लोघेकर दामोदरकुण्डमा एम्बुलेन्स भाडा निशुल्क

सुन्दरकुमार थकाली २०८० असोज ४ गते १०:५६
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई भारतीय राजदुतावासले सहयोग स्वरुप उपलब्ध गराएको एम्बुलेन्स ।

जोमसोम ।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले पालिका र पालिका बाहिरका बिरामीको सेवामा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको जनाएको छ । समग्र उपल्लो मुस्ताङ र पायक पर्ने स्थानका कुनै पनि बिरामीहरुका लागि पालिकासँग एम्बुलेन्स माग गरे निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने गाउँ कार्यपालिकाको बैठकमै निर्णय भएको हो ।


लोघेकर दामोदरकुण्ड गाउँपालिकाले बिरामीहरुका लागि निशुल्क एम्बुलेन्स सेवा लिँदा एम्बुलेन्सको इन्धन खर्च र एम्बुलेन्स चालकको दैनिक भत्ता १ हजार रुपैयाँ बिरामी पक्षले व्यहोर्नुपर्ने छ ।


गाउँपालिकाले बिरामीको सेवामा एम्बुलेन्स सेवा सञ्चालन गर्दा एम्बुलेन्स बिग्रिएको अवस्थामा गाउँपालिका आफैले खर्च गरी मर्मत गर्ने निर्णय गरेको अध्यक्ष लोप्साङ छोम्फेल (बिष्ट)ले जानकारी दिए । गाउँपालिकाको यो निर्णयले उपल्लो मुस्ताङको घिलिङदेखि कोरलानाकासम्मका सीमावर्ती क्षेत्रका बासिन्दालाई ठूलो राहत पुग्ने अध्यक्ष बिष्टको भनाइ छ ।

Advertisement

मुस्ताङबाट पोखरा लैजान परे सामान्यतया ३५ हजारदेखि ४० हजारसम्म एम्बुलेन्स भाडा लाग्थ्यो


यसअघि उपल्लो मुस्ताङमा एउटा पनि एम्बुलेन्स नहुँदा भाडाका जीपमा असहज र महँगो शुल्कमा बिरामीको उद्धार गर्नुपर्ने बाध्यतामा रहेकोमा विगतको उक्त समस्या धेरै हदसम्म निराकरण हुने अध्यक्ष बिष्टले दावी गरे । उपल्लो मुस्ताङमा एम्बुलेन्सको व्यवस्था नहुँदा र बिरामीहरुको आपतकालीन हेली उद्दार गर्नुपर्दा गृहमन्त्रालयको अनुमति लिनुपर्ने प्रावधानले उपल्लो मुस्ताङका गम्भीर बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था थियो ।

Advertisement


गम्भीर बिरामीलाई तत्काल उद्धारको खाँचो परेका बेला गृह मन्त्रालयबाट हेलिकोप्टरको अनुमति लिन झन्झटिलो प्रक्रिया पूरा गर्दा समय घर्कन्छ । पालिकाको सर्शसहितको निःशुल्क एम्बुलेन्सले सेवा उपलब्ध गराउने निर्णयले विगतको जस्तो ठूलो सास्ती भोग्नु नपर्ने अध्यक्ष बिष्टले उल्लेख गरे । उनले पालिकाको एम्बुलेन्सले चालु वर्षको साउनदेखि हालसम्म करिब ७ जनाभन्दा बढी बिरामीको उद्दार गरिसकेको गाउँपालिकाले उल्लेख गरेको छ ।


उपल्लो मुस्ताङदेखि जोमसोम अस्पतालसम्मको सामान्य एम्बुलेन्स सेवाको भाडा सरदर १५ हजारदेखि २० हजारसम्म पर्न आउँछ । पोखरा लैजान परे सामान्यतया ३५ हजारदेखि ४० हजारसम्म एम्बुलेन्स भाडा लाग्छ । गाउँपालिकाको निशुल्क एम्बुलेन्सले सेवाले बिरामी पक्षलाई झन्डै ७५ प्रतिशत आर्थिक भार कम हुने अनुमान गरिएको छ ।


मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई गत वर्षको असारमा काठमान्डौं स्थित भारतीय राजदूतावासले एक थान एम्बुलेन्स र एक थान स्कुल बस सहयोग स्वरुप उपलब्ध गराएको थियो । एम्बुलेन्स लोघेकर—१ चराङ स्वास्थ्य चौकी र स्कुल बस घमी आधारभूत विद्यालयलाई उपलब्ध गराएको थियो । सोही समय भारतीय राजदूतावासले उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका छोसेर स्थित दिव्यदीप माध्यमिक विद्यालय पनि एक थान स्कुल बस उपलब्ध गराएको थियो ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया