मुस्ताङमा आँखा पाक्ने रोगको प्रकोप

समाधान संवाददाता २०८० भदौ १२ गते १०:३६

जोमसोम ।
हिमाली जिल्ला मुस्ताङमा आँखाका बिरामी बढ्दै गएका छन् । बेसी र हिमालको कनेक्टिभिटीका कारण यहाँ आँखा पाक्ने रोग अर्थात कन्जन्टिभाइटिस संक्रमणका बिरामी बढेका हुन् ।


पछिल्लो दिन सातामा १८ जनामा आँखा पाक्ने रोग देखिएको सामुदायिक आँखा केन्द्र जोमसोमकी वरिष्ठ नेत्र सहायक रुमिला नेपालीले जानकारी दिइन् । उनले मुस्ताङका स्थानीय नागरिकलाई भन्दा बेसीबाट हिमालतर्फ आवतजावत गर्नेमा यो समस्या देखिएको सुनाइन् ।


चिसो क्षेत्र भएकाले यो रोगको संक्रमण जोखिम कम हुने उनको भनाइ छ । यो समस्या जिल्लाका ५ वटै स्थानीय तहमा रहेकाले त्यसबाट बच्न उचित सावधानी अपनाउन उनले आग्रह गरिन् ।

Advertisement


यो संक्रमण सजिलै सर्न सक्छ । आँखा पाकेका बिरामीले सावधानी नअपनाई पटक पटक हातले अर्को आँखा छुँदा समस्या थप जटिल बन्न सक्छ । यो संक्रमण हुँदा आँखामा चिप्रा लाग्ने, आँखा सुन्निने, चिलाउने, पोल्ने र आँखा रातो हुने जस्ता लक्षण देखिने वरिष्ठ नेत्र सहायक नेपालीले जानकारी दिईन् ।


सँगसँगै आँखाको एलर्जी हुने बिरामी पनि बढेको सामुदायिक आँखा केन्द्र जोमसोमले जनाएको छ । बढी मात्रामा हाावाहुरी चल्ने र हावाकै कारण धुलाम्मे हुने भएकाले एलर्जी देखिएको हो । मुस्ताङमा आँखा पाक्ने बिरामी बढे पनि बिरामीको उपचार स्थानीय स्तरमा हुने सामुदायिक आँखा केन्द्र जोमसोमले उल्लेख गरेको छ । उपल्लो मुस्ताङको चराङ र तल्लो मुस्ताङको जोमसोममा आँखा उपचार केन्द्र छन् ।

Advertisement

तपाईको प्रतिक्रिया