सबै जिल्लामा पुनस्र्थापना केन्द्र बनाउँछाैंः सिंखडा

समाधान संवाददाता २०८० भदौ २१ गते १२:२३

पोखरा ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले विभिन्न खालका हिंसामा परेका पीडितको संरक्षण, न्याय र पुनस्र्थापना सरकारको प्राथमिकतामा रहेको जनाएकी छन् । मानव बेचबिखन विरुद्धको १९ औँ राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले प्रदेशका सबै जिल्लामा पुनस्र्थापना केन्द्र बन्ने उल्लेख गरिन् ।


पोखरा राजधानीसमेत रहेको कास्कीको पोखरा महानगरपालिका वडा नं. ३३ मा स्थायी पुनस्र्थापना केन्द्र र अरु १० जिल्लामा अस्थायी पुनस्र्थापना केन्द्रहरु सरकारले बनाउने उनको भनाइ छ । ‘हिंसा पीडित नागरिकलाई संरक्षण, न्यायसँगै पूर्ववत् जीवनमा फर्काउन विभिन्न कार्यका लागि हामी लागेका छौँ,’ उनले भनिन्, ‘कास्कीको स्थायी पुनस्र्थापना केन्द्र बनिरहेको छ; अरु जिल्लामा पनि अस्थायी प्रकृतिका केन्द्रहरु बनाउने योजना छ ।’


गरिबी, बेरोजगारी र महत्वकांक्षी हुँदा मानव बेचबिखनका घटना बढिरहेको उनको भनाइ छ । महिलाले सीप सिकेर आफैं आत्मनिर्भर बन्दै जनजीवनका हरेक पक्षमा अघि बढ्नुपर्नेमा उनले जोड दिइन् । ‘एकातिर महिला सशक्तीकरण जरुरी छ भने अर्कातिर महिला हिंसाका घटनाहरू न्यूनीकरण गर्नका लागि स्कुल तहबाटै शिक्षा दिइनु आवश्यक छ,’ मन्त्री सिम्खडाले भनिन् ।

Advertisement


कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले महिला हिंसाका घटना हुँदा समयमै प्रहरीलाई जानकारी दिन अनुरोध गरे । समयमै हिंसा र बेचबिखनका सूचना पाए धेरै घटना रोक्ने सकिने दाबी गरे । कार्यक्रममा सरोकारवालाले उचित निर्माण गर्न र त्यो नीति कार्यान्वयन गर्न माग गरे । उनीहरुले भाषण, योजना, आश्वासनले हिंसा कम नहुने जनाउँदै व्यवहारमै तीन तहकै सरकार र अन्य सरोकारवालाका कदमको मूल्याङ्न गरिने जनाएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया