करिडोरको पुलले कागबेनीमा बाढी

सुन्दरकुमार थकाली २०८० भदौ २२ गते ११:२३

जोमसोम ।
अविरल वर्षासँगै आएको कागखोला बाढीले साउन २८ गते साँझ करोडौंको भौतिक सम्पत्ति नष्ट गर्‍यो । बर्सेनि साउन र भदौमा महिनामा कागखोला बाढीको बहाव उच्च हुने भएपनि यस पटकको बाढीको अनुमान स्थानीयले गरेका थिएनन् ।


बहाव उच्च रहेकाले सवाधानी अपनाउनू भन्ने माथिल्लो गाउँबाट सूचना प्रेषित भए पनि कागबेनीबासीले त्यसलाई सामान्य सम्झिए । बाढीको मानवीय क्षति त टर्‍यो तर करोडौंको धनमाल र भौतिक संरचनामा क्षति पुग्यो । बाढीले स्थानीयको घर, वडा कार्यालय, ईलाका प्रहरी कार्यालय, आमा समूह भवन, श्राद्धस्थल तथा भवन, बैंक, सवारी साधन, पशुचौपाया, स्याउबारी र सडक ट्र्याकमा क्षति पुर्‍यायो । जसका कारण कागबेनी गाउँमा पीडामा छ ।


लामो समयदेखि सोही स्थानमा बस्दै आएका कतिपय स्थानीयको उठिबास भएको छ भने कतिपय बिचल्लीमा परेका छन् । उनीहरु भन्छन्, ‘कागखोला बाढी यति ठूलो आपत्ति आउला भन्ने सोच्दै सोचिएको थिएन । थाहा छैन यति ठूलो बाढी कसरी आयो ?’

Advertisement


कागबेनी बाढी बितण्डालाई कतिपयले जलवायु परिवर्तनको असरको रुपमा परिभाषित गरेका छन् । कतिपयलाई बाढी आउनुको कारण खोजिरहेका छन् । आखिर कागबेनीमा यति ठूलो भयावह बाढी कसरी आयो ?

पुलकै कारण बाढीले निकास नपाउँदा पुल माथि पानी थुनिएको र त्यसरी थुनिएको पानीको बाढी एक्कासि पुलसहित आएर तटीय बस्ती सखाप पारेको

Advertisement


कागबेनी गाउँमाथि करिब ५ सय मिटरमा निर्माणाधीन पक्की पुल छ । पुल सम्पन्न हुने चरणमा थियो । जोमसोम कोरला जोड्ने कागखोलामा बनेको राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडकले २०७४ पुस २८ गते पुल बनाउन सुरु गरेको थियो । २ करोड ८८ लाख लागत सम्झौता रहेको पुलको जिम्मा गल्वा रफिना जेभी कन्ट्रक्सनले लिएको थियो ।


पुलको लम्बाई जम्मा २५ मिटर छ । १८ महिनामा सक्नुपर्ने पुल निर्माण कम्पनीको चरम ढिलासुस्तीले अझै सकिएको छैन । पुलको म्याद पटकपटक थपिँदै आएको छ । पछिल्लो समय पुल अन्तिम चरणमा पुग्दासमेत पुलका ठेकेदार पुल बनाउन छाडेर गुमनाम थिए ।


चरम ढिलासुस्ती भएको कागबेनी पक्की पुल कागबेनी गाउँका लागि घातक सिद्ध भएको स्थानीयको निष्कर्ष छ । पुलकै कारण मुक्तिनाथबाट बग्ने कागखोला थुनिएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पूर्व अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङको बुझाइ छ । उनले यही कुरा बाढी प्रभावित क्षेत्र कागबेनीको अवलोकनमा आएका गृह मन्त्री नारायणकाजी श्रेष्ठलाई सुनाए ।


भौगोलिक अध्ययन र बस्तीको कुनै ख्याल नगरी हचुवाको भरमा पुल निर्माण गर्दा बस्ती क्षति भएको गृह मन्त्री श्रेष्ठलाई बताए । उनले वातावरण प्रभाव मूल्यांकन इआइए नगरी ठाँडो खोलामा छोटो पुल बनाउँदा कागबेनी बस्ती उजाडिएको उल्लेख गरे ।


संविधान सभा सदस्य श्रीमाया थकालीको भनाई पनि उस्तै छ । उनले कागखोलामा निर्माणधीन छोटो पुलकै कारण कागखोला बाढी थुनिएर ठूलो बाढी आएको गृह मन्त्री श्रैष्ठलाई बताइन् । पुलकै कारण बाढीले निकास नपाउँदा पुल माथि पानी थुनिएको र त्यसरी थुनिएको पानीको बाढी एक्कासि पुलसहित आएर तटीय बस्ती सखाप पारेको संविधानसभा सदस्य थकालीले सुनाइन् ।


पूर्वअध्यक्ष गुरुङ र संविधान सभा सदस्य थकालीको अड्कल जस्तै कागबेनीका स्थानीयको भनाइ पनि छ । गाउँलेहरुको एकै स्वर छः पुलकै कारण पटकपटक ठूलो आवाजले थुनिएको बाढीले बितण्डा सुरु गरेको छ । उनीहरु पुलको डिपिआर बनाउने इन्जिनियरले वैज्ञानिक अध्ययन नगरी ठेक्का लगाएर काम गर्दा कागबेनी गाउँ विपदको चपेटामा परेको बताउँछन् । उनीहरुले कागबेनीको जियोलोजिकल अध्ययन गरेरमात्र पुल बनाउन करिडोर सडकलाई ध्यानार्कषण गराएका छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया