मुस्ताङमा एक वर्षमा ४१ मुद्दा

जोमसोम ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङ र स्थानीय पत्रकारबीच अन्तक्र्रिया भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको आयोजनामा जिल्ला प्रहरी कार्यालयको सभाहल जोमसोममा पत्रकार भेटघाट तथा अन्तरक्रिया भएको हो ।
गत आर्थिक वर्ष २०७९/०८० मा सम्पादित कार्यक्रमहरुको समीक्षा र प्रगति विवरण सार्वजनिक गर्न मुस्ताङ प्रहरीले हालै पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक (डिएसपी) रवीन्द्रनाथ पौडेलले गत वर्ष सम्पादित कार्यक्रमहरुको विस्तृत प्रगति विवरण पत्रकारहरुको उपस्थितिमा सार्वजनिक गरे ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले गम्भीर प्रकृतिका ८ वटा फौजदारी मुद्दाको कार्यसम्पादन भएको जनाएको छ । जसमा कर्तव्य ज्यान मुद्दा १, जबक, कर्तव्य ज्यान र डाँका १, जजक (हाडनाता) मुद्दा १, हातहतियार तथा खरखजाना मुद्दा २, ठगी १, नकबजनी (चोरी) मुद्दा १ र डाँकाचोरी १ गरी ८ थान मुद्दाको सफल अनुसन्धान भएको प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले उल्लेख गरे ।
मुस्ताङमा गत आर्थिक वर्ष २०७९/०८० मा ४१ वटा मुद्दा दर्ता भएका थिए । यसको अघिल्लो दुई आर्थिक वर्षमा क्रमशः ३५ र ३७ थान मुद्दा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्षमा हाईअल्टिच्युडका कारण मृत्यु भएकाको विवरण मुद्दा रुपमा कार्यसम्पादन गरिने गरिएकोमा गत आव त्यस्ता प्रकृतिका घटनालाई मुद्दाको रुपमा समावेश नगरिएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।
गत आर्थिक वर्षमा मुस्ताङ प्रहरीले ९२ जनालाई पक्राउ गरेकोमा ४२ जनालाई मुद्दा चलाएको थियो । ५० जनालाई अनुसन्धानपछि छोडिएको थियो । प्रहरीले फरार अपराधीहरु ५ जना पक्राउ गरेको र १९ वटा पेन्डिङ मुद्दा फ्छ्र्योट भएको बताएको छ ।
मुस्ताङ प्रहरीले उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड—२ घमीमा विगत ३ वर्षदेखि रिक्त प्रहरी चौकी घमी कार्यालयको पुनस्थापना गरेको पत्रकार भेटघाटमा प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए । भारतीय खुला नाकाबाट भित्रिएको एक अवैध सवारी साधन जफत गरी मुस्ताङ भन्सार कार्यालयलाई बुझाइएको छ । अवैध रुपमा चलाइएको ५ वटा चाइनिज मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।
यसैगरी मुस्ताङका स्थानीय तहको समन्वयमा ईलाका प्रहरी कार्यालय मुक्तिनाथमा १३ थान सिसी टिभी जडान गरिएको छ । घरपझोङ—४ जोमसोममा १३ थान र प्रहरीको आन्तरिक स्रोतबाट हिरासत कक्षमा २ वटा सिसी टिभी जडान भइसकेको छ । प्रहरीले नियम विपरीत निषेधित क्षेत्रमा उडाइएका १३ थान ड्रोन क्यामेरा नियन्त्रणमा लिएको थियो । अवैध रुपमा उपल्लो मुस्ताङ प्रवेश गर्ने ३ जना विदेशीलाई कारबाही भएको बताएको छ ।
प्रहरीले अपराध रोकथाम तथा नियन्त्रणका लागि समुदाय प्रहरी सााझेदारी कार्यक्रम अन्तर्गत घरेलु हिंसा, ट्राफिक सुरक्षा, साइबर सुरक्षा, आत्महत्या रोकथाम, लागु औषध, बालविवाह लगायत सचेतनामूलक कार्यक्रम सम्पन्न भएको प्रहरीले उल्लेख गरेको छ । दरदुराजका गाउँहरुमा मासिक दुईपटक ग्रामीण गस्ती गरी भिलेज प्रोफाइल तयार गरेको, संघीय, प्रादेशिक र स्थानीय तह निर्वाचन शान्पिूर्ण रुपमा सम्पन्न गरेको, मुस्ताङ भ्रमण गर्न आएका पर्यटकमध्ये १८ जनाको हेलीमार्फत उद्धार गरिएको थियो । ७१ जनाको सरोकारवाला निकायको समन्वयमा उद्धार गरिएको थियो । मुस्ताङ प्रहरीले अघिल्लो आव भन्दा ३ सय प्रतिशत ट्राफिक राजस्व संकलन गरेको छ । मुस्ताङ भित्रिएका विभिन्न सवारी साधनलाई कारवाही गर्दा ४४ लाख ६४ हजार राजस्व संकलन भएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।
मुस्ताङ प्रहरीले बिमा शुल्क प्रहरी कार्यालयमा आउने सेवाग्राहीको सेवा सञ्चालन गरेको छ । प्रहरीले गत आवमा जाडोमा बस्ने दुइटा हट रुम निर्माण सम्पन्न गरेको छ । मुस्ताङ भित्रिने स्वदेशी तथा विदेशी पर्यटकको अभिलेख कम्प्युटर प्रणालीमा रुपान्तरण भएको बताइएको छ । विदेशी पर्यटकको जाँचलाई कडाइका साथ कार्यान्वयनमा ल्याउने व्यवस्था मिलाइएको थियो । प्रहरी पत्रकार भेटघाट कार्यक्रममा पत्रकार महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दरकुमार थकाली, शाखाकी कोषाध्यक्ष फूलकुमारी नेपाली, महासंघ सदस्यहरु सुनदेवी रसाइली, नीरज थकाली र पत्रकार अमिशा तिलिजा लगायतको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया