लेखनाथ उद्योग वाणिज्य संघको आर्थिक अवस्था सुधार्ने एजेन्डा

भीमपाणि बराल २०८० भदौ १३ गते १०:५८

लेखनाथ ।
लेखनाथ उद्योग वाणिज्य संघको १४ औं अधिवेशन भदौ २२ र २३ गते हुँदै छ । नयाँ नेतृत्व पनि चयन गर्ने अधिवेशनको चटारोले व्यवसायीलाई तताएको छ । उम्मेदवारहरु अहिले घरदैलोमा छन् ।


लेखनाथ उद्योग वाणिज्य संघको आर्थिक अवस्थालाई कसरी मजबुद बनाउन सकिन्छ भन्ने योजना लिएर दुई युवा व्यवसायीहरु अहिले कोषाध्यक्ष पदको उम्मेदवारीसहित चुनावी मैदानमा आमनेसामने छन् । दुवैजना वर्तमान कार्यसमितिका सदस्यमा छन् ।

ध्रुवबाबु भट्टराई (आइडी)र पुष्पमणि भण्डारी आफूले नै चुनावी मैदानमा छन् । जित हारभन्दा पनि उनीहरुले अगाडि सारेका योजना के कस्ता छन् र आम व्यवसायीको हकहितका सवालमा उनीहरुले गरेका प्रतिबद्धताबारे उनीहरुको धारणाः

Advertisement


इतिहासलाई अझ उचाइमा पुर्‍यााउने छुः पुष्पमणि भण्डारी, उम्मेदवार कोषाध्यक्ष
लेखनाथ उद्योग वाण्ज्यि संघको चुनावको मिति नजिकिँदै गर्दा कोषाध्यक्ष पदमा उमेदवारी दिएका पुष्पमणि भण्डारीले आफनो टिमको सामूहिक घरदैलो अभियान सकेर अहिले व्यक्तिगत रुपमा व्यवसायीलाई प्रत्यक्ष रुपमा भेटेर आफना एजेन्डासहित भोट माग्न व्यस्त देखिन्छन् ।


युवा अवस्थामै आफूलाई सफल युवा व्यवसायीका रूपमा स्थापित गर्न सफल भण्डारी १३ औं महाधिवेशनमा खुला सदस्यमा विजयी भई एक कार्यकाल कार्यसमिति सदस्यको रुपमा संघमा रहेर काम गरेको अनुभव बटुलिसकेका छन् । यसपालि युवाहरुको भावनालाई समेट्ने गरी संघको आर्थिक अवस्थालाई कसरी बलियो बनाउन सकिन्छ भन्ने योजनाका साथ चुनावी मैदानमा होमिएको बताउँदै आएका छन् ।

Advertisement


स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरी विगत लामो समय बैंकिङ क्षेत्रको अनुभव बटुलिसकेको र उक्त ज्ञान र अनुभवलाई कोषाध्यक्ष पदमा रहेर भरपुर सदुपयोग गर्न चाहेको उनले बताए । संघमा आर्थिक पारदर्शिता, कोषको वृद्धि, लगानीको सही सदुपयोग लगायतको विषयमा आफूले कुशल भूमिका निर्वाह गर्न सक्ने उनले बताएका छन् ।


त्यसबाहेक पनि अहिले सूचनाको युग भएकाले सूचना प्रविधिको सही सदुपयोग गर्दै संघको कार्यशैलीमै व्यापक परिवर्तन ल्याउन सक्ने उनले दाबी गरे । साना व्यवसायीदेखि उद्योगीहरु सबैलाई समेट्दै व्यावसायिक वातावरण तयार पार्ने, उद्यमशीलताको विकास गर्ने, पर्यटनको विकासमा उल्लेख्य पहल गर्ने उनको सोच छ ।


उनले आफू स्पष्ट वक्ता भएको र मुखले राम्रो र ठिक्क पार्ने होइन जति सक्दो समस्या समाधानको बाटो रोज्न तत्परताका साथ लागि पर्ने बताउँदै लेखनाथ क्षेत्रका उद्योगी÷व्यवसायीहरुको हकहितका सवालमा केन्द्रीय तहसम्ममा आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । देशमा व्याप्त आर्थिक मन्दीको मारमा परेका आम व्यवसायीहरुको हकहितका सवालमा उदार अर्थनीति आवश्यक पर्ने धारणा राख्दै आर्थिक अनुशासनको माध्यमबाट संघको आर्थिक अवस्थालाई मजबुद बनाउनु नै एकमात्र अर्जुनदृष्टि रहेको उनले सुनाए ।

आम्दानी बढाउने र खर्च घटाउने योजना ल्याउँछुः ध्रुवबाबु भट्टराई, उम्मेदवार कोषाध्यक्ष
लेखनाथ उद्योग वाणिज्य संघको भदौ २३ गते हुने १४ औं महाधिवेशनबाट आफूलाई कोषाध्यक्ष पदमा स्थापित गर्न अगाडि बढेका धु्रवबाबु भट्टराई (आइडी)ले व्यवसायी भेटघाटका क्रममा ‘व्यवहारमा पारदर्शिताः कार्यक्रममा मितव्ययिता’ को नारालाई अगाडि सारेका छन् ।


१२ वर्षको अध्यापन पेसापछि निर्माण व्यवसायको क्षेत्रमा १२ वर्ष बिताएका भट्टराईले छोटो समयमा नै व्यावसायिक सफलता हात पार्दै आफूले जीवनमा सिकेका कुरालाई व्यवहारमा उतार्न लेखनाथ उद्योग वाणिज्य संघको कोषाध्यक्ष पदमा जिम्मेवारी सम्हालेर उदाहरणीय कार्यक्रम प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका छन् ।


व्यवस्थापनमा मास्टर डिग्री गरेका युवा व्यवसायी भट्टराईले संघमा दुई कार्यकाल कार्यसमिति सदस्य पदको अनुभव समालिसकेका छन् । त्यस क्रममा उनले निर्माण संयोजक र तालिम संयोजकको भूमिका निभाएका थिए । निर्माण व्यवसायी संघ कास्कीको सहकोषाध्यक्ष पदमा रहेर काम गरिसकेको अनुभव आफूसँग भएको सुनाए ।


युवा अवस्थादेखि नै केही गर्नुपर्छ भन्ने सोच राख्दै आएका भट्टराईले लेखनाथ उद्योग वाणिज्य संघको स्थापना कालदेखिका अग्रजलाई सम्मान गर्दै भर्खरैमात्र व्यावसायिक क्षेत्रमा होमिएका व्यवसायीहरुको व्यवसाय प्रवद्र्धनका लागि तालिम, गोष्ठी तथा अन्तत्र्रिmयाबाट आर्थिक सुरक्षाका बारेमा सबैलाई जागरुक बनाउने उद्देश्य लिएका छन् ।


‘लेखनाथ उद्योग वाणिज्य संघको मुख्य आम्दानीको स्रोत महोत्सव भएकाले यसलाई कसरी परिस्कृत गर्न सकिन्छ र महोत्सव स्थलबाट थप आम्दानीको बाटाहरु खोज्नुपर्ने अवस्था रहेकाले अबको मिसन भनेको आम्दानी बढाउने र खर्च घटाउने हो,’ भट्टराई भन्छन् ।

संघको आर्थिक हिसाब किताबलाई पेपर लेस लेखा प्रणाली बनाउन सकिने योजना आफूसँग भएकाले उद्यमशीलताको विकास युवाले नै ल्याउन छन्, जहाँबाट आर्थिक निकास निकाल्न सकियोस् भन्ने उनको भनाइ छ । निर्वाचन एउटा प्रजातान्त्रिक अभ्यास भएकाले बिना पूर्वाग्रह, मित्रवतशैलीमा स्पष्ट दृष्टिकोणका साथ अगाडि बढ्न पनि सबै व्यवसायीलाई भट्टराईको अनुरोध छ ।

भीमपाणि बराल

बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।

तपाईको प्रतिक्रिया