‘आतुरकाल’ रसियन हाउसमा देखाइने

समाधान संवाददाता २०८० भदौ १९ गते ११:१६

पोखरा ।
बलरामका बावु परदेशबाट फर्किन्छन् । केही दिनपछि आएको बाढीले बावुलाई बगाएर लैजान्छ, उनको मृत्यु हुन्छ । त्यस बेला बलराम ७ वर्ष थिए ।


सानैमा बावु गुमाएको बलराममा घर चलाउने जिम्मेवारीसमेत थपिन्छ । देशमै कमाउने उपाय खोजिन्छ, नपाएपछि एक दिन उनले परदेशको बाटो समात्छ । परदेशमा ऊ गोठालो बन्छ । जेनथेन कमाएको पैसा पनि आफन्तको नजरमा पर्छ ।


उ रित्तो हुन्छ । परदेशी भूमिमा दुःखको कमाइ पनि आफ्नो नभएपछि ऊ खाली हात देश फर्कन्छ । समयसँगै उसलाई फरक फरक परिवेशमा फरक फरक दुःखका पहाडले थिचिरहन्छन् । तर, उ हिम्मत हार्दैन, सहन्छ । सहनुलाई उसले जिन्दगीको परिभाषाको रुपमा अथ्र्याउँछ । ऊ विगत भुल्दै जान चाहन्छ, नियतिले उसलाई बारम्बार सम्झाइरहन्छ ।

Advertisement


यो कथांश हो नाटक आतुरकालको । इन्द्रेणी थियटर पोखराको नाटक आतुरकाल रसियन हाउसमा मञ्चन हुँदै छ । रसियन हाउस र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा भदौ २१ र २२ गते बेलुका ५ बजे नाटक मञ्चन गर्ने तयारी छ ।


नाटककार केदारनाथका पौडेलले विशेषतः गण्डक क्षेत्रलाई केन्द्र बनाएर यो नाटक लेखिएको बताए । नाटकका निर्देशक हुन् कपिल शर्मा । शर्माले नेपाल र नेपाली समाजभित्र भिन्नभिन्न रीतिरिवाज, धर्म, संस्कार, संस्कृति, चालचलन र आ–आफ्नै सभ्यता भएको जनाउँदै एउटा मान्छे जन्मेपछि उसले मृत्युवरण गर्ने बेलासम्म अनेकन अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्छ भन्ने देखाइएको सुनाए ।

Advertisement


‘आफ्ना संस्कार, चालचलनले कसरी पिरोल्छ । एउटा सन्तान/एउटा बाबु/एउटी आमाले आफ्नो कर्तव्य निर्वाह गर्नका लागि कयौं त्याग गर्नुपर्छ । समग्र रूपमा भन्नुपर्दा ‘आतुरकाल’ एउटा मान्छेको जीवन चक्र हो’, उनले भने ।


नाटकमा लक्षमण डुम्रे, सितला अधिकारी, अर्जुन गुरुङ, प्रियंका खड्का, रामहरि अधिकारी र पवन विकले अभिनय गरेका छन् भने संगीत तथा गायन शिवहरि अर्याल र विनोद पौडेलको छ । प्रकाश संयोजन दीपेन्द्र पौडेलले गरेका छन् भने सेट र कन्सेप्ट डिजाइन लेखककै हो ।

यो नाटक यसअघि २०७९ फागुन ५ देखि ११ गतेसम्म पोखराको गन्धर्व नाटकघरमा मञ्चन गरिएको थियो ।

तपाईको प्रतिक्रिया