हामी कहिले नेपाली बन्ने ?

डा सञ्जय कोइराला २०८० भदौ १८ गते १२:१९

धरानमा केही समयअघि गोरु काटेर भोज खाएको बिषयलाई लिएर अहिले वैदिक सनातन धर्मावलम्वीहरु देशैभरि विरोधमा उत्रिएको अवस्था विद्यमान छ । हिन्दू राज्य माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले उक्त आन्दोलनलाई समर्थन गरिरहेको छ र आन्दोलन अझै चर्काउने उद्घोष गरेको छ ।


प्रदेश नं १ लाइ कोशी प्रदेश नामांकरण भएपश्चात पहिचानको आधारमा नामांकन हुनुपर्ने विषयलाई लिएर केही समययता यसै पनि कोशी प्रदेशमा दिनहुँ आन्दोलन भइरहेका छन् । देश संघीयतामा गएपश्चात पहिलो सरकारले अधुरो छाडेको नामांकनको विषयलाई नयाँ बनेको सरकारले टुंग्याउन त सफल भयो तर अहिले स्वयं प्रदेश सरकार नै अन्योलको स्थितिमा रहेको छ ।


बहुमत अल्पमतको खेलको रस्साकसीमा कोशी प्रदेशको सरकार पेन्डुलमको अवस्थमा छ । किराँत या लिम्बुवान नाम राख्नुपर्ने प्रस्तावसहित पहिचान पक्षधरहरु अहिले आन्दोलनमा छन् । केही समयअघि गण्डकी प्रदेशको नामांकरणको विषयलाई लिएर पनि यहाँ केही आन्दोलनका लहर देखिएका थिए । तमुवान पक्षधरहरुले केही समय माहोल असामान्य बनाउने प्रयास नगरेका हैनन् तर धार्मिक तथा सामाजिक एकरुपता रहेका कारण यस प्रदेशबासीले नामको विषयलाई गौण राखी प्रदेशको विकासमा नामको नभई सबैको हातेमालोको आवश्यकता बोध गरे ।

Advertisement

सधैं नेताको पिछलग्गु भएर जे गरे पनि सदर गर्ने कार्यकर्ता रहँदासम्म न राजनीतिक पार्टी, न देशमा परिवर्तनको आश गर्न सकिन्छ ।


कुनै अप्रिय घटना हुन नदिई अवस्था सामान्यकारण भएको थियो । कोशी प्रदेशमा भने सो सम्भावना केही कम देखिन्छ, तै पनि त्यहाँका हरेक जनताले पहिले आफू नेपाली भएर सोच्नु पर्छ । हाम्रो पहिचान नेपाली हो, नेपाली नै भएर एकापसमा सद्भाव राखेरमात्रै हामी अघि बढ्न सक्छौं, अन्यथा हामीबीचको बैमनस्यताले हामीलाई होइन, अरु नै कसैलाई फाइदा दिने निश्चित छ ।

Advertisement


लोकतन्त्रको सुन्दर पक्ष भनेकै समवेशिता हो भन्ने लोकतन्त्रवादी विद्वानहरुको भनाइ रहेको छ । लोकतन्त्रको इतिहास हेर्दा १३ औं शताब्दीबाटै बेलायत, १८ औं शताब्दीबाट अमेरिका, फ्रान्स हुँदै पश्चिमा राष्ट्रहरुको लोकतन्त्र प्रवद्र्धक परराष्ट्र नीतिका कारण दक्षिण अमेरिका, अफ्रिका लगायत एसियामा पनि यो पद्धतिले व्यापक समर्थन पाएको छ । एकाध राष्ट्रबाहेक विश्वका अधिकांश देशले लोकतान्त्रिक पद्धतिमा चल्ने कोशिस त गरिरहेका छन् तर सबै उत्तिकै सफल भने छैनन् ।


अझै पनि धेरै देशमा लोकतन्त्रको संकुचित रुपमा मात्रै अभ्यास भइरहेको अवस्था छ । लोकतान्त्रिक पद्दतिहरुको विकास त हुँदै छ तर त्यसले लोकतन्त्रको भावना अनुरुपको डेलिभरी गर्न सकिरहेको छैन । लोकतन्त्रको नाममा एक पार्टी निरंकुशता, बहुमतीय निरंकुशता जस्ता अपेक्षित सम्भावना विश्व राजनीतिमा देखिएका छन् ।


संसारमा कुनै पनि कुरा स्थिर र सत्य भन्ने छैन । समय, परिस्थिति अनुसार हरेक कुरा परिवर्तित हुन्छन् । समयमात्रै एक यस्तो सत्य हो, जो आफैंमा पनि स्थिर छैन । निरंकुशताको विकल्प, उदारवादको परिणाम स्वरूप राजनीतिको परिस्कृत प्रणालीको रुपमा आएको लोकतन्त्र पनि आफैंमा पूर्ण छैन । आवधिक निर्वाचन, बहुमतीय प्रणाली, मानवाधिकारको रक्षा, कानुनी शासन जस्ता स्तम्भले सु–सज्जित लोकतन्त्रलाई संस्थागत गर्न जनता स्वयमं नै जागरुक हुनू जरुरी छ ।


लोकतन्त्रको जननी भनेर चिनिने बेलायतमा लोकतन्त्रको अभ्यास कुनै लिखित संविधान बिना नै स्वयम् जागरुक जनताकै कारण सम्भव भएको हो । अन्य विकसित देशहरु जहाँ लोकतन्त्र स्थापित भइसकेको छ, ती देशमा पनि लोकतन्त्रको संस्थागत गर्ने काम स्वयम् शिक्षित, जागरुक जनताका कारण नै हो । कुनै पद्धति बनाएरमात्रै पनि राष्ट्रको विकास गर्न सम्भव छैन । जबसम्म जनताले लोकतन्त्रको परिभाषा बुझ्दैनन्, व्यवहार त्यही अनुरुप हुँदैन, लोकतन्त्रको विकास हुन कठिन छ ।


कर्मकाण्डी राजनीतिले विकास सम्भव हुँदैन । शक्ति प्राप्ति र विस्तारलाई मात्रै राजनीतिको मूल ध्येय मान्ने राजनीतिज्ञ, राजनीतिप्रति वितृष्णा राख्ने जनता यसरी नै दुई ध्रुवमा हिडिरहने हो भने त हामीले चाहेको परिवर्तन किमार्थ सम्भव छैन । सधैं नेताको पिछलग्गु भएर उनीहरुले जे गरे पनि सदर गर्ने कार्यकर्ता रहँदासम्म न राजनीतिक पार्टी, न देशमा परिवर्तनको आश गर्न सकिन्छ ।


विकास हामी सबैको साझा उद्देश्य हुनु जरुरी छ । वर्तमानलाई होइन अब हामीले भविष्यलाई सोच्नुपर्ने बेला भइसकेको छ । साना साना केटाकेटी जस्तै अरुले दिएको ललिपपमा भुलेर आफ्नो र राज्यको भविष्यमाथि खेलबाड गर्ने हामीलाई कुनै अधिकार छैन । अल्पकालीन फाइदाका लागि लड्ने, परिक्षित नेताहरुलाई नै बारम्बार राज्य सत्ता सुम्पिने अनि तिनैले विकास गर्देलान् भनेर आश गरेर कहिलेसम्म मूर्ख भइराख्ने हामी ?


कहिले जात, कहिले धर्म, कहिले पहिचान, कहिले लिंग, कहिले यो त कहिले उ भनेर आफैंमा नै सधै रुमल्लिरहने हो भने देश विकासको बारेमा कसले र कहिले सोच्ने ? म नेपाली हुँ, राज्यप्रति मेरो पनि दायित्व छ भन्ने सोच हामीले कहिले विकसित गर्ने ?


डा कोइराला पोस्सोन केन्द्रीय उपाध्यक्ष हुन्

डा सञ्जय कोइराला

नाक कान घाँटी रोग विशेषज्ञ डा कोइराला राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दै छन् । 

तपाईको प्रतिक्रिया