बन्ने भन्ने सरगर्मी बढेको छ । नेताहरुले केन्द्रीय नेतासँग लबिइङ गर्न सुरु गरेका छन् । प्रदेश, जिल्ला तहका नेताहरु केन्द्रीय नेतालाई भेटेर आफू अनुकूल माहोल बनाउने दौडमा छन् ।


अहिलेका अध्यक्ष नवराज शर्मादेखि उपाध्यक्ष मोहन रेग्मी, सचिव धनञ्जय दवाडीसम्मलाई सम्भावित अध्यक्षका रुपमा हेरिएको छ । उपसचिव रश्मि आचार्य र विभिन्न जिल्लाका नेताहरु पनि अध्यक्षका दाबेदार छन् ।

Advertisement


एमालेका केही नेता भने हालका अध्यक्ष शर्माको ट्रायल सकिएको भन्दै उनी अध्यक्ष दोहोरिने सम्भावना कम रहेको बताउँछन् । ‘उहाँ (नवराज) ट्रायल पिरियडमा हुनुहुन्थ्यो । उहाँ निष्ठावान र इमान्दार नेता भए पनि लिडरसिप गर्न सक्ने क्षमता रहेनछ । त्यस कारण पनि उहाँ दोहोरिने सम्भावना एकदमै कम छ,’ एक नेताले भने । नवराजले पार्टीलाई चलायमान बनाउन नसकेको उनीहरुको आरोप छ ।


अर्काेतर्फ केही नेताहरु नवराजकै नेतृत्व दोहोेरिने सक्ने सम्भावना अधिक रहेको बताउँछन् । एक नेताले भने, ‘नवराजजीकै नेतृत्वको कमिटी दोहोरिने जस्तो देखिन्छ । कमिटी समावेशी नभएकाले १/२ जना साटफेर हुने सम्भावना देखिन्छ । अरु समिति उही नै रहन सक्छ ।’

Advertisement


अध्यक्ष शर्माले आगामी निर्वाचनमा अध्यक्षमा स्वाभाविक दाबी रहने सुनाए । ‘साथीहरुको विश्वास जित्न सकियो भने एक कार्यकाल काम गरौं कि भन्ने छ,’ उनले भने, ‘अध्यक्षमा मेरो स्वभाविक रुपमा दाबी रहन्छ ।’


अहिले जजसले जे बोले पनि केन्द्रबाट निर्देशन आयो भने सोही अनुसार चल्नुपर्ने बाध्यता आइपर्ने नेताहरु बताउँछन् । गण्डकीका २ फ्याक्टरले यहाँ प्रभाव पार्ने देखिन्छ । बाहिर नदेखिए पनि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य एवं गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारीबीचको सम्बन्ध उनीहरुले मुखले भन्नेजस्तो मित्रवत् छैन । त्यस कारण पनि गण्डकीमा यी २ पक्षबीच प्रतिपर्धा हुने आकलन छ ।


पार्टी पंक्तिमा अधिकारीभन्दा उपमहासचिव गुरुङ बलिया देखिन्छन् । हालका अध्यक्ष शर्मा, उपाध्यक्ष रेग्मी, सचिव दवाडी गुरुङनिकट मानिन्छन् । योबाहेक किरण गुरुङ, एमाले सचिव पद्मा अर्याल र एमाले सचिव तथा गण्डकी इन्चार्ज गोकर्ण विष्टको भूमिकाले पनि अध्यक्ष को बन्ने भन्नेबारेमा प्रभाव पर्न सक्छ ।


आंकाक्षा व्यक्त गर्ने समय आइनसकेको सचिव दवाडीको प्रतिक्रिया छ । ‘मितिमात्रै तय गरिएको छ । अधिवेशनका कामहरु गर्न बाँकी छ । अध्यक्षको आकांक्षा राख्न त सबैले पाउँछन् । अध्यक्ष, उपाध्यक्ष, सचिवले आकांक्षा व्यक्त गर्नु स्वाभाविक नै हो नि । अहिले आकांक्षा व्यक्त गर्ने समय भएको छैन,’ उनी भन्छन् ।


५ वटा प्रदेशको अधिवेशनपछि गण्डकीको अधिवेशन छ । ५ प्रदेशमा कुन प्रकारले अधिवेशन हुन्छ, त्यसले पनि गण्डकीको अधिवेशनलाई प्रभाव पार्ने देखिन्छ । अघिल्ला प्रदेशमा सहमतिमा नेतृत्व चुनिए गण्डकीमा पनि सर्वसहमतिमै नेतृत्व चुन्न दबाब पर्न सक्छ ।


एमाले केन्द्रीय सदस्य मायानाथ अधिकारी र कृष्ण थापा पनि सम्भावित गण्डकी अध्यक्षका रुपमा देखिन्छ । तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै केन्द्रीय सदस्यलाई प्रदेशमा नलैजाने भनेपछि उनीहरु प्रदेश कमिटी अध्यक्ष बन्ने सम्भावना न्यून रहेको एक नेताले बताए । अधिकारी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र थापा स्थायी कमिटी सदस्य खगराज अधिकारी निकट हुन् । ‘उनीहरुलाई ल्याउँदा गुटउपगुट सिर्जना हुने देखिएकाले अध्यक्षज्यू नै उहाँहरुलाई प्रदेश कमिटीमा नलैजाने कि भन्ने मुडमा हुनुहुन्छ,’ ती नेताले भने ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया