पोखराका ५ जनालाई राष्ट्रिय शिक्षा पुरस्कार

समाधान संवाददाता २०८० असोज २ गते १६:०४

पोखरा ।

सरकारले शिक्षा दिवसको अवसरमा राष्ट्रिय शिक्षा पुरस्कार घोषणा गरेको छ । पुरस्कृत हुने शिक्षक, विद्यालय, व्यवस्थापन समिति अध्यक्ष, विद्यालय कर्मचारीहरुको नाम मंगलबार सार्वजनिक भएको हो । गण्डकी प्रदेशका ११ जिल्लाका ११ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेका छन् ।


पोखराको शीतलादेवी माध्यमिक विद्यालयका प्रअ बाबुराम अधिकारीसहित ११ जनालाई सरकारले राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । निजी विद्यालयतर्फ पोखरा ७ मासबारको मदरल्यान्ड माविका शिक्षक वामनकुमार घिमिरे र एसओएस हर्मनमाइनर मावि पोखरा १५ का प्रअ चूडामणि सुवेदी र फेवा पब्लिक स्कुल पाेखरा ४ का संस्थापक तर्फ अच्चुत पाण्डेलाई सरकारले राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने भएको छ । व्यवस्थापन समितितर्फ पोखरा ३२ गगनगौंडाको गोगन माविका अध्यक्ष मेघराज पौडेल पुरस्कृत हुने भएका छन् ।

Advertisement


सामुदायिक विद्यालयबाट पुरस्कृत हुनेहरुमा महालक्ष्मी मावि गोरखा ९ का प्रअ चूडामणि काप्री, मनाङको नासो ५ को प्रकाशज्योति माविका पद्मराज पन्थी, लमजुङ ११ बेसिसहरको जनकल्याण माविका शिक्षक झपेन्द्रराज न्यौपाने, चन्द्रोदय मावि आँबुखैरेनी तनहुँका प्रअ सरला बस्नेत, स्याङ्जा भीरकोट ६ को भाग्योदय माविका निमावि शिक्षक भेषराज रेग्मी, नवलपुर गैंडाकोट ५ को जनक माविका प्रअ चूडामणि शर्मा, मुस्ताङको थासाङ १ को योगेन्द्र माविका प्रावि शिक्षक सन्त थकाली, म्याग्दीको मंगला २ को मंगला माविका मावि शिक्षक हुमनाथ पाण्डे, बागलुङको ताराखोला १ को जनप्रेमी माविका प्रअ नइन्द्रबहादुर गुरुङ र पर्वतको महाशिला ६ को मदनआश्रित माविका प्रअ खड्कबहादुर क्षेत्री छन् ।


व्यवस्थापन समितितर्फ स्याङ्जा पुतलीबजार ३ को काजीमान हरिटीका माविका अध्यक्ष अनुप श्रेष्ठ, पुतलीबजार १३ को कालिका माविका अध्यक्ष मीनप्रसाद कोइराला पुरस्कृत हुने भएका छन् । गोरखा भीमसेन थापा गापा ६ को सरस्वती माविका विद्यालय कर्मचारी इलिमबहादुर गुरुङ र सहिद लखन गापा ५ को सिद्धस्थानी माविकी बालविकास सहजकर्ता मीना परियारले पनि पुरस्कार प्राप्त गरेका छन् ।

Advertisement


पोखरा विश्वविद्यालय, स्कुल अफ डेभलपमेन्ट एन्ड सोसल इन्जिनियरिङका उपप्राध्यापक डा अर्जुनकुमार थापा र स्कुल अफ बिजनेसी उपप्राध्यापक सुजाता अधिकारी पनि राष्ट्रिय शिक्षा पुरस्कारको सूचीमा छन् ।


यसअघिका शिक्षा पुरस्कारमा पोखरा र गण्डकी प्रदेशका सामुदायिक र निजी विद्यालयहरु पनि पुरस्कृत हुन सफल भएको इतिहास छ । तर यसपालि भने अरु प्रदेशकै विद्यालयहरुले राष्ट्रिय पुरस्कार जितेका छन् । सामुदायिक विद्यालयतर्फत सिन्धुली, दुधौली नगरपालिका ११ को कमला माध्यामिक विद्यालय प्रथम भएको छ । २०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा कमला मावि ३ लाख नगदसहित पुरस्कृत हुने भएको हो । निजीतर्फ ललितपुर ५ को प्रसादी एकेडेमी प्रथम भएको छ ।

तपाईको प्रतिक्रिया