बाघजात्राले तान्यो दर्शक

समाधान संवाददाता २०८० भदौ १९ गते ११:११

पोखरा ।
गाईजात्रा मनाएको एक साता नहुँदै पोखरेली नेवार समुदायले अर्काे जात्रा मनाउन सुरु गरेको छ । २३ वर्षपछि पोखरेली नेवार समुदायले यसपालि बाघजात्रा देखाएको हो । सोमबार सुरु भएको जात्रा २० गते बुधबारसम्म चल्नेछ ।


यस पटकको बाघजात्रा १ लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ । यसपालि बाघजात्रा आयोजना गर्न पोखरा महानगरपालिका, वडा कार्यालय, नेवा छें लगायतले साथ दिएका छन् । जात्रालाई महानगर र नेवाः खल कास्कीले संरक्षकत्वमा दिएका छन् । बाघजात्रा आयोजक समिति २०८० संयोजक जवाहरलाल श्रेष्ठले पोखरा महानगरपालिकासहित आसपास अरु पालिकाका प्रमुख, प्रदेश सरकार, सभासदसहित बाहिरी जिल्लाबाट पनि अतिथि, दर्शक र मेलामा सहभागी रहेको जनाए ।


यसपालिको जात्रामा राजाको रुपमा कलाकार जीतेशमान गुमाजू र रानीको रुपमा कलाकार शिवानी श्रेष्ठ गुभाजू छन् भने बाघको भूमिका सुरेश खड्गीले निर्वाह गरेका छन् । ऐनकुमार साई प्रधान सेनापतिको भूमिकामा छन् । हरेक दिनको जात्रा नेवा छेंबाट सुरु हुनेछ । सोमबार गणेशटोल, मोहरिया टोल बगर हुँदै फेरि नेवा छेंमा आएर जात्रा सकिएको छ । दोस्रो दिन पृथ्वीचोक र तेस्रो दिन पोखरा रंगशालामा जात्रा देखाउने तयारी छ । ‘सोमबार र मंगलबार झाँकी र अरु प्रदर्शन गरिन्ट भने बुधबार बाघजात्रा पूरा देखाउने तयारी छ,’ उनले भने ।

Advertisement


लेखक रवीन्द्र माकाजू यो जात्रा पोखराकै प्रतिष्ठाको विषय भएको बताउँदै धेरैको आर्कषण देखिएको जनाए । थुप्रैले स्वतःस्फूत जात्रालाई सहयोग गर्नु र जात्रा हेर्न आउनुले यसको महत्व बढ्दै गएको देखिएको उनको भनाइ छ ।


यो जात्राको सुरुआत मानिस र बाघको द्वन्द्वसँग जोडिएको छ । गाउँ गाउँमा बाघले धेरै दुःख दिएपछि राजालाई यसबारे जानकारी दिइएको र राजाले सेनासहित आएर बाघ मारेको खुसीयालीमा जात्राको चलन चलेको हो । अहिले यो नेपाली खासगरी नेवारी समुदायको मौलिक र महत्वपूर्ण जात्राको रुपमा स्थापित भएको संयोजक जवाहरलालको भनाइ छ ।

Advertisement


यो जात्रामा सबैभन्दा अघि कुमारी, त्यसपछि ताहामचा, धिमेबाजा, घोडानाच, सेनापति, प्रधानमन्त्री, राजारानी, दायाँबायाँ सुरक्षागार्ड, घोडचढी रिसल्ला, झ्यासी न्यासीका रुपमा हतियारधारी शिकारीहरु रहन्छन् । सबैभन्दा आकर्षणका रुपमा रहेका बाघ तथा बाघको शिकारका लागि चारै तर्फबाट घेर्नका लागि हातमा बाँस बोकेका गाउँलेका रुपमा ढेकेग्वाराहरु पनि हुन्छन् ।


भदौ २० गते जात्राको मुख्य आकर्षण बाघ मार्ने कार्यक्रम हुनेछ । यस दिन पनि सधैझै बिहान ११ बजे नेवाः छेँबाट जात्रा सुरु हुनेछ । बिभिन्न नाच तथा झाँकीपश्चात बाघ मारिनेछ । यो जात्रा जंगलमा जीवन सहज बिताइरहेको बाघको हत्या गर्ने नभई नरभक्षीको मात्र हत्या भएको आयोजक समिति सचिव सुनील उलक बताउँछन् ।


०५७ को बाघजात्रामा तेर्सापट्टीका रामप्रसाद श्रेष्ठ राजा बनेका थिए । २०१४ सालमा बालकृष्ण बड्गामी, २०२२ सालमा हेमबहादुर प्रधान राजाको भूमिकामा थिए । बाघ बनेका कलाकारहरू बगरेली माईला (गोर्खाली लाटा), दीपकलाल उदाससहित राजा बनेका अरु कलाकार प्रकाशमान गुभाजू, शम्भुरत्न शाक्य, पवनमान गुभाजू, रामप्रसाद श्रेष्ठको फरक सामाजिक पहिचान स्थापित भएको छ ।

तपाईको प्रतिक्रिया