दुई महिनापछि मुस्ताङमा हवाई सेवा सुचारु

सुन्दरकुमार थकाली २०८० भदौ १८ गते १३:३९

जोमसोम ।

विगत २ महिनादेखि स्थगित (पोखरा—जोमसोम ) हवाई उडान सेवा सञ्चालनमा आएको छ । प्रतिकुल मौसम तथा पर्यटकीय अफ सिजनका कारण गत असार १३ गतेदेखि स्थगित गरिएको हवाई उडान आईतबारदेखि सञ्चालनमा आएको जोमसोम नागरिक उड्यन कार्यालयले जनाएको छ ।

पोखरा—जोमसोमका लागि यती एयरलाईन्सको भगिनी संस्था तारा एयरलाईन्स र समिट एयरलाईन्सको टुईनेटर जहाजहरुले उडान भर्दै आइरहेका छन् । बर्खायामको मौसम रोकिएसँगै हवाई सेवा सुचारु भएको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख हिरोण शाहले जानकारी दिए ।

Advertisement

उनका अनुसार आईतबार पोखरा—जोमसोमका लागि समिट एयरको जहाजले ३ वटा उडान भरेको थियो । ‘बर्खायाम यहाँका लागि पर्यटकीय अफ सिजन मानिन्छ, बर्खायाममा मौसम समेत प्रतिकुल हुन्छ,’ कार्यालय प्रमुख शाहले भने,‘ मनसुन रोकिन थालेको र पर्यटकीय सिजन पनि सुरु हुँदैछ, जसका कारण एयरलाईन्स कम्पनीहरुले मुस्ताङमा उडान भर्न सुरु गरेका हुन् ।

समिट एयरले हवाई उडान सुरु गरेपनि तारा एयरलाईन्सले भदौ २५ गतेदेखि हवाई सेवा नियमित सञ्चालन गर्ने कार्यतालिका रहेको कार्यालय प्रमुख शाहको भनाइ छ ।

Advertisement

हवाई सेवा सुरु भएसँगै ५७ जना पर्यटक जोमसोम अवतरण भएका छन् । ५४ जना भारतीय ,१ जना तेश्रो मुलुक र २ जना आन्तरिक पर्यटक मुस्ताङ आईपुगेका हुन् । मुस्ताङमा २ महिनासम्म फिक्सड विङ्ग हवाई सेवा स्थगित गरिएको भएपनि रोटर विङ्ग हेलिकोप्टर सेवा भने यथावत थियो । हेलिले मुस्ताङमा आप्तकालिन सेवाका लागि उडान भर्ने गरेको जोमसोम नागरिक उड्यन कार्यालयले जनाएको छ ।

हवाई सेवा सुचारु भएसँगै पर्यटन व्यवसायी उत्साहित भएको पाइएको छ । यसअघि बेनी—जोमसोम सडकमार्गको असहजता र हवाई सेवा ठप्प हुँदा मुस्ताङमा पर्यटकीय गतिविधि ठप्पै रहेको थियो । बर्खायाम सकिएर अनुकुल मौसम सुरु भएसंगै पर्यटकीय गुल्जार हुँनेमा स्थानीय पर्यटन व्यवसायी आशावादी छन् ।

मुस्ताङमा हवाई सेवा अवरुद्ध हुँदा र राष्ट्रिय राजमार्ग (बेनी—जोमसोम) सडकमा बाढी पहिरो र नदी कटानले पटक÷पटक सडक अवरुद्ध हुँदा मुस्ताङ भ्रमण गर्ने पर्यटक तथा स्थानीय नागरिक र कर्मचारीले सास्ती भोग्न बाध्य थिए । हवाई सेवा नहुँदा र सडकमार्गको दुरअवस्थाका कारण आपत्कालिन सेवा नहुँदा बिरामीले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता थियो ।

मनसुन रोकिएका सडकमार्ग समेत सुधारन्मुख हुने अपेक्षा गरिएको छ । आर्थिक वर्ष २०७९/०८० मा विभिन्न मुलुकका ७१ हजार विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया