पाेखराका मुख्य चोकमा हाइमास्ट लाइट

समाधान संवाददाता २०८० भदौ १८ गते १०:४७

पोखरा ।
पर्यटकीय नगर पोखराका मुख्य सडकलाई उज्यालो बनाउन २ हजारभन्दा बढी बत्ती जडान गरिएको छ । महानगरका २३ मुख्य चोकमा हाइमास्ट लाइट राखिएको हो ।


सभागृहचोकदेखि चिप्लेढुंगा, पुरानो एअरपोर्टदेखि छोरेपाटनको आरटिओ रोडमा स्मार्ट सडक बत्ती राखिएका छन् । महानगरको उज्यालो पोखरा अभियान अन्तर्गत नेपाल विद्युत प्राधिकरण र महानगरको साझेदारीमा हाइमास्ट र स्मार्ट सडक बत्ती राखिएका हुन् । आइतबार आयोजित कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र महानगरका प्रमुख धनराज आचार्यले हाइमास्ट लाइट र स्मार्ट सडक बत्ती संयुक्त रुपमा सुरुआत गरे ।


देशका मुख्य सहरका यो अभियान चलाएको प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले उल्लेख गरे । ‘अहिले पनि केही प्राविधिक समस्या त हुन सक्छन्, देशैभरि विद्युत पु¥याउन लागिपरेका छौँ । चाडै गण्डकी प्रदेशलाई उज्यालो प्रदेश घोषणा गर्दै छौँ,’ उनले भने । पोखरा महानगरका प्रमुख आचार्यले राति हुने दुर्घटना र चोरी नियन्त्रण गर्न यो अभियानले सघाउने जनाए ।

Advertisement


सडक र चोकमा राखिएका यी बत्तीमा खराबी आएका ५ वर्षसम्म निर्माण कम्पनीले सित्तैमा बनाउने शर्त छ । यी बत्तिमा उठ्ने शुल्क भने पोखरा महानगरले तिनुपर्ने छ । हरेक बत्तिमा मिटर राखिएको र त्यही अनुसार तिर्नुपर्ने महानगरका इन्जिनियर ध्रुव भट्टराई बताउँछन् ।


नेपाल विद्युत प्राधिकरण राष्ट्रिय सडक बत्ति प्रबद्र्धन आयोजनाले कार्यान्वयन गरेको यो योजनाको लागत १४ करोड ६५ हजार ९१ रुपैयाँ छ । टपसन इनर्जी प्रालिले पोखराको सडकमा बत्ती राखेको हो । यो लागतमा महानगर र प्राधिकरणले आधा आधा साझेदारी गरेका छन् ।

Advertisement


सडक बत्ती ९० वाट र १ सय २० वाट गरी २ प्रकारका छन् भने हाइमस्ट लाइटको क्षमता १ हजार ६ सय वाट छ । हाइमास्ट लाइट र अरु स्मार्ट सडक बत्तिका कारण पोखराका मुख्य सडक राति झिलीमिली देखिएका छन् । पोखरा महानगरले न्युरोडमा एक करोड खर्चेर डिभाइडर बनाएको छ भने यो डिभाइडरमा ६१ पोल राखिएका छन् । हरेक पोलमा २ वटा गरी १ सय २२ स्मार्ट बत्ती यी पोलमा राखिएको छ ।


यी बत्तिको नियन्त्रण र सञ्चालन अहिले प्राधिकरणले नै गरिरहेको छ । महानगरको जनशक्तिलाई तालिम दिएर यी बत्तिको सञ्चालन पनि महानगरलाई हस्तान्तरण गर्ने प्राधिकरणको तयारी छ ।

तपाईको प्रतिक्रिया