कृष्ण भजनमा प्रथम हुनेले १ लाख पाउने

समाधान संवाददाता २०८० भदौ १८ गते १२:४८

पोखरा ।

पोखराको वाटुलेचौरमा रहेको शुक्ला साहित्य प्रतिष्ठानले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना गर्ने खुला कृष्ण भजन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । २४ वर्षदेखि निरन्तर रुपमा हुँदै आएको प्रतियोगिता गएका ३ वर्ष कोभिड महामारीका कारण रोकिएकोमा यस वर्षदेखि फेरि सञ्चालन गरिएको हो ।


तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानका अध्यक्ष हरि वरुवालले जानकारी दिए । बुधबार बाटुलेचौर मैदानमा हुने प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउने तयारी भएको संयोजक दुर्गादेवी बस्नेतले जनाइन् । प्रतियोगिताका लागि गठित विभिन्न उपसमितिले तीव्रताका साथ काम गरेका छन्।

Advertisement


प्रतियोगितामा सहभागिताको आव्हानसहित पोखराका विभिन्न वडामा पुगी घरदैलो अभियान पनि गरिएको प्रतिष्ठानका सहसचिव एवं प्रचारप्रसार उपसमितिका संयोजक सञ्जय थापाले जानकारी दिए । प्रतियोगितामा कास्की, स्याङ्जा, पर्वत, तनहुँ, पाल्पा लगायतका जिल्लाबाट पनि भजन टोली सहभागी हुने छन् ।


हालसम्म विभिन्न जिल्लाका १२ टोलीले सहभागिताको लागि नाम दर्ता गरेको प्रतिष्ठानले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार पाउने छन् । सान्त्वना हुने टोलीलाई २५ हजार र सहभागी सबै टिमलाई प्रोत्साहन स्वरुप नगद ५ हजार प्रदान गरिने सचिव दीपेन्द्र बाँनियाले जानकारी दिए ।

Advertisement

प्रतियोगिता गर्न १३ लाख २५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान छ । २०४५ सालमा जनकविकेशरी धर्मराज थापाको नेतृत्वमा स्थापना भएको प्रतिष्ठानले पोखरामा साहित्य, कला र संस्कृतिका क्षेत्रमा काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया