पोखरा–मुग्लिन सडकः ६७ प्रतिशत समयमा ९ प्रतिशत प्रगति

समाधान संवाददाता २०८० भदौ २५ गते ११:२५

पोखरा ।
पोखरा मुग्लिन सडक विस्तारको गति निकै सुस्त भएपछि आइतबार यसबारे छलफल भएको छ । पोखरा महानगरपालिकाको समन्वयमा आयोजना अन्तर्गत पोखरा खण्डको कार्य प्रगतिका सम्बन्धमा समीक्षात्मक बैठक भएको हो ।


कार्यक्रमा सडक विस्तार आयोजनाका सरोकारवाला सहभागी थिए । पोखरा महानगरपालिका मेयर धनराज आचार्यसहित जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख वासुदेव घिमिरे, सडक क्षेत्रमा पर्ने वडा नं.१० का वडा अध्यक्ष राजेश गुरुङ, १२ का वडा अध्यक्ष सन्तोष बास्तोला, १४ का वडा अध्यक्ष बोधबहादुर कार्की, २६ का अध्यक्ष नरेन्द्र थापा, २७ का अध्यक्ष पूर्णकुमार गुरुङ, २९ का अध्यक्ष श्रीप्रसाद गुरुङ, ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदी, ३२ का अध्यक्ष अक्कलबहादुर कार्की लगायत सहभागी थिए ।


तोकिएको समयको ६७ प्रतिशत समय व्यतीत हुँदा आयोजनाको पश्चिम खण्डमा प्रगति ९ प्रतिशतमात्र देखिएको छ । आयोजना निर्माणका क्रममा देखिएका समस्याबारेमा छलफल केन्द्रित थियो । स्थानीय अवरोध हटाउन पोखरा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताए । कतिपय अवस्थामा समस्या देखाएरमात्र समस्याको समाधान नहुने भन्दै उनले निर्माण कार्यलाई अघि बढाउन निर्माण व्यवसायीलाई आग्रह गरे ।

Advertisement

खानेपानीको पाइप विस्तार, विद्युत् पोल स्थानान्तरण, टेलिफोन तार व्यवस्थापनमा ढिलो हुँदा काम सुस्त भएको दाबी


कोत्रेदेखि सेती पुलसम्म सडकमा परेका खाल्डाखुल्डी १ साताभित्र पुर्न उनले निर्देशन दिए । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले कास्कीको लाइफ लाइनको रूपमा रहेको सडक निर्माण कार्यमा भइरहेको ढिलाइ स्वीकार्य नहुने चेतावनी दिए ।

Advertisement


कुनै पनि बाहानामा कोही पनि जिम्मेवारीबाट पन्छने र आरोप र प्रत्यारोप गरी ढिलासुस्ती गर्ने कार्यलाई निरुत्साहन गर्नुपर्ने उनले बताए । तत्काल समस्याको पहिचान गरी सम्बन्धित सरोकारवाला निकायले यथाशीघ्र निर्माण कार्यमा सहजीकरण गर्न उनले निर्देशन दिए ।


सडक आयोजनाको परामर्शदाता र निर्माण कम्पनीका प्रतिनिधिले आयोजना निर्माण स्थलमा खानेपानीको पाइप विस्तार, विद्युत् पोलहरू स्थानान्तरण, टेलिफोनका तारहरूको व्यवस्थापन, सिँचाइका कार्यहरू समयमा नभएका कारण निर्माण कार्य ढिलाइ भइरहेको बताएका छन् । सरोकारवाला निकायले भने आआफ्नो क्षेत्रबाट काम गरिरहेको बताएका छन् ।


आयोजना निर्माण कार्यलाई तत्काल अघि बढाई सडकको दुरावस्थाको अन्त्य गर्न स्थानीय अध्यक्षलगायत सहभागीले जोड दिएका छन् । सेती पुलको निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनका सञ्चालक सुदर्शन देवकोटाले स्थानीय अवरोध हटाए आफूले तोकिएको समय सीमा भित्रै पुल निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

तपाईको प्रतिक्रिया